जनयुद्धमा मारिएकी दिदीको यादमा

|

ओखलढुङ्गा :

पूजनीय दिदी,

रातो सलाम अनि सम्झना,

तिहारमा देउसी र भैलिनी गाउनेहरु घरमा आइरहँदा तिमी र म पल्लो गाउँमा देउसी भैली गाउन गएको सम्झनाले सताउँछ। दिदी हरेक वर्ष आउने तिहारले तिमी र म सानोमा लडाईँ खेलेको खुब याद आउँछ। तिमी देश बदल्छु भनेर युद्ध मैदानमा गएको १७ वर्ष भएछ। ठीक १७ वर्ष नै तिहार आयो दिदी। तिम्रो हातले निधारमा सप्तरङ्गी टीका लगाउने मेरो रहर सदाका लागि अधुरै छ।

सयपत्री फूलको मगमग बास्‍ना र बत्तीको झिलिमिलीसहित यसपाली पनि तिहार आयो। तर अफसोस तिमी आइनौं। अचेत झिलिमिली बत्तीले जिस्क्याए जस्तो लाग्छ। आँगनका डिलमा फुलेका सयपत्रीले गलामा सजिन नपाएर दु:ख मनाए जस्तो लाग्छ। यसपाली पनि सयपत्री फूल सुके दिदी।

जब एकान्तमा हुन्छु, अनि बाल्यकाल सम्झन्छु। कति खुशीका दिन थिए, अबोध र अबुझ बेलामा। एकअर्काको कुरा बाआमालाई लगाएर आफू राम्रो बन्‍न खोज्थ्यौं हामी। जब दिदीभाइ झगडा गरी कुटाकुट गर्थ्यौं, तब तिहारमा तँलाई टीका लगाइदिन्‍न भन्थ्यौ। जब भाइ टीका आउँथ्यो, सयपत्री र मखमलीको माला नजानी नजानी आफैँ उन्थ्यौ। कयौंपटक सियोको टुप्पोले तिम्रा औंलामा घोचेको थियो, म कति हाँस्थे है तिम्रो दुखाईमा। मैले ठूलै गल्ती गरेँ कि दिदी। जसको सजाय मैले तिहारमा अचेल पाउँदैछु।

तिमीलाई सम्झना छैन होला, टीकाको साइत भन्दा धेरै अगाडि बिहानैदेखि सबै तयारी गरी बस्थ्यौँ। म त्यो हाम्रो बालापनलाई सम्झने गर्दछु।

जब दिदीभाइ झगडा गरी कुटाकुट गर्थ्यौं, तब तिहारमा तँलाई टीका लगाइदिन्‍न भन्थ्यौ। जब भाइ टीका आउँथ्यो, सयपत्री र मखमलीको माला नजानी नजानी आफैँ उन्थ्यौ। कयौंपटक सियोको टुप्पोले तिम्रा औंलामा घोचेको थियो, म कति हाँस्थे है तिम्रो दुखाईमा। मैले ठूलै गल्ती गरेँ कि दिदी। जसको सजाय मैले तिहारमा अचेल पाउँदैछु।

एसएलसी अगाडि नै म परीक्षा केन्द्रमा डेरा खोज्‍न गएर फर्कँदा तिमी घरमा थिइनौँ। तिमी हरायौ, कहा गयौ, केही पत्तो पाइएन तिम्रो खोजीमा म कति भौतारिँए तर तिमीलाई भेटिनँ। तिमी हराएको पीडामा आमा थलिनुभयो। आमा ओछ्यान पर्दा पनि तिमी घर आइनौँ। तिमीसँगको बिछोडको चोटले थला पर्नुभएकी आमा मलाई टुहुरो बनाएर केही महिनामै  संसार छाडेर जानुभयो। अनि बा'ले पनि त अर्की आमा ल्याउनु भयो।

