सत्तारूढ नेकपाको गम्भीर ध्यानाकर्षण

|
फाइल तस्विर

बैतडी : दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ। धनगढी र नेपालगञ्जमा उपचारपछि पनि गौरीलाई बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारततर्फ लगेको उनका श्रीमान् जगदीश जोशीले बताए।

'नेपालगञ्जमा औषधि दिएर दश दिनपछि आउनु भनेर डिस्चार्ज गरेको, तर गौरीलाई फर्किने बेला बाटोमै असहज भयो' उनले भने 'थप उपचारका लागि भारत लगेको हो।'  जगदीशका दाजु बिसनदत्त जोशीले घाइते गौरीलाई उपचारका लागि भारत लगेको र आफू पैसा खोज्न गाउँमा पुगेको बताए। 'पैसा खोजेर म पनि जाने हो' उनले भने 'मजदुरी गरेर खाने मान्छे डोजरकाण्डले निकै समस्यामा पारेको छ।' घरमा बालबालिकाहरू आमा नफर्केपछि निकै आत्तिएर रुने गरेको जोशीले बताए।

यता, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीले दशरथचन्द डोजर प्रकरणमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेकपाले गत सोमबार स्थानीयबीच विवाद हुँदा घटेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

नेकपाका अध्यक्ष सुरेन्द्र पालले हस्ताक्षर गरेको विज्ञप्तिमा दशरथचन्द नगरपालिकाले नै सुण्न्नाखानदेखि पार्स जोड्ने सडक खन्नका लागि अनुमति दिएको, मेयर आफैँले सडकको उद्घाटन गरेको र दुइटा सडक निर्माणका लागि पनि नगरपालिकाले नै आश्वासन दिएको उल्लेख गरेको छ।

शुक्रबार जारी विज्ञप्तिमा नेपाली कांग्रेसका क्रियाशिल सदस्य गोपालदत्त जोशीलाई समितिको अध्यक्ष बनाइ अर्को सडक खन्न लगाउँदा विवाद भएको आरोप लगाएको छ। कांग्रेससँग आवद्ध शिक्षक दुर्गादत्त जोशीको उक्साहटमा सडक निर्माण गरिरहेका बेला एक्कासी निर्माण गर्ने पक्षमाथि आक्रमण गरेको नेकपाले निकालेको विज्ञप्तिमा उल्लेख गरेको छ।

नगरपालिका आफैँले सञ्चालन गरेको योजनामा विवाद सुल्झाउनुको सट्टा नगरपालिकाको कुनै संलग्नता छैन भनेर विज्ञप्ति निकाल्नु, नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरूद्वारा विज्ञप्ति निकाल्नु, कांग्रेसले छानबिन समिति बनाउने कार्य आमजनमानसमा भ्रम सिर्जनाका लागि गरिएको नेकपाले ठहर गरेको छ।

दशरथचन्द नगरपालिकाले विगतदेखि बिनायोजना र स्टमेट दर्जनौं सडक निर्माण गरी करोडौँ रुपैयाँ खर्च गरेको प्रति पनि नेकपाले ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ। स्थानीयमा भ्रम सिर्जना हुने खालका कार्यहरू तत्कालै रोकी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्वाही गर्न नेकपाले आग्रहसमेत गरेको छ।

दबाबमा परेर डोजर चलाउन बाध्य : कांग्रेस

यसअघि उक्त घटना सत्ता र शक्तिका आडमा भएको नेपाली कांग्रेसको केन्द्रीय छानबिन समितिले निष्कर्ष निकालेको छ। कांग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको दाबी गरेको थियो।

डोजर मालिक आफैँले दबाबमा परेर डोजर चलाउन बाध्य भएको भनेकाले यसबाट उनलाई सत्ताकै मान्छेहरूले डोजर चलाउन दबाब दिएको बुझिएको छानबिन समितिका संयोजक बहादुरसिंह थापाले बताएका थिए। कांग्रेसको छानबिन टोलीले बुधबार घटनास्थलमा पुगेर स्थानीयसँग छलफल गरेको थियो।

नगरपालिकाले भन्यो बिनासम्झौता सडक काटियो

दशरथचन्द नगरपालिकाले भने सो सडकमा आर्थिक वर्ष २०७४/७५ मा चार लाख विनियोजन गरेको र सो रकमको काम सम्पन्न भइसकेको जनाएको छ। नगरपालिकाले यसअघि बुधबार जारी गरेको विज्ञप्ति अहिले सो सडकमा बजेट विनियोजन नभएको र डिजाइन स्टमेट पनि नबनाएको दाबी गरेको छ।

सो योजना निर्माणका लागि नगरपालिकासँग सम्झौतासमेत नभएको नगरपालिकाले स्पष्ट पारेको छ। नगरप्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सडक लैजाने र रोक्ने पक्षबीच विवाद हुँदा भएको घटनाप्रति दुःखसमेत व्यक्त गरिएको छ।

चालकसहित चारजनाविरुद्ध ज्यान मुद्दा

गौरीलाई डोजरले हुत्याउने डोजर चालक किशोर बोहरा, डोजर मालिका भानीदत्त जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई प्रहरीले ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ।

सोमबार चिलाउने-पार्स सडक खन्ने बेलामा डोजरले हुत्याउँदा गौरी घाइते भएकी थिइन्। यसका साथै सडक खन्ने क्रममा दुई पक्षबीच झडप हुँदा अन्य सातजना पनि सामान्य घाइते भएका थिए। उक्त घटनाको सत्यतथ्य बुझ्नको लागि जिल्ला प्रसासन कार्यालयले पनि छानबिन समिति गठन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.