|

बारा : अब पाइपलाइनबाटै नेपालमा ग्यास भित्रिने भएको छ। भारतको मोतिहारीबाट चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्ने योजना नेपाल आयल निगमले ल्याएको हो। संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले अमलेखगंजस्थित आयल निगमको क्षेत्रीय डिपोबाट शनिबार सर्वेको शुभारम्भ गरेका छन्।

पेट्रोलियम पाइपलाई चितवनसम्म

मोतिहारी-अमलेखगंज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनलाई अब चितवनसम्म विस्तार गरिने भएको छ। भारतको मोतिहारी हुँदै रक्सौल-वीरगञ्ज-अमलेखगंजसम्म ल्याइएको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न मन्त्री यादवले शुभारम्भ गरेसँगै सर्वेको काम सुरु भएको छ। निगमले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले पिलर गाडेर सर्वेको सुरुवात गरेका हुन्। 

चितवनको लोथरसम्म इन्धन र ग्यासको पाइपलाइन विस्तार गर्ने योजना अनुसार सर्वे सुरु गरिएको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलले बताए।

‘दुई योजनाको आन्तरिक काम भइरहे पनि सर्वेको औपचारिक सुरुवात आजबाट गरिएको छ’, पौडलले भने,'नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनले संयुक्तरुपमा सर्वेको काम गर्नेछ। सर्वेअन्तर्गत स्थलगत निरीक्षण, पाइपलाइन विस्तार गर्ने सडक, माटो परीक्षणलगायतको कार्य गरिने छ।’ 

विस्तृत अध्ययन पश्चात् निर्माणको काम सुरु गरिने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए। ‘लोथरमै भण्डारण गर्ने पूर्वाधारसमेत निर्माण गर्ने भएको छ’, पाडेलले भने,'दुबै योजना निर्माणका लागि पहिलो चरण अन्तर्गत सर्वे सुरु भएको हो।’

फास्ट ट्रयाकबाट काठमाडाैंसम्म

अमलेखगंजबाट निजगढ-काठमाडाैं द्रुतमार्ग हुँदै काठमाडौंसम्म पाइपलाइन विस्तार गर्ने विषयमा समेत छलफल भइरहेको मन्त्री यादबले जानकारी दिए। मन्त्री यादवले पाइपलाइन विस्तारको कामलाई सरकारले क्रमशः विस्तार गर्दै लैजाने बताए।

आपूर्ति सहज हुने

सर्वेको सुरुवात गर्दै मन्त्री यादवले इन्धन र ग्यासको आपूर्ति तथा वितरण सहज बनाउन अर्को दुई महत्वपूर्ण योजना ल्याइएको बताए। ‘इमान्दारिताका साथ काम गरेपछि असम्भव केही छैन। जुन मोतिहारी-अमलेखगंज पाइपलाइन विस्तारले देखाएको छ’, मन्त्री यादवले भने,‘ठूलो चुनौतिको रुपमा देखिएको पेट्रोलियम पाइपलाइन सफलरूपमा समयमै निर्माण सम्पन्न गरियो। 

२५ अर्ब खर्च हुने

दुई योजना निर्माणका लागि झण्डै २५ अर्ब खर्च हुने प्रारम्भिक अनुमान आयल निगमले गरेको छ। योजनाको डिपिआर सम्पन्न भएको र प्रतिवेदन आएपश्चात् योजनाको यकिन विवरण प्राप्त हुने निगमले जनाएको छ। निगमको प्रारम्भिक अनुमान अनुसार ६२ किलोमिटरको अमलेखगंज–चितवन (लोथर) पाइपलाइन विस्तारका लागि ५ अर्ब ६७ करोड खर्च हुनेछ।

लोथरमा इन्धन भण्डारण गर्ने पूर्वाधार निर्माणका लागि ४ अर्ब १९ करोड खर्च हुने अनुमान गरिएको कार्यकारी निर्देशक पौडेलले बताए। यसको क्षमता एक लाख किलो लिटरको हुनेछ। यसैगरी नेपाल–भारत सिमानादेखि लोथरसम्म ९८ किलोमिटर ग्यास पाइपलाइन विस्तार गर्न ११ अर्ब १९ करोड र ग्यास भण्डारण गर्ने पूर्वाधार तयार पार्न ३ अर्ब ८१ करोड खर्च हुने अनुमान गरिएको छ।

करिब २० हजार मेट्रिक टन ग्यास भण्डारण गर्ने क्षमतासहितको पूर्वाधार निर्माण हुने कार्यकारी दिर्नेशक पौडेलले बताए। पाइपलाइनको दुबै योजना निर्माण गर्दा २४ अर्ब ८६ करोड लागत लाग्ने देखिएको छ। इन्धन र ग्यास भण्डारण गर्ने पूर्वाधार निर्माण गर्न निगमले यसअघि नै लोथरमा २० बिगाह जग्गा खरिद गरेको थियो। पाइपमार्फत अमलेखगंजबाट लोथरसम्म प्रतिघण्टा २९० किलोलिटर इन्धन र नेपाल भारत सीमाबाट प्रति घण्टा एक सय टन ग्यास पाइपबाट आपूर्ति गर्न सकिने छ।

भण्डारण क्षमता बढाइने 

आपूर्ति सहज बनाउन तेलको थप भण्डारण क्षमता बढाउन अम्लेखगञ्जमा जग्गा अपुग भएकाले चितवनसम्म विस्तार गरेर ठूलो क्षमतामा तेल भण्डारण गर्ने योजना रहेको आयल निगमका नायब कार्यकारी निर्देशक इन्जिनियर सुशिल भट्टराईले बताए। देशका अन्य भागमा ढुवानी गर्न सहज हुने देखिएकाले चितवनको लोथरलाई केन्द्र बनाएर कामको थालनी गर्न लागिएको भट्टराईले बताए। ‘अम्मेलखगञ्जसम्म पाइपलाइन विस्तार भएपछि डिजेलको आपूर्ति व्यवस्थापनमा अत्यन्तै महत्वपूर्ण योगदान गरेको छ’, नायब कार्यकारी निर्देशक इन्जिनियर भट्टराईले भने,‘प्राविधिक नोक्सानी अत्यन्तै न्यून भएको छ।’ 

नेपालतर्फ आयल निगमले बनाउने

भारतमा मोतिहारीसम्म मात्रै ग्यास पाइपलाइन विस्तार भएको छ। इण्डियन आयल कर्पोरेशनले रक्सौलसम्म पाइपलाइन विस्तार गर्ने र नेपाल–भारत सीमाबाट चितवनसम्म नेपाल आयल निगमले विस्तारको काम गर्नेछ। यसका लागि दुवै देशका प्राविधिकहरू सर्वेमा जुट्ने भएका छन्।

यसअघि गत भदौ २४ गते दक्षिण एसियाकै पहिलो नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याइएको थियो। मोतिहारीबाट अमलेखगंजसम्म विस्तार गरिएको पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले हेदराबाद हाउसबाट उद्घाटन गरेका थिए। कुल ६९.७ किलोमिटर लम्बाइ रहेको मोतिहारी-अमलेखगञ्ज पाइपलाइनको विस्तारमा भारत सरकारले ३ अर्ब २४ करोड भारतीय रुपैयाँ खर्चिएको थियो।

मोतिहारीबाट रक्सौलसम्म ३३.७ र रक्सौलदेखि अमलेखगंजसम्म ३६.२ किलोमिटर दूरी छ। पेट्रोलियम पाइपलाइन उद्घाटनपछि सरकारले इन्धनको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.