समाज

दीपावलीले झिलिमिली हुनुपर्ने बेला तुर्लुङ तार

दुई अर्ब ६३ करोड रुपैयाँमा सडक बनाउँने ठेक्का

कात्तिक ७, २०७६

    विराटनगर : झिलिमिलीको पर्व दिपावली (तिहार) को तयारी भव्यरूपमा भइरहँदा विराटनगरको मुख्य सडक भने कुरूप छ। चाडबाडको सन्दर्भमा शहरलाई सफा, सुन्दर र हराभरा बनाउनुपर्ने बेलामा सडक तथा विद्युत् पोल सार्न थाल्दा शहर कुरूप बनेको हो।

    विगतका वर्षहरूमा तिहारको सन्दर्भमा हुने झिलिमिली र सरसफाई हुने गरेको थियो। तर, यो वर्ष भने मुख्य रोडमा भएको विकास निर्माणले शहर धुलाम्य र फोहोर देखिएको छ।

    सडक निर्माणकै कारण व्यापार हुने अहिलेको समयमा पनि मानिस नआएको र सेवा प्रवाहमा समेत समस्या भएको स्थानीय व्यापारी जयन्त बोथराले बताए। ‘दिनभर लाइन आउँदैन। इन्टरनेट पनि आउँदैन। पोल सार्न थालिएको छ। सडक अगाडि खाल्डो खनेर माटो थुपारिँदा समस्या भएको छ,’ बोथराले भने, ‘चाडबाडका बेला शहर यस्तो कुरुप बनाउनु हुँदैनथ्यो।’

    पसलमा दिनभर विद्युत् लाइन आउँदैन। इन्टरनेटको लाइन छैन। केबल लाइन पनि हुँदैन। पसल छिर्ने बाटोमा असरल्ल छरिएका तारले गज्याङ् गुजुङ देखिन्छ र यात्रुलाई हिंडडुलमा पनि समस्या पर्ने गरेको छ। ‘२/३ वर्ष नगर्दा भयो। तिहारकै समयमा पोल सार्नुपर्ने, ढल खन्नुपर्ने के को हतारो भयो? तिहारपछि गर्दा पनि त हुने थियो नि’, बजारमा हिंडिरहेका यात्रु सुदिप दाहालले भने।

    चाडबाडका बेला धेरै कारोबार गर्नुपर्ने बैंकलाई पनि इन्टरनेटको समस्याले पिरलोमा परेको छ। विराटनगरका सेवाग्राही राजेन्द्र खनालले बैंकमा ३ घण्टा लाइनमा बस्दा पनि सिस्टम नभएको भन्दै फर्काएको गुनासो गरे। ‘चाडबाडका बेला पैसा चाहिएर बैंक आएको सिस्टम छैन भनेर फर्काइदिए’ खनालको भनाइ छ, ‘किन भन्दा पोल सार्दै गरेको रे, तार काटिएको छ। जोडेर आउँछ भन्छन्।’

    चाडबाडको समयमा व्यापार व्यवसाय तथा सर्वसाधारणलाई असर नपर्ने गरी गर्नुपर्ने विकास निर्माणको समयतालिका भने नमिलेको सरोकारवाला बताउँछन्। यता विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने भित्री सडकको अवस्था कुरुप नभएको र सडक तथा पोल निर्माणको काम तीब्र रुपमा गरिएको जानकारी दिए। ‘अहिले म बजार अनुगमनमै छु। काम तीब्र गतिमा छ। तपाइँले भनेजस्तो शहर कुरुप छैन’ पराजुलीले भने, ‘तिहारमा सँधैझैँ विराटनगर सफा र रमणीय हुन्छ।’

    जथाभावी खनिँदा असहज

    परियोजनाले हाल विराटनगरको मुख्य शहरी क्षेत्रमा ढल, नाला र सडक निर्माणको काम गरिरहेको छ। परियोजनाले  ढल, नाला तथा सडक निर्माणका लागि एकै पटक शहरका सबै सडक भत्काउँदा  विराटनगर अस्तव्यस्त बनेको छ। मुख्य शहरी क्षेत्रमा आवगमन असहज छ। वाइपास सडकसमेत नराखी एकैपटक शहरभित्रका सबै सडक भत्काइएकाले शहरको दैनिकी कष्टकर बनेको छ।

