मदन भण्डारी र प्रचण्डको 'ओरिजिन' एउटै

|

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको बताएका छन्। नेकपा मोरङले चाडबाडको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

शुभकामना आदनप्रदान तथा प्रशिक्षणमा कार्यकर्ताको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले स्व. नेता मदन भण्डारी र प्रचण्डको ओरिजिन एउटै भएको दाबी पनि गरे। ‘जसरी मदन मण्डारी झापा विद्रोहकालीन अरिजिनल माले हुनुहुन्नथ्यो, त्यसैगरी म पनि ओरिजिनल माओवादी होइन,’ अध्यक्ष प्रचण्डले भने ‘हामी दुवैजना तात्कालीन पुष्पलाल समूहमा आवद्ध सदस्यहरू थियौँ।’

उनले मदन भण्डारी र प्रचण्डबीच राजनीतिकरूपमा रहेका संयोग र समानताका किस्सा सुनाउँदै भने ‘मदन भण्डारीको अनुपस्थितिमा प्रचण्ड नै मदन भण्डारी हो।’

दुवैजना पुष्पलाल समूहबाट अन्य समूहमा आवद्ध भएर छोटो समयमा नै आन्दोलनको नेतृत्वको रूपमा स्थापित भएको र स-साना कम्युनिष्ट पार्टीहरूलाई समेट्दै दुवै नेताहरू एउटै समयमा छुट्टाछुट्टै पार्टीको महासचिव भएको प्रचण्डले स्मरण गरे। एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्छ भन्ने अभियानमा मदन भण्डारी र आफूले पहल थाल्दैगर्दा उनको हत्या भएको प्रचण्डको दाबी थियो।

‘प्रचण्ड हिंसावादी हो, यसले हिंसा मात्रै बुझ्छ भन्ने भ्रम हटाउनु होला,’ प्रचण्डले भने, ‘गतिशिल र सिर्जनशिल ढंगले हिंड्ने म र मदन भण्डारीलाई गहिरो गरी बुझ्न आग्रह गर्दछु।’

पूर्वएकता केन्द्र मसालमा महामन्त्री मोहन वैद्यले सशस्त्र क्रान्ति गर्नुपर्छ भन्दै ०४६ सालमा सेक्टर काण्ड घटाएको भन्दै उनले त्यसबेलै आफूले त्यस्ता गतिविधि आन्दोलनको बेलामा हुनुहुँदैन भनेर आफूले भनेको पनि बताए।

विगतको नेपालका कम्युनिष्ट पार्टीहरूको प्रवृत्तिले आफूले खेलेको भूमिकाको लामो चर्चा गर्दै प्रचण्डले नेकपाको एकता राष्ट्रिय, अन्तर्राष्ट्रिय चाहनाले भएको बताए। ‘एकता दुई अध्यक्षले चाहेर मात्रै भएको छैन, यो अन्तर्राष्ट्रिय आन्दोलनको आवश्यकता, राष्ट्रिय एकताको आवश्यकताले गर्दा भएको हो,’ प्रचण्डले भ, ‘त्यही बुझेर एकता गरिएको हो र एकतापछि अब कुनै पनि हिसाबले पार्टी विभाजनको कुरा सोच्न पनि सकिँदैन, त्यस्तो सोचिए राष्ट्रघाती कदम हुनेछ।’

विचार र अनुशासनको विधिबाट पार्टीलाई सुदृढ बनाउन आवश्यक रहेको प्रचण्डले बताए। पार्टीलाई एकताबद्ध र अनुशासित बनाउँदै शक्ति आर्जन गर्नुपर्नेमा प्रचण्डको जोड थियो। दुई अध्यक्ष ‘मुर्ख’ भएकै कारण एकता भएको पनि प्रचण्डको भनाइ थियो। ‘हामी दुई अध्यक्ष मुर्खले जस्तै झ्याप्पै एकता गरियो,’ प्रचण्डले भने, ‘अब सोहीअनुसार कार्यकर्ता पनि मिलेर अघि बढ्नु आवश्यक छ।’

