|

काठमाडौं : ललितपुरको जावलाखेलस्थित एक्सपोज नेपालको कार्यालयमा केही महिलाहरू कपडा काट्न र मेसिन चलाउन व्यस्त छन्। करिब १०/१२ जनाको बीचमा छन् बाराकी मंगला थापा मगर पनि। उमेरले २५ नाघेकी मंगला ४ दिनका लागि बाराबाट एक्सपोजको कार्यालयमा आएकी हुन्।

उनलाई बाराबाट नै कुनै सामाजिक संस्थाले निःशुल्क सीप सिकाउन यहाँ ल्याएको रहेछ। 'चिनेका दाइहरूले काठमाडौंमा प्याड बनाउन सिकाउँछ, खान बस्‍न संस्थाले दिन्छ भनेको भएर आएको।' बाराबाट ४ दिनका लागि यहाँ कसरी आउनुभयो? भन्‍ने थाहाकर्मीको प्रश्नमा उनले भनिन्।

हातमा कैँची र भुइँमा बिच्छ्याएको कपडा काट्न लाग्दा उनी घरिघरि कापी हेर्छिन्। कापीमा कति साइजमा कसरी काट्ने भनेर लेखिएको रहेछ। मंगलालाई प्याड बनाउन सिक्नु मात्र छैन। अरूलाई पनि सिकाउनु छ अनि सबैभन्दा ठूलो कुरा ‘पर सर्दा’ कपडा नै लुकाउनुपर्ने घर परिवार र सामाजिक मानसिकतालाई बदल्नुछ।

आफूले सिकेर गाउँमा सिकाउनु धोको

‘म एक्लै सिक्ने मात्र होइन, ४ दिनमा सिकेर गाउँ जान्छु र त्यहाँ मजस्ता अरू दिदीबैनीलाई सिकाउँछु पनि।’ कपडामा कैँची चलाउँदा चलाउँदै उनी बोलिन्।

‘हामीले त गाउँमा अझै पनि पर सर्दाका कपडाहरु अरूलाई देखाउँदैनौँ तर यो त कसैले नसिकाएर हो, म सिकाउँछु। मैले बनाउन सिकेको प्याड त प्रयोग गरेपछि राम्रोसँग धोएर घाममा सुकाएपछि अर्कोपटक पनि प्रयोग गर्ने हो नि त।’ अरूलाई किन सिकाउने भन्ने कुरा प्रष्ट्याउँदै भनिन्।

बजारको भन्दा बहुउपयोगी

‘हाम्रो घरतिर त अझै पनि पर सर्दा लगाएका कपडा लुकाउने, धुँदा पनि राति धुने, लोग्ने मान्छेले नदेख्‍ने गरी सुकाउने चलन छ।’ गाउँमा हिजोआज बजारमा पाइने प्याडको प्रयोग बढेको छ। मंगलाले बजारमा पाइने प्याडभन्दा आफैंले बनाउन सिक्दै गरेको प्याडको बहुउपयोगी गुण थाहा पाएकी छन्। फ्लाटिन/सुती जस्ता कपडाको प्रयोग गरेर मंगला र उनका साथीहरू प्याड बनाउँछन्।

सीपले बढायो आत्मबल

पाटनकी मीना महर्जनले केही वर्ष पहिले यहाँ यस्तै प्याड बनाउन सिकेकी थिइन्। अहिले उनी एक्सपोजमै बसेर प्याड बनाउँछिन् र मंगलाजस्तै नयाँ आएका महिलाहरुलाई सिकाउँछिन् पनि। यसरी प्याड बनाउने कामले मीनाको आत्मबल खुब बढेको छ। 'घरमा सबैजना हुनुहुन्छ, सासू ससुरा श्रीमान्, पहिला पहिला त घरमै बस्थे घरको काम मात्र गर्थे। दिनभरि काम भने हुँदैनथ्यो,' उनले विगत सम्झिइन्।

उनी एक्सपोजमा आउन थालेपछि आफ्ना लागि कमाइ पनि हुन थालेको छ। 'म घरमा आफ्नो खर्च माग्दिनँ। यहीँको कमाइले मलाई पुग्छ। कहिलेकाहीँ केटाकेटीलाई खर्च पनि पुर्‍याउँछु।'

मीनाका श्रीमान ज्यालादारीमा काम गर्छन्। उनले बनाउने प्याडबारेमा घर तथा छरछिमेकमा पनि सल्लाह गर्छिन्। सकेसम्म महिलाहरूलाई बजारमा पाइने प्याडको सट्टामा कपडाको पुन प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्न हौसला दिन्छिन्।

महिलाहरुले कपडाको प्याड बनाएर बजारमा पठाउँछन्। जसलाई प्रयोग गरिसकेपछि धोएर फेरि अर्कोपटक प्रयोग गर्न सकिन्छ। यो बजारमा पाइने अरु प्याडभन्दा सस्तो मात्र होइन स्वास्थ्यका हिसाबले पनि राम्रो हुन्छ।

प्याड बनाउने योजनाकार पुरुष

एक्सपोजको कार्यालयमा सीप सिक्ने, सिकाउने र काम गर्नेहरू अधिकांश महिला छन्। तर यो अवधारणाका योजनाकार भने भैंसेपाटीका ४२ वर्षीय ज्ञान महर्जन हुन्।

आफ्नै घरमा आमा र स्कुल केटीसाथीलाई भएको फरक व्यवहार देखेर सन् २००७ देखि महिला हिसांविरुद्ध सक्रिय महर्जनले २०१५ देखि प्याड बनाएर बेच्ने र विपन्‍न महिलाहरुलाई आर्थिक रूपमा पनि बलियो बनाउने सोचे।

हेर्नुस् भिडियो :

'महिलाहिंसा कुराले मात्रा होइन कि संवेदनशीलताका रुपमा मात्र होइन कि आर्थिक रुपमा सशक्त बनाउन सकिएन भने महिला हिसांका कुराहरु मुखले मात्र भनेको जस्तो हुन्छ,' महर्जनले भने।

महर्जनले महिला हिंसा र यौनदुराचारका विषयमा काम गर्दै अहिले महिलालाई बहुउपयोगी प्याड बनाउने तालिम र काम उपलब्ध गराएका छन्। उनलाई प्याड म्यान भनेर पनि चिनिन्छ। गत असोज २६ गते पश्चिम बंगालको दुर्गापुर आराधना सोसियल वेलफेयर सोसाइटी भारतले मर्हजनलाई प्याड म्यान अफ नेपाल भनेर सम्मान गरेको छ।

एक्सपोज नेपालले देशभर विभिन्‍न स्थानीय तह र संघ संस्थासँग मिलेर ४ दिनको प्याड बनाउने तालिम दिन्छ। तालिमबाट अहिलेसम्म १७ सय महिला लाभान्वित भएका छन्। महिनावारी स्वच्छताका विषयमा काम गर्न नेपाल, बंगलादेश र भारतबीच सहकार्य गरी सञ्जाल बनाउने तयारीसमेत भएको छ।

'अबको दुई महिनापछि सञ्जाल गठनको तयारीमा छौं। कोलकत्ता बैठकपछि अरू थप मुलुकलाई पनि सहभागी गराउने गरी काम गर्छौ।' महर्जनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.