अपनत्व र विविधताले जित्‍न सकिन्छ मन

|

सन् २०१८ मा चिनियाँहरूले कूल साढे ३१ अर्ब रुपैयाँ घुमफिरमा खर्च गरे। जसमा आन्तरिक घुमफिरको खर्च जोडिएको छैन। यसअर्थमा चिनियाँहरू संसारकै सर्वाधिक खर्चालु पर्यटक हुन्।

सानो अर्थतन्त्र भएको देशमा ठूलो संख्यामा चिनियाँ पर्यटक उपस्थित हुँदा राष्ट्रिय आयमा नाटकीय अन्तर पैदा हुने स्थिति देखिन्छ। उदाहरणका लागि सन् २०१८ मा थाइल्याण्डले ३ करोड ८२ लाख पर्यटकलाई स्वागत गर्‍यो। जसमध्ये १० लाख त चिनियाँ मात्रै थिए।

नेपाल सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई ‘भिजिट नेपाल वर्ष’का रुपमा मनाउन लागेको छ। लक्ष्य सहज छैन, तर असम्भव पनि होइन। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा नेपाल आएका ११ लाख ७३ हजार पर्यटकमध्ये डेढ लाख चिनियाँ थिए।

संसारकै ठूलोमध्येको एक चिनियाँ ट्राभल कम्पनी सि-ट्रिपकी सिइओ जेन सनले एक टेलिभिजन अन्तर्वार्तामा चिनियाँ पर्यटकको मन जित्ने तरिकाबारे बोलेकी छन्। उनी भन्छिन्, ‘चिनियाँ पर्यटकको चाहनालाई ध्यान दिए, मन जित्न गाह्रो छैन।’

जति विविधता, उति राम्रो

‘समय बदलियो’, सन भन्छिन्, ‘चिनियाँ युवाहरूको रुचि पनि बदलिएको छ। त्यसैले सक्दो विविधता पस्कनुस्।’

‘तपाईंले ख्याल गर्नुभएको छ? चिनियाँ पर्यटकहरु केही वर्ष पहिलेसम्म समूहमा मात्रै हिँड्न रुचाउँथे। किनभने, त्यतिखेर न उनीहरू अंग्रेजी बोल्थे, न बुझ्थे। आजका अंग्रेजी जानेका युवाहरू समूहमा हिँड्न रुचाउँदैनन्, ती आफ्नै पाराले घुम्न चाहन्छन्।’

‘अघिल्लो पुस्ताका चिनियाँहरु जीवनमा एकपल्ट मात्रै विदेश घुम्थे। आजका युवाहरू एउटा भ्रमणमा थामिँदैनन्। उनीहरूलाई स्काइ-डाइभिङ गर्नुछ, सि-डाइभिङ गर्नुछ, ती सबैथोकको अनुभव गर्न चाहन्छन्,’ सनले भनिन्, ‘माउन्ट किलिमञ्जरो पनि पुगेकै छन्, माउन्ट एभरेष्ट पनि पुगेकै छन्। यात्रालाई सक्दो रोमाञ्चक बनाउन चिनियाँ युवाहरू अन्टार्टिकासम्म पनि पुगेका छन्।’

सनका अनुसार उनको कम्पनीमा यतिखेर भारतको ताजमहल र स्पेनिस इस्टर आइल्याण्ड जान चाहने चिनियाँहरूको बुकिङ धेरै छ।

अपनत्व अनुभव गराउनुहोस्

‘पर्यटकले आकर्षक गन्तव्य मात्र होइन, सेवा पनि खोज्छ, अपनत्व खोज्छ,’ सनले भनिन्, ‘त्यसका लागि हामीले धेरै ठाउँमा स्थानीय व्यवसायीलाई ‘वेलकम चाइनिज कार्यक्रम’ चलाउन प्रोत्साहित गरेका छौं। त्यस्ता विशेष कार्यक्रमले अनलाइनबाट   सम्भावित गन्तव्यबारे जानकारी बटुलिरहेका पर्यटकलाई उत्साहित बनाउँछ।’

‘केही त्यस्तो होस्, जसले गर्दा चिनियाँहरूलाई उक्त ठाउँ वा सेवा पूर्वपरिचितजस्तो लागोस्। चाहे चिनियाँ चियामात्रै भए पनि किन नहोस्, त्यहाँको वातावरण चिनियाँमैत्री लाग्नुपर्छ।’

‘पहिले पहिले पर्यटकमाथि हुने दुर्व्यवहारका घटना समाचारका हेडलाइन बन्थे, जसबाट चिनियाँहरू तर्सन्थे। तर ‘वेलकम चाइनिज’जस्ता कार्यक्रम बढ्दै गएपछि चिनियाँ पर्यटकको सोच पनि फेरिँदै जाने देख्छु,’ उनले भनिन्।

यात्राबाट सिक्न सकियोस्

‘कतिपय चिनियाँहरू पहिलोपटक विदेश घुम्न गएका हुन्छन्, त्यसैले कहिलेकाहीँ एकदम उत्साहित भइदिन्छन्, आपसमा एकदम चर्को बोल्छन्, सडकमाझमा बसेर फोटो खिच्छन्,’ सनले भनिन्, ‘जतिजति संसार घुम्दै गए, सिक्दै पनि गएका छन्। जस्तो कि, जापान जानेहरूले त्यहाँका मान्छेहरूलाई एकदमै अनुशासित पाउँछन्, चिनियाँ पर्यटकहरू घर फर्किँदा अनुशासन सिकेर फर्कन्छन्।’

सि-ट्रिपले चीन सरकारसँग सहकार्य गर्दै ‘ट्राभलर गाइडलाइन’ विकास गरेको छ। ‘एकअर्काको देशमा घुम्न जाँदा धेरै कुरा सिक्न सकिन्छ,’ सन भन्छिन्, ‘घुम्न जानुअघि उक्त गन्तव्यका के-के कुरामा ध्यान दिने, स्थानीयका कुन-कुन राम्ररी अवलोकन गर्ने भन्ने पूर्वजानकारी दिन्छौं। उनीहरू फर्केर आएपछि तस्बिर तथा यात्रा विवरण पोष्ट गर्न अनुरोध गर्छौं, ताकि, पछि जानेले अघिल्लाको अनुभवबाट सिकुन्।’

सि-ट्रिपबाट प्लेन, ट्रेन र होटेलको मात्रै होइन, संसारका सबै कुनामा हुने प्रसिद्ध रोमाञ्चक गतिविधिहरूको टिकट काट्न सकिन्छ। इन्स्टाग्रामजस्तै ‘ट्रिप मोमेन्ट्स’ नामक एप छ, जहाँ यात्रुहरू आफ्नो अनुभव साझा गर्छन्।

विश्वभर प्रसिद्ध सि-ट्रिपले चीनको पर्यटन बजारको ६० प्रतिशत हिस्सा ओगटेको छ। सन् २०१६ मा बेलायती कम्पनी स्काइ-स्क्यानर खरिद गरेको सि-ट्रिपले सन् २०१७ मा अमेरिकी कम्पनी ट्रिप डटकम खरिद गर्‍यो।

‘हामीले के ख्याल गरेका छौं भने हाम्रा उत्पादनहरू चिनियाँले मात्रै होइन, विदेशीहरूले पनि रुचाएका छन्,’ सनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.