|

युट्युबको होमपेज स्क्रोल गर्दै जाँदा तस्वीरमा देखिएका यी वृद्धलाई तपाईंले पक्कै देख्नुभएको थियो होला। अनुहार याद भएन? त्यसो भए, खुला चौरमा ठूल्ठूला कराईमा सैयौं मान्छेलाई पुग्ने गरी खाना पकाएको भिडियो त पक्कै हेर्नुभएको थियो होला।

भारतका तिनै लोकप्रिय युट्युबर नारायण रेड्डीको निधन भएको छ। ग्रान्डपा किचन नामको युट्युब च्यानलमा उनको भिडियो नियमित रुपमा अपलोड हुनेगर्थ्यो। रेड्डीको ७३ वर्षको उमेरमा निधन भएको हो।

दुई वर्षअघि खोलिएको उनको युट्युब च्यानलमा ६० लाख सब्सक्राइबर छन्। उनले नातिनानिनासँग मिलेर ठूलो परिमाणमा खाना पकाउने कलामात्रै सिकाउँदैनथे, त्यसरी पकाइएको खाना हैदरावाद र तेलंगना क्षेत्रका गरिब तथा अनाथलाई बाँड्ने पनि गर्थे।

उनको निधनलगत्तै पोष्ट गरिएको एउटा भावुक भिडियोमा उनका जीवनका झलकदेखि उनको अन्तिम संस्कारका दृष्यहरू समेटिएको छ। उनको अन्त्येष्टिमा ठूलो संख्यामा प्रशंसक उपस्थित भएका थिए।

‘तिमी सदैव हाम्रो मनमा रहनेछौ,’ भिडियोमा भनिएको छ।

उनका नाति श्रीकान्त रेड्डीले बताएअनुसार, आफ्नो परिवारको लागि ठूलो परिमाणमा खाना पकाउँदै आएका नारायणलाई नातिहरूले नै भिडियो बनाउन प्रेरित गरेका थिए। ‘हामी त शहरमा बस्थ्यौं, छुट्टीमा जब गाउँ जान्थ्यौं, हामी सबैका लागि हजुरबुबाले खाना पकाउनुहुनथ्यो। त्यही काम पछि गरीब र अनाथका लागि गर्‍यौं, भिडियो पनि बनायौं,’ श्रीकान्तले भने।

युट्युबमा ‘ग्राण्ड पा’ च्यानलको लोकप्रियता बढेसँगै नारायणका परिवारका अन्य सदस्यहरूले जागिर छाडी च्यानलकै लागि काम गर्न थाले। ‘निकै मिलनसार र हँसिलो हुनुहुन्थ्यो। संसारभरका मान्छेले उहाँको भिडियो हेर्थे, एकदमै सकारात्मक प्रतिकृयाहरू पाउँथ्यौं,’ श्रीकान्तले भने, ‘हामी कमेन्ट पढेर सुनाउँथ्यौं, उहाँ मख्ख पर्नुहुन्थ्यो। हजुरबा त रहनुभएन, उहाँको कामलाई अब हामी अघि बढाउँछौं।’

लाखौं फ्यान

नारायणको पहिलो भिडियो दुई वर्षअघि अपलोड गरिएको थियो, शीर्षक थियो– King Of 2000 EGGS! उक्त भिडियो २५ लाखपटक भन्दा धेरै हेरिएको छ। अपलोड गरिएका २६० वटा भिडियोमध्ये धेरैले १० लाखभन्दा धेरै भ्यूज बटुलेका छन्। च्यानलले आफ्नो आम्दानी भने सार्वजनिक गरेको छैन।

उनको निधनपछि एक प्रशंसकले कमेन्टमा लेखेका छन्, ‘नारायण खाना बनाउँथे, सयौं गरीबहरूलाई बाँड्थे। उनको निस्वार्थ कर्मलाई मान्छेहरूले बिर्सिने छैनन्। उनको बैकुण्ठ बास होस्!’ उनको अन्तिम भिडियोमा एक लाखभन्दा धेरै कमेन्ट आएको छ। ‘उनी मानवताका उदाहरण थिए,’ अर्का एक प्रशंसकले कमेन्टमा भनेका छन्।

नाति श्रीकान्तका अनुसार नारायण फोक्सोको संक्रमणबाट ग्रसित थिए। उनको निधनबाट निराश बनेका एक प्रशंसक कमेन्टमा लेख्छन्, ‘युट्युबमा यो च्यानल भेटेदेखि म नारायणको फ्यान भएको हुँ। एउटा भिडियोमार्फत उनी अस्वस्थ छन् भन्ने थाहा पाउँदा निकै नरमाइलो लागेको थियो। म यो दिन नआओस् भन्ने चाहन्थें, नारायण साँच्चिकै करुणावान् मानिस थिए।’

समवेदना प्रकट गर्दा धेरैले उनकै शब्द सापट लिएका छन्, जसरी नारायण भन्ने गर्थे– लभिङ, केयरिङ, शेयरिङ!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.