मृतक १७ मध्ये ५ को सनाखत

|

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटेस्थित सुनकोसी नदीमा आइतबार यात्रुवाहक बस दुर्घटना भयो। दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको शैलुङ्गेस्वरी यातायातको बा२ख ७२४५ को सुनकोसी नदीमा खस्यो।

दुर्घटनामा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। करिब ५० जनाका काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लले जानकारी दिए। घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको उनको भनाइ छ।

कालोपत्रे सडक भए पनि अध्याधिक तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोक्नाले बस दुर्घटना भएको प्रहरीले अनुमान लगाएको छ। ‘ठूलो दुर्घटना भएकाले हामी दुर्घटना भएदेखि कसरी उद्धार गर्ने भन्नेमै केन्द्रित भयौँ। त्यसैले दुर्घटनाको यकिन कारण भने पत्ता लगाउँन सकेका छौनोँ’ डिएसपी काफ्लेले थाहाखबरसँगको कुराकानीमा भने, ‘दोलखाबाट काठमाडौं हिँडको बस भएको हुनाले अहिलेसम्म सबै मृतकको सनाखतसमेत हुन सकेको छैन।’

मृतकमध्ये ५ जनाको सनाखत भएको डिएसपी काफ्लेले जनाए। उनका अनुसार सनाखत भएकाहरूमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका ४ सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ३ की ५१ वर्षीया रत्नकुमारी राउत, सोही स्थानका ३ वर्षीय सिसन तामाङ रहेका छन्।

बलेफीस्थित राज भण्डारी भोजनालयबाट खाना खाएर काठमाडौंको लागि सो बस छुटेको होटल सञ्चालक निलमराज राजभण्डारी बताउँछन्। दुर्घटना हुँदा बस नदीमा पूरै डुबेको उनी बताउँछन्। बस चालक धनबहादुर तामाङको सकुशल उद्धार गरिएको छ। उनको खाडीचौर अस्पतालमा उपचार सम्भव नभएपछि धुलिखेल रिफर गरिएको प्रहरीले जनाएको छ।

बस सडकबाट खस्नेसाथ आफूले उद्धारका लागि हिँडेको र्‍याफ्टिङ चालक सोनाम तामाङ बताउँछन्। उनले आफ्नै आँखा अगाडिबाट बस नदीमा खसेको बताए। ‘बस खस्नेसाथ र्‍याफ्टिङ बोट निकालेर आफूसहित चारजना घटनास्थल पुग्यौँ। १० जना जतिको मृत्यु भइसकेको थियो। नदीमा यात्रु बगिरहेका थिए’ उनले भने, ‘पहिले गाडीको छतमा रहेकाहरूलाई उद्दार गरेको र अन्यलाई पनि विस्तारै उद्धार गरेको हौँ। आफू तत्काल उद्धारमा जुटेकाले धेरैको ज्यान जोगाउन सफल भयौँ।’

नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिए पनि बसभित्र कोही नभेटिएको प्रहरीको भनाइ छ। यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान छ। केही शव खोलाले बगाएको समेत छ। बस सडकबाट ३५ मिटर तल खसेर सुनकोसी नदीमा पुगेको थियो। यात्रुलाई नदीले बगाएको हुनसक्ने भएकाले सुनकोसी नदीमा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.