|

विराटनगर : लोप हुँदै गएको कुस्ती खेलको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले विराटनगर १८ बुधनगरमा तीन दिनसम्म सञ्चालन गरिएको कुस्ती प्रतियोगितामा उपस्थित हजारौं दर्शकले भरपुर मनोरञ्जन लिए। उक्त खेल हेर्न बालबालिका, युवादेखि बृद्धासम्मको क्रेज उल्लेखनीय देखिएको थियो।

विराटनगरको फडानी चौकको खेलमैदानमा आयोजना गरिएको कुस्ती प्रतियोगितामा भारत र नेपालका पहलवानहरूको उपस्थिति रहेको थियो। कुस्ती खेललाई संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारतका ४० र नेपालका २५ जना पहलमानहरूको उपस्थिति रहेको थियो।

 

स्थानीय युवा सम्मिलित दिपावली तथा छठ पूजा समितिले आयोजना गरेको प्रतियोगितामा पहलमानहरूले आफ्नो कलाकौशल र शक्ति प्रदर्शन गरेका छन्। यस स्थानमा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा हजारौं दर्शकले सहभागिता जनाएका थिए।

प्रतियोगितामा भारतको दिल्ली, जयपुर, पञ्जाब, लखनउ, बनारस र बिहारका ४० जनासहित नेपालका विभिन्न जिल्लाका २५ जना पहलमानहरू सहभागी भएका छन्। कुस्तीलाई संरक्षण गर्ने उद्देश्यस्वरुप यस पटकदेखि कुस्ती प्रतियोगिता आयोजना गर्न सुरू गरिएको आयोजक समितिका अध्यक्ष रविन्द्रकुमार दास तत्माले जानकारी दिए।

खेलाडीको शारीरिक बिकाससँगै नेपाल र भारतका खेलाडीबीचको आपसी सम्बन्ध विस्तार गर्ने मुख्य उद्देश्यका साथ आयोजित कुस्ती प्रतियोगितामा ७५ केजीदेखि ११० केजीसम्मका पहलमानको उपस्थिति रहेको अध्यक्ष दासले बताए। मौलिक परम्परा अनुसार आयोजना गरिएको कुस्ती खेलका सहभागीलाई हौस्याउन परम्परागत रुपमा ढोल बजाएर उत्साहित गरिएको थियो।

नवलपरासीका पहलमान बसन्त थापा र भारतका प्रतिस्पर्धीबीच भएको कुस्ती प्रदर्शनले दर्शकलाई रोमाञ्चक बनायो। तीन दशक अघिसम्म मोरङ, सुनसरी, सिरहा, सप्तरी र धनुषा लगायत मिथिलाञ्चलका विभिन्न क्षेत्रहरूमा उल्लेख्य संख्याका पहलमानहरू थिए। तर, पछिल्लो समय मनोरंजनका आधुनिक साधनहरूको बिकास भएपछि कुस्ती प्रतियोगिताको आयोजना शुन्य प्रायः भएपछि यो खेलबाट अधिकांश खेलाडीहरू पलायन भएका छन्। 

सीमा क्षेत्र नजिकै आयोजना गरिएको प्रतियोगिता हेर्न विराटनगरसहित आसपासका गाउँपालिका र भारतीय सिमावर्ती क्षेत्रका  दर्शक विराटनगर १८ को फँडानी मैदान पुगेका थिए। भारतबाट आएका पहलमानहरू समेत कुस्ती हेर्न उर्लिएको जनसागर देखेपछि हौसिएका देखिन्थे।

कुस्ती खेललाई प्रबर्द्धन गर्न सकिए लागुऔषधको दुर्व्यसनमा फस्दै गएका युवालाई समेत सुधार्न सकिने भारतका राजस्थानका पहलमान बादल सिंहले बताए।

कुस्ती खेलमा सहभागी नवलपरासीका पहलमान बसन्त थापाले कुस्ती सांस्कृतिक र पारम्परिक खेल हुनुका साथै स्वास्थ्यसँग समेत प्रत्यक्ष गाँसिएकाले यसको संरक्षण गरिनुपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.