|

अर्जेन्टिनामा आइतबार सम्पन्न निर्वाचनमा आफू पराजित भएको राष्ट्रपति मउरिसियो म्याक्रीले स्वीकार गरेका छन्। मुलुकमा आर्थिक संकट गहिरिएको र गरिबी अझ बढेको भन्दै तिब्र आलोचना भइरहेको सन्दर्भमा मुख्य विपक्षी अल्बर्टो फर्नान्डेज विजयी भएका हुन्। 

यस चुनावी नतिजाले अर्जेन्टिनाको पहिल्यैदेखि कमजोर मुद्रा अझ कमजोर हुने र वित्तीय बजारमा नकारात्मक सन्देश जाने अनुमान गरिएका छन्। अल्बर्टो फर्नान्डेजका उपराष्ट्रपतिका उम्मेदवार क्रिस्टिना फर्नान्डेजका कतिपय विवादास्पद नीति र भनाईले पनि अर्थतन्त्रमा अस्थिरता निम्त्याउने आशंका गरिएको हो। क्रिस्टिना यसअघि सन् २००७ देखि २०१५ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए।

विपक्षीको भनाईमा अनुदारवादी छवी बनाएकी पूर्व राष्ट्रपति क्रिस्टिनाले नवनिर्वाचित राष्ट्रपति अल्बर्टोमाथि प्रभाव राख्ने सम्भावना बढी छ। प्रारम्भिक चुनावी नतिजा सार्वजनिक भएलगत्तै दुबै फर्नान्डेजका हजारौं समर्थक अर्जेन्टिनाको झण्डा लिएर सडकमा उत्रिएका थिए। प्रदर्शनकारीले 'हामी फेरि सत्तामा आएका छौं' भन्दै नारावाजी गरेका थिए।

'आज, सबै अर्जेन्टिनीको राष्ट्रपतिमा अल्बर्टो चुनिनु भएको छ', क्रिस्टिनाले समर्थकलाई सम्बोधन गर्दै भने। 'उहाँमाथि ठूलो जिम्मेवारी छ। र त्यसका लागि सबै अर्जेन्टिनीले सहयोग गर्नु पर्दछ।'

अर्जेन्टिनाको राजनीतिमा निकै प्रभावशाली मानिएकी क्रिस्टिनाका पति नेस्टर कर्चनर पनि अर्जेन्टिनाका राष्ट्रपति थिए। नवनिर्वाचित राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पनि समर्थकलाई धन्यवाद दिँदै पूर्व राष्ट्रपति कर्चनरको योगदानलाई स्मरण गरे। उनले अर्जेन्टिनाले सामना गरिरहेका समस्यासँग जुध्न वर्तमान राष्ट्रपति म्याक्री प्रशासनको सहयोग पनि आवश्यक रहेको बताए।

राष्ट्रपति म्याक्रीले आफ्नो पार्टीको मुख्यालयमा निराश समर्थकहरूलाई सम्बोधन गर्दै नवनिर्वाचित राष्ट्रपति अल्बर्टोलाई बधाई दिएको र सोमबार राष्ट्रपति निवासमा आमन्त्रण गरेको जानकारी दिए । उनले भने, 'हामी चाहन्छौं। शान्तिपूर्ण सत्ता हस्तान्तरण होस् र यसबाट सबै अर्जेन्टिनीमा खुशीको वातावरण निर्माण होस् किनभने हामी सबैको चाहना सबै अर्जेन्टिनीको भलाई हो।'

निर्वाचन आयोगका अनुसार करिब ९६ प्रतिशत मतगणना हुँदा अल्बर्टो फर्नान्डेजले करिब ४८ प्रतिशत र राष्ट्रपति म्याक्रीले ४० प्रतिशत मत प्राप्त गरे। अन्तिम चुनावी नतिजा सार्वजनिक गर्न भने बाँकी छ। दुबै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेको अवस्थामा पनि कम्तीमा दुबै उम्मेदवारबीच १० प्रतिशतको अन्तर हुनु पर्नेछ अन्यथा आगामी नोभेम्बर २४ मा दोस्रो चरणको मतदान हुनेछ। 

म्याक्रीले यसअघि सन् २०१५ मा मुलुकको अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धता जनाउँदै चुनाव जितेका थिए। त्यसबखत क्रिस्टिनाले रोजेका उम्मेदवार पराजित भएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.