जनताको अधिकार खोस्दै गएको जिकिर

|

भक्तपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताका अधिकार खोस्दै गएको आरोप लगाएकाा छन्। 

नेपाली कांग्रेस भक्तपुरले सोमवार आयोजित शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन कार्यक्रममा सभापति देउवाले सरकारले एकपछि अर्को जनविरोधी विधेयक ल्याएर जनताको अधिकार खोस्दै गएको बताए।

उनले मुलुक अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको बताउँदैं महँगी र करले जनतालाई चाडपर्व मनाउन नै कठिन बन्दै गएको टिप्पणी गरे। 

देउवाले कार्यकर्तालाई उपनिर्वाचनमा एकजुट भएर लाग्न निर्देशनसमेत दिए। ‘म अन्तरघात भन्ने नामै सुन्न चाहन्‍न। उपनिर्वाचनसँगै कांग्रेसको जीवन मरणको सवाल जोडिएको छ’, उनले भने, ‘कुनैपनि हालतमा सरकारलाई जवाफ दिन पार्टी एक भएर चुनाव जानुपर्छ र जित्नुपर्छ।’

देउवाले शंखधर साख्वाबाट सिक्न सरकारलाई आग्रह गरे। साख्वाले जनतालाई गरेको योगदानको कदरस्वरुप नेपाल संवतमा उनलाई आदर र सम्मान गर्ने गरेको चर्चा गर्दै देउवाले भने, ‘सरकारले शंखधरको जीवनबाट सिक्नुपर्छ।’

सो अवसरमा देउवाले कांग्रेस भक्तपुरले प्रकाशन गरेको जय नेपाल भक्तपुर स्मारिकाको विमोचनसमेत गरे। स्मारिकामा नेपाली कांग्रेसको स्थापना कालदेखि विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलनमा जेलनेल भोगेका, निर्वासनमा गएका, भूमिगत भएका र आन्दोलनमा कुनै पनि तवरले साथ सहयोग गरेका योद्धाहरुको संक्षिप्त विवरण समावेश छ।

कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा विकासका नाममा भ्रष्टाचार बढेको बताए। उनले प्रचार गर्ने तर काम नहुने प्रवृत्तिको मूल्यांकन नेपाली कांग्रेसले मात्र होइन, भक्तपुरका जनताले पनि गरिरहेको टिप्पणी गरे। 

उनले मंसिर १४ गते हुन गईरहेको भक्तपुर निर्वाचन क्षेत्र नं. १ (क)को प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आन्तरिक मतभेदलाई भुलेर एकतावद्ध भएर पार्टीको झण्डा र चुनाव चिन्ह रुख मुनी गोलबन्द हुनुको विकल्प नभएको बताए।

क्षेत्रीय सभापति जीवन खत्री र नारायणभक्त खायमली, जिल्ला सचिव निशान ढुंगेल, प्रचार शाखा संयोजक केदार खड्कालगायतले मंसिर १४ गते हुने उपनिर्वाचन जनता लोकतान्त्रिक पद्धतीको पक्षमा छन् की कम्युनिष्ट तानाशाही शासनको पक्षमा छन भन्ने परीक्षण भएको बताए।

कार्यक्रममा देउसी भैलो खेल्नुका साथै चर्या नृत्य, बाँसुरी बाजा, बाण्ड बाजा मार्फत सांगीतिक प्रस्तुति राखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.