तिमी हराएको केही दिनपछि पो थाहा भयो, तिमी त देश अनि दुनियाँ बदल्नका लागि माओवादी जनयद्धमा लामबद्ध भएकी रहेछौ। तिमीले आफ्नो ज्यान दियौ, लडाइँकै कारण म पनि देखिन नसकिने गरेर अपाङ्ग भएको बाल्यकालमा टीका बाङ्गो भयो भनेर झगडा गर्थें नि तिमीसँग। आज त्यही बाङ्‍गो टीका नलगाएको पनि १७ वर्ष बितेछ।

अँधेरी रातमा बाँसको कप्टेरा बालेर देउसीभैली खेल्न पल्लो गाउँमा गएको सम्झना ताजै छ मलाई। सबैका घरमा तीज र तिहार आउँछ। दिदी हाम्रा घरमा तीज र तिहार नआएको धेरै वर्ष भइसक्यो। मलाई न त तीज छ, न त तिहार नै। भाइटीकामा जब सबैका दिदीबहिनी आउँछन् तब लाग्छ तिमी पनि आउँदैछौ। तर मेरो आशा चैते हुरीले भत्काएको टहरोसरी भत्किन्छ। आँखाबाट अश्रुवर्षा बग्छ।

दिदी चाडबाड आएपछि यो मनले सबै कुरा बिर्सिए पनि तिम्रो अभाव खड्किरहन्छ। दिदी बितेका १७ वटा तिहार त खाली निधारमै सकिए। जहिले दिदी भाइको भेट हुन्छ नि त्यही बेला तीज मनाउँला, तिहारमा पनि रमाउँला नि है। मान्छेहरू भन्छन् पृथ्वी गोलो छ रे! एकदिन हाम्रो पनि भेट होला। 

दिनरात नभनी दुनियाँ बदल्ने सपना बोकेर तिमी जनयुद्धमा लामबद्ध भएपछि म पनि त तिमीसँगै जनयुद्धमा सामेल भएँ। तर के भयो र? हिजो हामी मर्ने, आज अर्काले मस्तीमा जीवन बिताउने।

दिदी मलाई, रेणु दिदी र गंगा दिदीलाई सोध्‍न मन छ, माइतीबिनाको तीज र तिहार कस्तो हुन्छ भनेर। प्रकाश दाइ बितेसँगै उहाँहरुको पनि त तीज र तिहार खल्‍लो भएको होला नि!

प्रकाश दाइबिनाको पर्व दिदीहरुले भोगिसक्नु भएको छ दिदी। तर प्रकाश दाइको मृत्यु थियो, मेरी दिदी तिम्रो भने सहदात देशका लागि। दुवै परिवारबाट देशका लागि योगदान छ। प्रकाश दाई पनि त आफ्नो ज्यान खकुरीको  धारमै राखेर युद्ध मोर्चामा लड्नु भएको थियो।

प्रकाश दाइको परिवारको अवस्था आज फरक छ। तर मेरो परिवारले के पायो? परिवारले सदस्य गुमायो। शारीरिक अपाङ्ग बनायो। परिवारका वृद्ध बालाई मानसिक रोगी बनायो। दिदी तिम्रो र मेरो वियोगमा अकालमा आमाले संसार छाड्नुभयो। हाम्रो परिवारको तर्फबाट तिम्रो सहादात हाम्रा नेताहरुका लागि थिएन। उहाँहरुलाई सत्तामा लडिबुडी र डुबुल्की मारिरहेको देख्दा तपाईंको ज्यान व्यर्थ गए जस्तो लाग्छ दिदी। 

दिदी चाडबाड आएपछि यो मनले सबै कुरा बिर्सिए पनि तिम्रो अभाव खड्किरहन्छ। दिदी बितेका १७ वटा तिहार त खाली निधारमै सकिए। जहिले दिदी भाइको भेट हुन्छ नि त्यही बेला तीज मनाउँला, तिहारमा पनि रमाउँला नि है। मान्छेहरू भन्छन् पृथ्वी गोलो छ रे! एकदिन हाम्रो पनि भेट होला। 

तिम्रो प्यारो भाइ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.