कात्तिक : चितवन-११ चितवनको नारायणगढमा जारी जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। उपाधि दाबेदारका रूपमा हेरिएको नेपाल आर्मी क्लबलाई २-१ गोल अन्तरले पारजित गर्दै घरेलु टिम चितवन फाइनलमा प्रवेश गरेको हो।
मध्यान्तरअघि गोलरहित बराबरीमा रोकेको आर्मी दोस्रो हाफमा सम्हालिन नसक्दा २-१ को हार व्यहोर्यो। दोस्रो हाफमा चितवनको आक्रामक प्रदर्शनको अगाडि आर्मी फितलो देखियो। चितवनका लागि अनिल रानाले दोस्रो हाफको २०औँ मिनेटमा पहिलो गरे।
आर्मीका खेलाडीको ह्याण्डमा चितवनका यदु सिलवालले गरेको प्रहार आर्मीका गोलरक्षक विकेस कुथुले पन्च गरे। त्यसैमा भएको रिबाउण्डमा अनिलले उत्कृष्ट गोल गरेका हुन्। त्यसको ८औँ मिनेटपछि चितवनका कप्तान जर्सी नम्बर ७ का रुमेस बर्तौलाले गरेको गोलसँगै चितवनले २-० को अग्रता लियो।
उता, आर्मीका लागि जर्सी नम्बर २९ का विमल पाण्डेले दोस्रो हाफको ३७ औँ मिनेटमा १ गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका चितवनका जितेश गुरुङ म्यान आफ दी म्याच बन्दै १० हजार पुरस्कार पाए।
चितवनले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र संकटा भिड्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए।
प्रतियोगिताका विजेताले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ। नारायणगढ जेसिजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फुटबल संघ सह-आयोजक रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।