|

चितवन : चितवनको भरतपुर महानगरपालिकालाई नेपालकै पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ। महानगरभित्र रहेका विभिन्न किसिमका असहाय व्यक्तिहरुलाई उद्धार गरेपछि शनिबार भरतपुरलाई सहयोगापेक्षी सडक मगन्‍ते मानवमुक्त महानगर घोषणा गरिएको हो।

भरतपुर महानगरपालिका, मानव सेवा आश्रम, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सामाजीक संघ संस्थाको संयुक्त पहलमा सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको हो। प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले घोषणापत्र पढेर भरतपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरेका हुन्।

मुख्यमन्त्री पौडेलले महानगरलाई मात्रै घोषणा गरेर यो समस्या समाधान नहुने बताए। उनले छिमेकी जिल्ला, नगरपालिका, गाउँपालिकालाई पनि क्रमश: घोषणा गर्दै जानुपर्ने बताए। पौडेलले मुलुक समृद्ध बनाउन विकास निर्माण, ठुला महल बनाएर मात्रै सम्भव नभएको भन्दै सामाजीक समृद्धिलाई पनि उत्तिकै प्राथमिकतामा राखिनुपर्ने बताए। सरकारले यस्को जिम्मा लिने प्रतिबद्धता पनि जनाएका छन्।

महानगर, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र मानव सेवा आश्रमविच चौपक्षीय सहमति पनि भएको छ। महानगरले आश्रमको घर भाडा तिरिरहेको छ भने चाँडै नै खोज तथा उद्धारका लागी नयाँ गाडी उपलव्ध गराउने जनाएको छ।

महानगरपालिकाका प्रमुख रेणु दाहाललगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्ल, मानवसेवा आश्रमका अध्यक्ष राम जि अधिकारी, वे ग्रुपलगायत विभिन्न संघ संस्थाका अभियान्ताहरु १२ दिन रातको समयमा निरन्तर खटिएका थिए।

असोज २७ गत्तेदेखि कार्तिक ८ गत्तेसम्म हरेक दिन राति ८ बजेदेखि ११ बजेसम्म खोज तथा उद्धार गरिएको थियो।

१२ दिनसम्मको समयमा भरतपुरका विभिन्न स्थानबाट ३ सय भन्दा धेरै जनालाई उद्धार गरीएको थियो। जसमध्ये ६ जनालाई मात्रै आश्रममा संरक्षण दिनुपर्ने किसीमको भएको आश्रमका अध्यक्ष अधिकारीले बताए।

कोही भोकै नांगै बस्नुपर्दैन

सडकमा रहेका असाहाय व्यक्तिहरुलाई ५ किसीममा वर्गाीकरण गरी खोज तथा उद्धार सुरु गरीएको थियो। अब महानगरभित्र कोही भोकै, नांगै बस्न नपर्ने महानगर प्रमुख दाहालले बताइन्।

मेयर दाहालले भनिन् ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउदैगर्दा अन्य स्थानबाट फेरी आउने, बस्ने समस्या पनि आउँछन् तर खोज तथा उद्धारका कामलाई निरन्तरता दिईनेछ। भरतपुरबाट सुरु गरीएको यो अभियानलाई अन्य स्थानिय तह हुँदै सिंगा देशलाई सडक मानवमुक्त घोषणा गर्नुपर्छ।’

घोषणा कार्यक्रममा विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी पनि सहभागी थिए। उनले भरतपुर महानगरपालिकाको प्रशंसा गर्दै विरगञ्जलाई पनि चाँडैनै घोषणा गर्ने गरी काम गरिरहेका बताए। कार्यक्रममा मानवीय सेवामा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो।

सरकारले नेपाललाई नै सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने लक्ष्य लिईरहेको सन्दर्भमा मानव सेवा आश्रमले अहिलेसम्म २ हजार भन्दा धेरैलाई उद्धार गर्नुका साथै ८ सय जनालाई परिवारसँग पुनर्मिलन गराईएको अध्यक्ष अधिकारीले बताए। चितवन, मक्वानपुर लगायत मुलुकका विभिन्न १४ जिल्लामा आश्रमको शाखा रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.