मुटुको समस्या देखिँदा शिक्षणमै उपचार

|

काठमाडौं :  बाह्र वर्षअघि मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि नियमित उपचाररत छन्। गम्भीर स्वास्थ्य समस्या देखिँदा सिंगापुर र अन्य देशमा जाने गरेका ओलीको नेपालमा पनि उपचार जारी छ।  

यसअघि सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरेर प्रम ओली गत भदौ २० भदौ  फर्किएका थिए।

ओलीले सिंगापुरबाट फर्किएपछि त्रिवि शिक्षण अस्पतालमा दुई पटक स्वास्थ्य परीक्षण गराएका थिए। यसबीचमा छाउनीस्थित सैनिक अस्पतालमा उनको मिर्गौलाको बायोस्पी पनि गरिएको छ।

मुटुको समेत नियमित चेकजाँचमा रहेका ओली पछिल्लो पटक आज (बुधबार) अस्वस्थ भएपछि उपचारको लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेका छन्। 

मिर्गौलाका बिरामी प्रधानमन्त्री ओलीलाई ज्वरो आउने र टाउको दुख्‍ने समस्या देखिएपछि बुधबार बिहानै सरकारी निवास बालुवाटारबाट नियमित चेकजाँचका लागि ग्रान्डी लगिएको थियो।

ओली यसअघि नियमित उपचारका लागि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए। तर पछिल्लो दुई पटक उनी ग्रान्डी अस्पतालमा फलोअप उपचारका लागि गएका छन्।

गत भदौमा सिंगापुरमा प्रमले ६ पटकसम्म प्लाज्मा फेरोसिस गरेर फर्किएका थिए। सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको एन्टी बडी नष्ट गरिएको थियो। ओली सिंगापुरमा दुई हप्ता लामो उपचारपछि गत भदौ २० गते नेपाल फर्किएका थिए।

नेपाल फर्किएपछि ओलीले सिंगापुरमा उपचारका क्रममा मुटुमा राखिएको पाइप मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा झिकेका थिए।त्यसपछि भने प्रम ओली उपचारको लागि ग्रान्डी अस्पताल पुग्ने गरेका छन्।

सिंगापुरबाट फर्किएपछि प्रम ओली एक पटक शिक्षण अस्पताल र दुई पटक ग्रान्डीमा अस्पतालमा फलोअप उपचारको लागि पुगिसकेका छन्।

यस अघि पनि दशैंका बेला पनि ओली ग्रान्डी अस्पताल गएका थिए। ग्रान्डीमा उपचारका लागि जाने कुरा उनको सचिवालयले गोप्य राख्ने गरेको छ। शिक्षण अस्पतालपछि प्रम उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल पनि जाने गरेका छन्।

सिंगापुरमा उपचारका लागि जानुअघि  ओलीको मिर्गौलाको बायोस्पी सैनिक अस्पतालमा गरिएको थियो। जहाँबाट प्रम ओलीको मिर्गौलाले काम गर्न छोडेको पुष्टि भएको थियो।

किन गए प्रम  ग्राण्डी अस्पताल

यसअघि नियमित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि जाने गरेका प्रम गाण्डीमा मिर्गौलाको उपचारका लागि पुगेका हुन्। 

यो अस्पताल मुटु रोगका लागि चर्चित छ। तर प्रमको मिर्गौलाको समस्याको उपचार ग्राण्डीमा राम्रो हुने भएकाले उनी त्यतै गएका हुन्। ‘मनमोहनमा धेरै भिड पनि हुन्छ, यो मिर्गौलाको उपचार हुने अस्पताल होइन, मुटुको समस्या आउदाँ यही आउनु हुन्छ। अन्य उपचारका लागि भने अरु अस्पताल जानु भएको होला,’ स्रोत भन्छ।

प्रधानमन्त्रीको निजी चिकित्सकसमेत रहेकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाह ग्राण्डी अस्पतालमै कार्यरत छिन्। त्यहीकारण पनि प्रमको मिर्गौलाको उपचारका लागि ग्रान्डी नै रोजिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.