|

काठमाडौं : लमजुङ तिरकी एक चेलीले रैथाने भाका हालेर कुनै समय सुनाएको विरह वेदनामा आधारित गीत अब नेपथ्यले नयाँ भिडियोका साथ सार्वजनिक गरेको छ।

शिरमा रिबन सालको पछ्यौरी

हिराजस्तो झललल

सम्झिरहने त्यो मुहार

अब मैले बिर्सूं कसरी

ब्याण्डले पछिल्लो समय तयार पारेको यस गीतलाई पहिलोपटक भिडियोका साथ सार्वजनिक गरिएको हो। ‘मैले हुँर्कने बेलामै आमाबाट यो भाका सुनेको थिएँ’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘आमाले लमजुङ तिरको भाका भनेर गुनगुनाउनु भएको यसलाई पछि मैले पोखरामा पनि केही ठाउँमा सुनेको याद छ।’ धेरै वर्षपछि आफू लमजुङ पसगाउँ जाँदा त्यही भाकामा एउटी चेलीले गाउँदा भने त्यसले आफ्नो मर्ममै छोएको गुरुङ सुनाउँछन्। त्यो रात आमा समूहको सांगीतिक टोली लालटिन बोकेरै नाचगान देखाउन आइपुगेको थियो।

 ‘लोकगीतले डाँडा–काँडा, गाउँ-बेँसीको यात्रा गर्छ र त्यो यात्रासँगै आफूलाई फेर्दै पनि लैजान्छ’ भन्ने प्रचलित भनाइ नै छ। यसरी फेरिँदा आफूले उक्लेको डाँडा वा तरेका नदीहरूको स्वाद यसका भाकाहरूमा मिसिन्छन्। हो, त्यसरी नै मैले त्यो रात सुनेको यही गीतको भाकामा केही फेरबदल थियो’, गुरुङले थपे, ‘त्यसबाहेक गीतका शब्दहरू एक किशोरीको स्वरबाट भित्रैदेखि मन छुनेगरी निस्किरहेको थियो।’

पानी है पर्‍यो

कहाँ पर्‍यो त्यो बूँद

डाँडा काँडा सररर

रसायो म रुँदा

शिरमा रिबन सालको पछ्यौरी

ती किशोरीले भित्री हृदयबाटै गाएको देखेपछि उनका बारेमा गायक गुरुङले जिज्ञासा राखेछन्। भर्खर बिहे गरेकी ती किशोरी पतिको घरबाट निकालिएपछि माइती आएर बसिरहेको जानकारी दिइयो। ‘ती चेलीले कसरी त्यति मिठो गाइन भन्ने रहस्य मेरो अगाडि स्पष्ट भयो’, गुरुङ भन्छन्, ‘त्यसपछि मैले उनको भावनामै डुबेर गीतका शब्दलाई परिमार्जन गर्दै मुखडा बाहेकका अन्तराहरू तयार पारेको हुँ।’

समीको छेउ छेउ

पिपलु र वर पनि

वालखैमा धररर

बिग्रियो घर पनि

शिरमा रिबन सालको पछ्यौरी

यसरी गीत तयार भएको थियो।

नेपाली लोक गीतहरूमा थुप्रै आगन्तुक शब्दहरूको पहिलेदेखि प्रयोग हुँदैआएको छ। गण्डकी क्षेत्रमा त्यसको श्रेय सबैभन्दा धेरै लाहुरेहरूलाई जान्छ। ‘यो गीतमा पनि त्यो प्रभाव आएको छ’, गायक गुरुङ थप्छन्, ‘अंग्रेजीमा पछ्यौरीलाई ‘शल’ भनिन्छ जसलाई अग्रजहरूले टिपेकै हिसाबले यसमा ‘सालको पछ्यौरी’ प्रयोग हुन पुगेको हो।’

गीतको यही ‘मुखडा’ र यस्तै भाका लमजुङ, कास्की, स्याङजा र गुरुङ बसोबासका अन्य क्षेत्रतिर अत्यधिक प्रचलनमा रहेको उनले जानकारी दिए। ब्याण्डले कालिकास्थानको नेपालयस्थित आर शालामा यो गीत रेकर्ड गरेको हो।

परम्परागत ‘वन टेक’ मै रेकर्ड गर्दाको स्टुडियोकै लाइभ भिडियो फुटेजलाई जोडेर यसलाई श्रब्यदृश्य दुवैको आनन्द लिन सकिने हिसाबले तयार पारिएको हो।

हिजो आज सांगीतिक एल्बमको प्रचलनले अर्थ गुमाउँदै गएको अवस्थामा नेपालयले यसका प्रत्येक सिर्जनाहरू आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’ हरूका माध्यमबाट सार्वजनिक गर्दै आएको छ। त्यसबाहेक ब्याण्ड र उसका स्रोतालाई नजिक्याउन युट्युब पनि एक प्रभावकारी माध्यम बन्दै गएको छ।

नेपथ्यले उसका जे जति गीतहरू आफ्नो आधिकारिक युट्युब च्यानलमा राखेको छ। ती सबैलाई स्रोता-दर्शकले अत्यधिक मन पराएको पाइएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.