|

बैतडी : विस २०६८ सालमा बैतडीकी किशोरी पूजा बोहरामाथि सामूहिक बलात्कार भयो। एसएलसीको परीक्षा दिनका लागि आफ्नो ठूलोबुबाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते सामूहिक बलात्कारमा परेकी हुन्।

पाटन नगरपालिका १ साबिकको कैलपाल गाविसबाट उनी पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन पुगेकी थिइन्। १४ वर्षीया पूजा एसएलसीको गेसपेपर किन्नका लागि पसलमा जाँदा पसलेहरूबाटै सामूहिक बलात्कारको सिकार भएकी थिइन्। जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र चाँदनी फोटो स्टुडियोको सञ्चालक ३० वर्षीय अमर अवस्थीले पूजालाई सामूहिक बलात्कार गरेका थिए। 

पूजालाई सामूहिक बलात्कार गर्ने दुईजनालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ। सर्वोच्चले गरेको फैसलाका कारण आफूले ढिलै भए पनि न्याय पाएको पूजाले बताइन्। उनले भनिन्, ‘न्याय पाउँछु भन्ने आस मरिसकेको थियो। ढिलै भए पनि न्याय पाएँ।’  ‘आफू गेसपेपर किन्न गएको याद छ। त्यसपछि मलाई के भयो भन्ने थाहै छैन’, उनले भनिन्, 'गुमेको होस् काठमाडौंमा उपचारपछि आयो’ उनले उक्त घटना सम्झिँदै भनिन्, 'जीवनमा सबैथोक गुमाएको जस्तो लाग्छ।’

अदालतले आफ्नो पक्षमा फैसला गर्दा निकै खुसी लागेको पूजा बताउँछिन्। उनले भनिन्, ‘न्यायको खुसी साट्न नपाउँदै फेरि पुनरावेदनमा जानुपर्‍याे’ ६ जना भाइ बहिनीमध्ये चौथो सन्तान हुन् पूजा। आमा बुबाले घरमै खेती किसानी गरेर छोराछोरीलाई पढाइरहेका थिए। पूजाका बुबा रामसिंहले भने, ‘छोरीलाई पढाइलेखाइ गरेर ठूलो मान्छे बनेको हेर्ने धोको थियो। बीचमै यस्तो घटना घट्यो।’  

खेती किसानी गरेर जीवनयापन चलाइरहेका पीडितका बुबा रामसिंह ढिलै भए पनि न्याय पाएको बताए। उनले भने, ‘८ वर्षपछि न्याय पाएकोकोमा बल्ल खुसी छु।’ पढाइ लेखाइ गरेर ठूलो मान्छे बन्ने धोको थियो पूजाले भनिन्।’ पढाइ गर्दै गर्दा बीचमै ठूलो घटना भयो। घरपरिवारको आर्थिक अवस्था कमजोर रहेकै बेला बलात्कारको सिकार हुँदा आफैँलाई संसारै छोड्छु झैं लाग्थ्यो’, उनले भनिन् ‘तर जीवनदेखि हार खाएन लड्दै गएँ। अहिले न्याय पाएँ।’ 

सर्वोच्चले मुद्दा लामोसम्म लम्बिँदा पुन पूजालाई धेरै समस्या भइरहे। काठमाडौंमा ६ वर्षसम्म रक्षा नेपाल संस्थाले जिम्मेवारी लिएको भए पनि पछि संस्थाले आफूमाथि गलत दृष्टिकोणले हेरेको पूजाको भनाइ छ। मलाई उक्त संस्थाले पढाई तथा बासबसाई  ब्यवस्था गरेको थियो उनले भनिन् ‘पछि केही दिन मसाज सेन्टरमा काम गर्ने केटीका कोठामा राखेको थियो।’

