अभिभावक भन्छन्, उहाँ त नमुना शिक्षक हो

|

बारा : प्राय  देशभरका सामुदायिक विद्यालय दशैंदेखि छठसम्म बिदा दिइएको छ। करिब डेढ महिनाको छुट्टीलाई विद्यार्थी र शिक्षकले घुम्ने र अन्य काम गर्ने अवसरका रुपमा प्रयोग गर्छन्। तर, बाराको निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका शिक्षक लोकबहादुर खुलाल भने शैक्षिक गतिविधिमा नै सक्रिय छन्।

शिक्षक खुलाललाई एउटा उखानले खुब घत गरेको छ– ९ दिनमा नौलो र २० दिनमा बिर्स्यो। त्यही कारण उनी विद्यार्थीले सिकेको कोर्षलाई ताजै राख्न विदालाई भरपुर उपयोग गरिहेका छन्। 'मंसिरमा परीक्षा हुन्छ। शिक्षक छुट्टी लामो छ।

पढाएको कुरा बिर्सिन्छन अनि नतिजा बिग्रिन्छ। पुरानै अवस्थामा पुर्‍याउन थप मेहनत गर्नुपर्छ  त्यसले कोर्ष पुरा हुँदैन’उनले भने,'विद्यालयले उनलाई कक्षा १२ को शैक्षिक भ्रमण जिम्मा दिएको थियो।  भ्याउँदिन भन्दै घरदैलो सुरु गरेँ।'

विद्यार्थीको घर-घरमा शिक्षक

असोज ९ गते विद्यालय विदा भयो। शिक्षक खुलालको भने दिनचर्या फेरिएन। विद्यालय सञ्चालन हुँदा कक्षा कोठा हुने खुलाल अहिले भने विद्यार्थीको घरमा भेटिन्छन्। उनी बिदा सुरु भएदेखि करिब एक सय विद्यार्थीको घरमा पुगिसके। उनी भन्छन्, ‘सबै विद्यार्थीको घर पनि देखेको थिईन्। सोध्दै सोध्दै जान्छु।’ उनी यसरी निजगढ वडा ४, ६, ७,  ८, ९ का सयौं घर पुगिसकेका छन्।

होमवर्क प्याकेज

विद्यालयले सञ्चालन गरेको कोचिङ्ग कक्षामा उनले विद्यार्थीलाई होमवर्क प्याकेज बनाउन भनेका थिए। २० जस्ताको एक रिम कपि किन्न भनेका छन् । कपीमा मिति समेत लेखेर होमवर्कको ठेली तयार गर्न भनेका उनले कति तयार भयो भनेर घर–घरमा पुगेका हुन्।

कक्षा ७ र ८ मा गणित र सामाजिक विषय पढाउने शिक्षक खुलालले विद्यार्थीलाई नआएको सोध्ने र सिकाउने अवसरका रुपमा घरदैलो गरेको सुनाए। ‘तयार भईसकेको होमवर्क जाँच गर्छु,’ शिक्षक खुलालले भने, 'तयार नपारेका विद्यार्थीसंग अर्को मिति लिएर फर्किन्छु।’

व्यक्तिगत खर्चमा मोटरसाईकल चढेर उनी कतिपय विद्यार्थीको घरमा तीन पटकसम्म पुगिसकेका छन्। ‘होमवर्क गर्न समय धेरै लाग्दा पढाउने समय अपुग हुन्छ,’ शिक्षक खुलालले भने‘आफ्ना कक्षाका बाहेकका साना कक्षाका चेकजाँच गरिदिने गरेको छु तर रेड साईन प्रयोग गर्दिन।’ कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयले प्रश्नसहित होमवर्क सिट बनाएर पठाएको छ।

प्रदेश २ मै बढी विद्यार्थी भएको सामुदायिक विद्यायको रुपमा स्थापित विद्यालयको कक्षामा तीन वटासम्म सेक्सन छुट्याईएको छ। शिक्षक खुलालले गणित विषय कक्षा ८ मा ‘ए’ र ‘बी’ र कक्षा ७ ‘ए’ र सामाजिक विषय कक्षा ७ र ८ का ‘सि’ का विद्यार्थीलाई पढाउँछन्।