पार्टीका दुई कमाण्डरको निर्णयमा भएको पार्टी एकतालाई सिंगो पार्टी पंक्तिले अनुमोदन गरेको बताउँदै अध्यक्ष प्रचण्डले यसलाई आँखाको नानी बनाउन कार्यकर्तालाई आह्वान गरे। पार्टी एकतापछि एकले अर्कोलाई चिन्नुपर्ने र विश्वास दिलाउनु पर्नेमा उनले जोड दिँदै एकता भएको देख्न नचाहने केही तत्त्वहरूलाई जवाफ दिनुपर्ने खाँचो रहेको उल्लेख गरे।

तीन महिनामा सम्पन्न गर्ने भनेको पार्टी एकताको काम १७ महिनासम्म पूरा गर्न नसक्दा पार्टीमा विचार र अनुशासन गडबडाउने सम्भावना हुने भन्दै उनले विधि र विधानअनुसार पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिए। ‘हामीले वैचारिक स्पष्टता भएको र विधि पद्दतिबाट चल्ने कम्युनिष्ट पार्टी बनाउनु पर्छ,’ उनले भने ‘अनुशासन र विचारमा गडबड खायो भने हामी सकिनेछौँ।’

कम्युनिष्टहरु बिचार र विधि अनुसार नचले आफैँ ढल्ने र सकिने गरेको अनुभवबाट सिकेर पद्दतिमा पार्टी चलाउँदै अपराजयको यात्रा तय गर्नुपर्नेमा उनले जोड दिए। पार्टीले आर्जन गरेको शक्तिले अहंकार र घमण्ड उत्पन्न हुनसक्नेतर्फ सबै नेता कार्यकर्ताहरू सचेत रहनुपर्ने बताउँदै उनले एकताको सबै काम सकिएपछि विकास र पार्टीलाई नयाँ उचाईमा पुर्‍याउने गरी देशव्यापी अभियान सञ्चालन गर्ने जानकारी दिए।

अध्यक्ष प्रचण्डले दुई पार्टीबीच एकता गर्दा जटिलताहरू आउनु स्वभाविक रहेको पनि बताए। ‘दुई ठुला पार्टीबीच एकता भएको छ त्यस क्रममा जटिलताहरू आउनु स्वभाविक छ,’ उनले भने ‘जटिलता आयो भनेर एकता नगर्ने र बीचैमा छोड्ने कुरा हुँदैन व्यहोर्नु पर्छ।’

कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले जनता र कार्यकर्ताको चाहना तथा राष्ट्रिय आवश्यकता अनुसार पार्टी एकता भएकोले त्यसप्रति सबै इमान्दार रहनुपर्ने बताए। कम्युनिष्टहरूको हित नचाहनेहरूले एकतालाई टुंगोमा पुग्न नदिने उपायहरूको खोजी गरिहेकोले नेतृत्वले त्यस्ता प्रयत्नहरूबारे ध्यान दिन आवश्यक रहेको पनि उनले बताए।

पोखरेलले कम्युनिष्टले सरकार चलाउन सक्दैनन भन्ने आरोपलाई गलत सावित गर्दै चुनावमा प्रतिबद्धता जनाएका विषयहरू सरकारले कार्यान्वयन गर्दै अघि बढिरहेको दाबी गरे। उनले चुनावदेखि चुनावसम्मको राजनीति नभई देश बनाउने र विकासमा कायाकल्प गर्ने उद्देश्यअनुसार सरकारले आफ्ना योजना अघि सार्दै गएको बताए। कार्यक्रममा मुख्यमन्त्री शेरधन राई र नेकपा प्रदेश कमिटी इञ्चार्ज भीम आचार्यले पनि शुभकामना मन्तव्य राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.