|

कपिलवस्तु : कपिलबस्तुको बाणगंगा नगरपालिका र चीनको छिचौं नगरपालिकाबीच आइतबार विशेष समारोहका बीच भगिनी सम्बन्ध स्थापित भएको छ।

वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु र छिचौं नगर जनसरकारका उपप्रमुख फु चिन क्वाङले समझदारी पत्रमा हस्ताक्षर गरेपछि दुई नगरबीच भगिनी सम्बन्ध औपचारिक रुपमा स्थापित भएको हो।

हस्ताक्षर भएको समझदारी पत्रमा समता र पारस्परिक हितका लागि दुवै पक्षले सहकार्य गर्ने, दुवै पक्षबीच शिक्षा, स्वास्थ्य, व्यापार, विज्ञान प्रविधि, पर्यटन र आधुनिक कृषिको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, दुवै पक्षका सरोकारका विषयलाई नियमित सम्पर्क समन्वयमार्फत सहकार्य बढाउने, दुवै नगरले भगिनी शहरको सम्बन्धलाई स्थापित गर्न पर्याप्त भूमिका खेल्ने लगायतका छन्।

विगत तीन वर्षदेखि वाणगंगाले छिचौंसँग भगिनी सम्बन्धका लागि पहल गर्दै आए पनि आज आएर यसले औपचारिकता पाएको हो। शनिबार चीनको छिचौंबाट भगिनी सम्बन्धका लागि नगर जनसरकारका उप प्रमुख क्वाङ, महासचिव उ किङ्ग्वा सहितको ५ सदस्यीय टोली वाणगंगा आएको थियो।

भगिनी सम्बन्धका लागि समझदारी पत्रमा हस्ताक्षर पछि बोल्दै वाणगंगा नगरपालिकाका नगर प्रमुख थारुले छिमेकी मित्र राष्ट्र चीनको छिचौं नगरपालिकासँग भएको सम्झौता ऐतिहासिक भएको बताए। यसले दुई नगरबीच मित्रता बढ्ने विश्वास गर्दै यो सम्झौतालाई दिगो बनाउनुपर्नेमा उनले जोड दिए।

वाणगंगाको शिक्षा, स्वास्थ्य र भौतिक विकासमा भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने पनि उनले विश्वास व्यक्त गरे। छिचौं नगर जनसरकारका उप प्रमुख क्वाङले बाणगंगा नगरसित भएको सम्झौताले दुरगामी महत्व राख्ने बताए।

नेपाल असल मित्र भएको भन्दै अक्टुवरमा आफ्ना देशका राष्ट्रपतिको नेपाल भ्रमणले झन मित्रता प्रगाढ बनाएको क्वाङले बताए। छिचौं र वाणगंगाका कला, संस्कृतीको आदानप्रदान गरी भगिनी सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने उनले प्रतिवद्धता जनाएका छन्।

बुद्धको भूमि कपिलवस्तु आउन पाउँदा खुसी लागेको भन्दै लुम्बिनीलाई माया गरे जत्तिकै वाणगंगाबासीले छिचौंलाई पनि माया गर्नेमा आफु आशाबादी रहेको क्वाङ बताउछन्। 

नगर भित्रका ऐतिहासिक तथा धार्मिक स्थलहरूमा आफुले गरेको भ्रमणमा नगरवासीको न्यायो माया र सत्कार पाएको छिचौं नगर जनसरकारका उप प्रमुख क्वाङले बताए। हस्ताक्षर कार्यक्रममा विभिन्न जातजातीका झाँकी तथा नृत्य देखाइएको थियो भने वाणगंगा नगरपालिका र छिचौं नगरपालिकाको भिडियो डकुमेन्ट्री पनि प्रस्तुत गरिएको थियो।

वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणि अर्यालले छिचौंका नगर उपप्रमुख क्वाङ, महासचिव किङ्ग्वा लगायतलाई नेपाली ढाका टोपी लगाई दिएका थिए। कार्यक्रम नगरपालिकाका बैदेशिक समन्वय समितीका संयोजक गुणनिधि भुसालको सहजीकरण र नगर भित्रका विभिन्न स्थलको भ्रमण कार्यक्रम सम्पन्न भएको थियो। 

यसैगरी समझदारी पत्रमा हस्ताक्षर गर्नु पूर्व वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारु, उपप्रमुख अर्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, बैदेशिक समन्वय समितिका संयोजक गुणनिधि भुसाल, वडाध्यक्षहरूको उपस्थितिमा भेटवार्ता भएको थियो। यसैबीच छिचौं प्रान्तका उप प्रमुख क्वाङ, महासचिव उ किङ्ग्वा लगायतले टोलीलाई विहान पर्यटकीयस्थल घुमाइएको थियो।

नगरपालिकाका नन्दनगर कैलाश आश्रम गुरुकूल, कपिलधाम, लक्ष्मणघाट, कपिलवस्तु नगरपालिकाको जगदीशपुर ताल र तिलौराकोटमा चिनिया टोलीलाई घुमाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.