    शहरभित्रका कुनै पनि सडकमा यात्रा गर्न त्यति सहज छैन। निर्माणाधीन सडकमा जताततै अबरोध, ट्राफिक जाम र धुलोले स्थानीय हैरान छन्। क्षेत्रीय शहरी विकास परियोजनामार्फत विराटनगर महानगरपालिका क्षेत्र भित्रको ७४ किलोमिटर सडक कालोपत्रे  गर्ने योजना रहेको छ।

    जसमध्ये मझौला शहरको एकीकृत वातावरणीय सुधार परियोजनाले ढल, नाला निर्माण गरेका स्थानका सडक कालोपत्रे भइरसकेको छ। यस्तै क्षेत्रीय शहरी विकास परियोजनाले ढल नाला निर्माणसँगै सडक कालोपत्रेको कामलाई तीब्ररुपमा अघि बढाइरहेको परियोजनाले जनाएको छ। 

    निर्माणअवधि थप्ने तयारी

    एशियाली विकास बैंकको सहयोगमा विराटनगर महानगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास परियोजना समयमै सम्पन्न नभएपछि म्याद थप्ने तयारी गरिएको छ। निर्धारित समयमा काम सम्पन्न हुने अवस्था नभएपछि म्याद थप गर्ने तयारी गरिएको परियोजनाले जनाएको छ।

    दुई अर्ब ६३ करोड रुपैयाँमा ठेक्का लागेर सन् २०१७ को नोभेम्बर २ मा निर्माण सुरू गरी परियोजनाले विराटनगरको मुख्य बजार क्षेत्रको ढल, नाला तथा सडक कालोपत्रेको काम  १ नोभेम्बर २०१९ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो। विद्युत पोल सार्न ढिलाई, बजेट निकासीमा ढिलाइलगायतका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकिएको हो। 

    परियोजनाका अनुसार सेप्टेम्बर सम्ममा कालोपत्रेको काम ५२ प्रतिशत मात्रै सम्पन्न भएको छ। यस्तै ढल निर्माणको काम ८८ प्रतिशत सम्पन्न भइसकेको छ। स्ट्रोम ड्रेन  निर्माणको काम निर्धारित लक्ष्यअनुरुप सम्पन्न भइसकेको र रोड साइड ड्रेन निर्माणको काम लक्ष्य भन्दा १४ प्रतिशत बढी गरिएको छ। मुख्य गरी सडक कालोपत्रेको काम बाँकी रहे पनि अन्य काम सम्पन्न भइसकेका कारण कालेपत्रेको कामलाई तीब्र पारिएको छ। 

    विराटनगरमा ढल, नाला, सडक र फोहोर पानी प्रशोधन केन्द्र निर्माणका लागि यस अघि मझौला शहरको एकीकृत वातावरणीय सुधार परियोजना सञ्चालनमा ल्याइएको थियो। मझौला शहरको एकीकृत वातावरणीय सुधार परियोजना सम्पन्न भएसँगै सोही कामलाई निरन्तरता दिँदै क्षेत्रीय शहरी विकास परियोजना सञ्चालनमा ल्याइएको हो।

    परियोजनाले चिनियाँ कम्पनी झोङ्हेङ कन्सट्रक्सनलाई ७४ किलोमिटर कालोपत्रेसहित मुख्य नाला च्याङवारी पैनी ७ सय मिटर, २०.८ किलोमिटर ढल र २६ किलोमिटर सडक नाला निर्माण गर्न २ अर्ब ६३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

    विराटनगरको भित्री सडकको कामसँगै, रानी-धरान ६ लेन सडक पनि निर्माणाधीन अवस्थामै रहेका कारण धुँलो र हिलोका कारण  विराटनगरवासीले चरम सास्ती खेप्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]