पूजा हाल कानुन विषयमा स्नातक तहको चौथो वर्षमा पढीरहेकी छन्। गएको दुई वर्षदेखि उक्त संस्थाबाट निस्किएर होस्टलमा बस्ने गरेको पूजाले बताइन्। कलेज पढ्दाखेरी पनि आर्थिक अभावमा ७ महिनासम्म शुल्क तिर्न नसकेको स्मरण गर्दै उनले भनिन्, ‘कलेजमा पनि सबै कुरा समस्या भन्नुपर्थ्यो। म यस्तो समस्याबाट यहाँसम्म पुगे भनेर।’ दुई वर्षदेखि घरपरिवारले र दाङ तुलसीपुर घर भइ हाल अमेरिकामा बस्दै आएका लीला डाँगीले सहयोग गर्दै आएका छन्।   

समाजमा बस्नै अझै कठिन 

सामूहिक बलात्कारमा परेकी पूजालाई अझै पनि समाजमा घुलमिल हुन अझै असहज महसुस भएको छ। उनले समाजले आफूमाथि अझै पनि गलत हिसाबले हेर्न गरेको सुनाइन्। उनले भनिन्, ‘घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ।’  जान्ने सुन्नेले गाउँघरमा सहयोग गर्ने भए पनि अझै घुलमिल भएर गाउँमा बस्न कठिन छ। ‘गाउँघरका मान्छेलाई बुझाउनुपर्छ’ उनले भनिन्, ‘कुरा बुझाउन सक्यो भने विश्वास गर्छन्। 

सर्वोच्चले दोषीलाई गरेको कैद सजाय र जरिवानाले मात्रै पूर्णरूपमा न्याय पाएको अनुभूति हुन सकेको छैन। उनले भनिन्, ‘दोषीले पाएको कैद सजाय र जरिवानाले मात्रै मैले न्याय पाउँदिनँ। समाजमा पुन स्थापनाको ग्यारेण्टी हुनुपर्छ। कानुन नै फितलो छ’ उनले भनिन्, ‘पुन स्थापना हुने कुनै ग्यारेण्टी छैन।

बलात्कार पीडितले यो समाजमा कसरी घुलमिल गर्ने र कसरी बाँकी जीवन बिताउने? भन्ने सोचेर केही गरिदिने हो भने बल्ल न्याय महसुस हुन्थ्यो होला। पावर र पहुँचको भरमा मात्र न्याय पाइन्छ यो देशमा’ उनले भनिन्,’ मलाई ८ वर्षसम्म पनि अल्मलायो। सामान्य हिसाबले न्याय मिल्ला भनेर कसैले आस नगरे हुन्छ।’ 

कानुन पीडितलाई न्याय दिनेभन्दा पनि दोषीलाई सजाय दिने खालको मात्रै छ। हाम्रो जिम्मेवारी सरकारले लिनुपर्ने हो। हामी पीडितहरू पहिलेको ‘नर्मल’ अवस्थामा फर्किनै सक्दैनौं। त्यसैले अदालतले दोषीलाई सजाय गरिरहँदा पीडितको मुख्य अविभावक राज्य बनिदिनुपर्छ। 

बलात्कार भएपछि घरपरिवार सबै छोड्नुपर्छ, गाउँ समाजमा फर्किएर पहिलेको अवस्थामा पुग्नै नसकिने संरचना छ। अदालतले न्याय दिन ढिलाइ गरेको गुनासो गर्दै उनले भनिन्, ‘न्याय दिने कुरा त छिटो दिनुपर्छ। न्यायमा राजनीति हुनु हुँदैन।’

काठमाडौंस्थित चक्रवती कानुन कलेजमा स्नातक चौथो वर्षमा अध्ययन पूजाको न्यायालयमा जागिर खाने उद्देश्य छ। ‘कानुनको पढाइ सकेर वकिल बन्छु’ उनले भनिन्, हिंसामा परेका महिलालाई न्याय दिलाउने पदमा पुग्छु’, उनले थपिन्, ‘जीवनमा जसरी भए पनि न्यायाधीश बनेर छोड्छु।’ 

