|

काठमाडौं : कीर्तिपुर राराहिलस्थित रंगमञ्चमा नेपाली लोककथा ‘शिशिर बसन्त' को कथामा पपेट नाटक मञ्चन भएको छ। जापानी पपेट निर्देशकको साथमा भएको १० दिने पपेट थिएटरको कार्यशालाले सो नाटक तयार पारेको हो। 

जापानको उटरभिजन थिएटर कम्पनीको सहकार्यमा थिएटर मलले गरेको कार्यशालामा शिशिर बसन्तको कथाका मुख्य मुख्य पात्रको पपेट डिजाइन गरी नाटक तयार पारेको हो। जापानमा प्रचलित तीन जनाले संयुक्त सन्तुलनमा चलाउने पपेटमार्फत शिशिर बसन्तको कथालाई मञ्चन गरिएको हो। 

उटरभिजनका कला निर्देशक इरिना सजीको निर्देशनमा सञ्चालित कार्यशालामा १२ रंगकर्मी र ९ स्कुले विद्यार्थी सहभागी थिए। उनीहरूले १० दिवसीय कार्यशालाको सय घण्टामा पपेट पात्र निर्माणदेखि सञ्चालनसम्मको अभ्यास गर्दै नाटक मञ्चन गरेका हुन्। 

कार्यशालामा पपेट नाटक मञ्चनमा शिशिर बसन्तको कथासँगै अन्य दुई छोटा पपेट प्रस्तुति पनि मञ्चन गरिएको थियो। जसमा शेक्सपियरको ‘एज यु लाइक इट’ र नेपाली लोककथा ‘सेल रोटी’ लाई पपेट पात्रमार्फत मञ्चन गरिएको हो। यसै कार्यशालासँगै थिएटर मलले पपेट थिएटरलाई अझै निपूर्ण र आफ्नो शैली बनाउन ‘नेपाल पपेट थिएटर’ सुरु गरेको कला निर्देशक केदार श्रेष्ठले बताए। यो समूहले निरन्तर अभ्यास र परिकल्पना गर्दै पपेट विधालाई नेपाली रंगमञ्चमा निरन्तरता दिने पनि उनले उल्लेख गरे। 

थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कूल र आसितेज नेपालको सहकार्यसहित आयोजित कार्यशालामा उटरभिजनका कला निर्देशक इरिनाको साथमा एरी तोमोई, इजावा रेई र मियामोतोका जापानी कलाकारहरू पनि थिए। समापन कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले जापानी समूहलाई विदाई गरेकी थिइन्। 

कार्यशालामा इलिना नकर्मी, सञ्जिता पराजुली, सबीर चुरौटे, शंकर भण्डारी, सुजिता महर्जन, प्रशान्त श्रेष्ठ, क्षितिज पराजुली, मनिष व्यन्जू, मदन श्रेष्ठ, सरोज राई, हिरा महर्जन र पूजा ढकालले पपेट थिएटरको अभ्यास गरेका थिए। त्यस्तै स्कूले विद्यार्थीमा सहर्षा क्षत्री, अरविन खड्का, कीर्ति भट्टराई, अनुप पुरी, निपूर्ण पौडेल, असिम त्वनबसु, सहश्राम्सु नेपाल, कलिना पाण्डे र शुभेच्छुक ढुंगाना सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.