१० वर्षदेखि कृष्णनगरमै चियापसल गर्थे मृतक पाण्डे

|

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय नागरिक रहेको पुष्टि भएको छ। कर्फ्यू तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्‍यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो।

त्यसरी गोली लागेर मृत्यु भएका व्‍यक्ति भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीसँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्‍यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए। 

कृष्णनगरमा भएको दोहोरो झडपमा थप उत्तेजित तुल्याउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीको दाबी छ। प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयको भनाइ छ। प्रदर्शनका क्रममा करिब १२ प्रहरी र स्थानीय घाइते भएका छन्। प्रदर्शन चर्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बिहीबार ३५ राउन्डभन्दा बढी हवाई फायर र लाठीचार्ज गरेको छ।

कर्फ्यू तोडेपछि गोली

यता कपिलवस्तुको कृष्णनगरमा कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन गर्ने क्रम शुरु भएसँगै प्रहरीले चलाएको गोलीबाट सुरजकुमार पाण्डेको मृत्यु भएको छ। मूर्ति बिसर्जन गर्न पाउनुपर्ने मागसहित पाण्डे सहितका व्‍यक्तिहरू प्रदर्शनमा उत्रिएसँगै कर्फ्यू तोडेको भन्दै प्रहरीले गोली हानेको हो।

मृतक पाण्डे विगत १० वर्षदेखि कृष्णनगरमा चियापसल सञ्‍चालन गर्दै आएका थिए। लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्न मस्जिदको बाटो प्रयोग गर्न रोक लगाइएपछि शुरु भएको असमझदारीले दोहोरो झडपको रूप लिँदै गएपछि कृष्णनगरमा स्थानीय प्रशासनले अनिश्तिकालीन कर्फ्यू आदेश जारी गरेको छ।

हिंसा भड्किने खतराले कर्फ्यू

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको आदेशमा जारी कर्फ्यूमा धार्मिक हिंसा भड्किने खतरा आएकाले ‘कर्फ्यू’ जारी गर्नु परेको उल्लेख छ। उनका अनुसार समस्यालाई वार्ताको माध्यमबाट मिलाउने प्रयास असफल भएपछि अर्को आदेश नभएसम्मका लागि ‘कर्फ्यू’जारी गरिएको हो।

बिहीबार बिहान ११ बजेबाट ‘कर्फ्यू’ जारी गरिएको छ। कृष्णनगर भन्सार कार्यालय देखी उतरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ सय मिटर र पूर्ब तर्फ ३ सय मिटर क्षेत्रभित्र अर्को सूचना जारी नहुँदासम्म कसैलाई घर बाहिर निस्कन, आवतजावत गर्न तथा भेला, जुलुस एवं हुलदंगा नगर्न आदेश दिइएको छ।

मूर्ति विसर्जनको निहुँमा तनाव

कृष्णनगर नगरपालिकाको झण्डेनगरबाट लक्ष्मी पूजाका मूर्तिसहित निकालिएको र्‍यालीलाई स्थानीय मस्जिद नजिकको बाटोबाट बिसर्जन गर्ने दिशातर्फ रोक लगाईएसँगै गएराति १० बजेदेखि १ बजेसम्म कृष्णनगर बजार तनाव उत्पन्न भएको थियो।

सो क्रममा रातिमा थप हिंसा नहोस भन्ने हिसाबले सुरक्षा निकायले आज बिहान बिसर्जन गर्ने गरि सडकमै मूर्तिहरु राख्न गरेको आग्रहलाई हिन्दू धर्मपक्षधरहरुले स्वीकारेका थिए।

तर रातिदेखि भएको वार्तामा शान्तिपूर्ण रूपमा विसर्जनको माहोल नबनेपछि आक्रोशित भएका हिन्दूधर्मपक्षधरहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्दै कृष्णनगरस्थित प्रहरी बिटमा आक्रमण गरेका थिए। त्यसैगरी मुस्लिम पक्षधरहरू पनि थप तनाव सिर्जना गर्ने क्रम सुरु भएसँगै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

नागरिक समाजको चिन्ता, राजनीतिक दलहरुको स्वार्थ

यता नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलखबहादुर पछाइले घटना विषयप्रति चिन्ता व्‍यक्त गरेका छन्। उनले सबै पक्षलाई संयमित हुन वार्ताद्धारा समस्या समाधान गर्न अनुरोध गरेका छन्। उनले सबैमा आपसी सहयोग सद्भाव कायम गर्न आग्रहसमेत गरेका छन्।

विगतमा कृष्णनगर क्षेत्रमा पटकपटक हिन्दू र मुस्मिलहरूबीच द्वन्द्व गराउने र राजनीतिक फाइदा लिने क्रम त्यहाँका राजनीतिक दलहरूमा रहेको स्थानीय अगुवाहरुको भनाइ छ। सबै पक्षलाई सद्भावपूर्ण राजनीति गर्न नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले विज्ञप्तिमार्फत अपिल गरेका छन्। उनले राज्यका सुरक्षा निकायलाई संयममतापूर्वक अघि बढेर सहज सहमति खोज्न अनुरोध गरेका छन्।

सञ्चारकर्मीमाथि हातपात

यसैबीच पाण्डेको मृत्युपश्चात् कृष्णनगरमा पुगेका सञ्चारकर्मीमाथि स्थानीय आक्रोशित समूहले हातपातसमेत गरेका छन्। आक्रोशित जत्थाले प्रेस युनियन कपिलवस्तु शाखा सभापति गोपाल भण्डारीलगायत सञ्‍चारकर्मीमाथि अभद्र व्‍यवहार प्रस्तुत गरेका छन्। समूहले क्यामेरासहितका सामान फुटाएको छ।

यस घटनाप्रति पत्रकार महासंघका केन्द्रीय सदस्य वसन्त गिरी र जिल्ला अध्यक्ष डिलाराम भुसालले विज्ञप्ति जारी गर्दै दु:ख प्रकट गरेका छन्। सञ्‍चारमाध्यम तथा सञ्‍चारकर्मीलाई संयमित भई समाचार सम्प्रेषण गर्नसमेत आग्रह गरिएको छ।

सम्बन्धित समाचारहरू :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.