महिला अझै पनि चुलो चौकोमै सीमित छन्। सबै कुरामा महिलाको पहुँच छैन’ उनले भनिन्, ‘महिलाको पनि हरेक कुरामा पहुँच र हिस्सा हुनुपर्छ।’ देशमा बलात्कारजस्ता जघन्य घटना भइरहेका बेला पीडित पक्षले मैले जस्तै आठ आठ वर्षसम्म न्यायका लागि आँसु बगाएर बस्नु नपरोस् उनले थपिन्। ‘अपराधीलाई  हदैसम्म सजायको कानुन बन्नुपर्छ।’  

 घटना र ८ वर्षसम्म यसरी लम्बियो ‘केस’ 

२०६८ चैत ९ गते गेसपेपर किन्न स्टेशनरी पसलमा गएका बेला लागुपदार्थ मिसावट गरी खुवाएर बेहोस बनाइ बलात्कार गरियो।  बलात्कृत भएकी बोहोरा पसल नजिकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन्। अभियोगमा भट्ट र अवस्थीविरुद्ध उजुरीपरेका थिए।  

घटनापछि प्रहरीले जाहेरी लिन मानेन। विद्यालयका प्राध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए। तर, प्रहरीले लिएन। विद्यार्थीले बजार बन्द गरेपछि मात्रै उनीहरूलाई प्रहरीले पक्राउ गर्‍यो र मुद्दा चलाएको थियो। बोहराका तर्फबाट २०६८ चैत १० गते प्रहरीमा परेको थियो। बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहोराको अस्पतालमा उपचारपछि घटनाको तथ्यबाहिर आएको थियो। त्यसपछि प्रहरीले पूजाको बलात्कारमा संलग्न २ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो। 

प्रहरीको अनुसन्धानपछि बैतडी जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो। पीडितको उपचार, मेडिकल रिपोर्ट र घटना प्रकृति मुचुल्का प्रतिवेदनबाट उनीमाथि बलात्कार भएको तथ्य खुलेको थियो। विक्रम संवत् २०६९ फागुन २२ गते दिन जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १३ वर्ष कैद र जनही ५०/५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको सुनाएको थियो।   

बैतडी जिल्ला अदालतले गरेको त्यही फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले २०७१ वैशाख १५ गते उल्ट्याउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो। तर त्यस फैसलालाई सर्वोच्च अदालतले उल्टाएको छ। पुनरावेदनको फैसलाविरुद्ध  सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दर्ता गरिएको थियो। 

सर्वोच्च अदालतले कात्तिक ७ गते बिहीबार तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्ट्याउँदै जिल्ला अदालत बैतडीको फैसलालाई सदर गरेको हो।

यस अघि जिल्ला अदालत बैतडीका न्यायाधीश हिमाल पाठकको इजलासले बलात्कारमा संलग्न बैतडीका सागर भट्ट र अमर अवस्थीलाई जनही ५० हजार जरिवाना र १३ वर्षको कैद सजाय सुनाएको थियो। तर मुद्दाको पुनरावेदन अदालत महेन्द्रनगरका तत्कालीन न्यायाधीहरू नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासले भट्ट र अवस्थीलाई सफाई दिएपछि पीडित पक्षले सर्वोच्च अदालत गुहारेको थियो। 

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई सदर गरेको हो। सर्वोच्च अदालतमा ६ वर्षदेखि पुनरावेदनका रूपमा अल्झिएको मुद्दाको अन्तिम फैसला गर्दै यस्तो सजाय सुनाइएको हो। उनीहरूको सजाय भने अर्को सुनुवाइमा सर्वोच्चले तोक्ने छ। नयाँ फौजदारी संहिताअनुसार उनीहरूलाई दोषी ठहर गर्ने फैसला सर्वोच्चले सुनाएको हो।

नयाँ फौजदारी कार्यविधिअनुसार दोषी ठहर र सजाय निर्धारण एकैपटक गर्न नहुने प्रावधानअनुसार भट्ट र अवस्थीलाई दोषी ठहर गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.