सबै होमवर्क सकेपछि कापी तौल गरेर हेर्ने योजना सुनाए। ‘विद्यालय खुलेपछि विद्यार्थीलाई होमवर्क गर्न दिईएको कापी र नयाँ उहिँ रिमको नयाँ कापी राखेर तौल गरेर हेर्छु,’ शिक्षक खुलालले भने, 'होमवर्क गर्ने क्रममा कुनै समस्या आएमा सोध्नका लागि मोवाईल नम्बर पनि दिएको छु।’ केहि विद्यार्थी आफन्तमा घुम्न गएपनि जाँदासँगै कापी र किताब बोकेर गएका छन्।

अभिभावक दंग

निजगढ–९ का बरुण श्रेष्ठ कक्षा ८ मा पढ्छन्। बरुणको घरमा शिक्षक खुलाल दुई पटक पुगिसकेका छन्। शिक्षक नै घरमा आएर कापी जाँच्न थालेपछि बरुणका बुवा विरेन्द्र श्रेष्ठ दङ्ग परेका छन्। ‘यस्तो कुनै शिक्षकले गरेको थाहाँ छैन,’ अभिभावक श्रेष्ठ भन्छन्,'चाडबाडमा समेत आफ्नो व्यक्तिगत काम छाडेर विद्यार्थीको घरघरमा पुग्ने उहाँ त नमुना शिक्षक नै हो।’

निजगढ–८ अभिभावक मोजहर मन्सुरले शिक्षक खुलालको घरदैलोमा पुगेर कापी जाँच गरेको कार्यको प्रशंसा गरे। उनले निःशुल्क रुपमा घरमै पुगेर विद्यार्थीलाई सिकाउने कार्य स्वागतयोग्य भनेको भन्दै अरु शिक्षकले पनि सिक्नुपर्ने बताए।

घरमै आएर शिक्षकले कापी जाँच्ने र सिकाउने गरेपछि विद्यार्थी पनि खुसी छन्। कक्षा ८ का छात्र बरुणले राम्रो लागेको प्रतिकृया दिए। नजानेको कुरा सिक्न पाईएको छ।

जग बलियो बनाउने बेला

वि.स. २०६३ सालदेखि अस्थायी शिक्षका रुपमा अध्यापन गराउँदै आएका शिक्षक खुलाल हालै शिक्षा सेवा आयोगबाट निमावि तहम स्थायी शिक्षक बनेका छन्। उनी कक्षा ७ बाट माध्यमिक र उच्च माध्यमिक कक्षाको लागि जग बनाउने बेला भएको बताउँछन्। ‘पढाईको महत्व बुझ्ने बेला हुन्छ,’ शिक्षक खुलालले भने,'यस्तो बेलामा राम्रो तयारी गराउन सकियो भने जग राम्रो बन्छ।’

अभिभावकसंगै राखेर शिक्षकले विद्यार्थीको कापी जाँच्दै लेखेको ठिक छ तर कसरी भयो भनेर सोध्छन्। ‘विद्यार्थी लेख्न सक्ने तर भन्न नसक्ने समस्यामा हुन्छन्' उनले सुनाए।

शिक्षक खुलालको अनुभवमा यस्ता विद्यार्थीलाई थोरै मेहनत गरियो भने राम्रो नतिजा ल्याउन सकिन्छ। मेहनत नगरि रिजल्ट खोज्नु भन्दा मेहनत गरेर रिजल्ट खोज्नुपर्ने उनले बताए।

अभिभावको चासो हुनुपर्‍यो

विद्यार्थीको पढाई राम्रो हुन अभिभावको भूमिका पनि महत्वपूर्ण हुने शिक्षक खुलालले बताए। ‘विद्यार्थीको पढाईप्रति अभिभावकको चासो कम छ,’ खुलालले भने ‘अभिभावकसँग छलफल गर्ने गरेको छु।’ उनले घर–घरमा पुग्दा कतिपय अभिभावकले समय दिएर चासोका साथ संगै बस्ने गरेको र कतिपयले भने चासो समेत नदिने गरेको अनुभव सुनाए। कति विद्यार्थीको त घरको आँगनमा ततो घाममा उभिएर कापी जाँचेको बताए।

मिहिनेती शिक्षक

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारप्रसाद गौतमले शिक्षक खुलाल मेहेनेती शिक्षक भएको बताएका छन्। ‘उहाँले विद्यार्थीलाई अतिरित्त सेवा दिईरहनुभएको रहेछ,’ गौतमले भने,‘लामो छुट्टीमा रहेका विद्यार्थीका लागि महत्वपूर्ण हुनेछ।’ उनी विद्यालयको खेलकुद र स्काउट शिक्षक समेत हुन्। उनी तेक्वान्दोको शहीद हिरालाल डोजाङ्गका प्रमुख समेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.