|

सप्तरी : पूर्व-पश्चिम सडकअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका १ स्थित सडक खण्डमा विपरित दिशातर्फ जाँदै गरेका यात्रुबाहक बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २० जना यात्रु घाइते छन्।

घाइतेमध्ये दुई वर्षीय बालकसहित छ जना मध्यम स्तर र बाँकी १४ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। काँकडभिट्टाबाट भैरहवातर्फ आउँदै गरेको लु. १ ख ८२१४ नम्बरको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ८ ख ५९०३ नम्बरको ट्रक शुक्रबार राति करिब साढे १० बजेतिर आपसमा ठोक्किँएको हो।

बस र ट्रक आपसमा ठोक्किँदा घाइते भएका बस चालक स्याङ्जाको जगतदेव घर भई रुपन्देहीको बुटवल उपमहानगरपालिका बस्दै आएका ४० वर्षीय नोमोराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार गम्भीर घाइते रहेका न्यौपानेलाई तत्काल उद्धार गरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पुर्‍याइएको थियो।

उपचारको क्रममा शनिबार बिहान डेढ बजेतिर उनको मृत्यु भएको हो। प्रहरीले बस चालकको शव अस्पतालको शवगृहमा राखिएको र ट्रक चालकलाई जिल्ला प्रहरीको नियन्त्रणमा राखिएको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.