|

दमक (झापा) : फेन्स क्लब ‘बीआसी’ पूर्वी नेपालको फुटबल जगतमा स्थापित क्लब हो। प्रदेशस्तरमा हुने महत्वपूर्ण फुटबल प्रतियोगीताहरूमा यसले आफूलाई अब्बल स्थापित गरेको छ। तर, यस क्लबको फरक विशेषता छ, यो नेपालमा रहेको फुटबल क्लब भए पनि नेपालीहरूको चाहिँ होइन। झापा र मोरङमा रहेका भुटानी शरणार्थीहरूले स्थापित गरेको क्लब हो। धेरैजसो खेलाडी पनि शरणार्थी नै छन्। 

शरणार्थी शिविर हाल झापाको दमक र मोरङको पथरी शनिश्चरेमा छन्। तर, एक दशकअघि झापाको दमकका साथै टिमाई, खुदुनाबारी, गोलधाप अनि पथरी शनिश्चरेमा शिविर थिए। शरणार्थीहरूको तेस्रो देश पुनर्स्थापनापछि अरू शिविर रित्ता भए, बाँकी रहेकाहरू दमकको बेलडाँगीमा ल्याइए। अहिले फेन्स क्लब पनि बेलडाँगी केन्द्रित भएको छ। तर, यसको स्थापना भने तत्कालीन टिमाई शिविरमा भएको हो।

हाल बेलडाँगी-२ मा रहेका ४१ वर्षीय युवराज राईलाई कण्ठै छ मिति, १० अक्टोबर २०१० मा क्लब स्थापना भएको हो। उनी त्यसबेला टिमाई खोलाकै बगरमा थिए। त्यही वर्ष उनी शिविर सचिवसमेत भए। त्यसपछि उनको जिम्मेवारी क्लबमा मात्र सीमित रहेन। शिविरकै अगुवाइ गर्नुपर्‍यो। त्यसैले उनी खेल्नेभन्दा व्यवस्थापकीय पक्षमा लागे र नयाँ खेलाडीहरूलाई गोलबद्ध गराउँदै आए। शिविरको संख्या घटाइएसँगै सन् २०१२ मा उनी बेलडाँगी आए। अनि उनी मियो बने क्लबको, नयाँ पुस्तालाई आफ्नै वरिपरि राखेर खेल क्षेत्रमा क्रियाशील गराए। यो क्रम अझै जारी छ।

क्लबको क्रियाशीलता 

भुटानी शरणार्थीहरूको क्लब भएर पनि यसले आफूलाई शरणार्थी परिवेशमा सीमित राखेको छैन। एक नम्बर प्रदेशका विभिन्न ठाउँमा हुने प्रतियोगितामा यस क्लबका खेलाडीहरूले आफ्नो क्षमता देखाएका छन्। क्लबका अध्यक्ष युवराज भन्छन्–‘हामीले धनकुटामा हुने पूर्वकै चर्चित भीमनारायण गोल्डकप सन् २०१५ र २०१६ मा जित्यौं तर अरू धेरै प्रतियोगितामा फाइनलमा पुगेर रनरअपमा सीमित पनि हुनुपरेको छ।’ उनका अनुसार फाल्गुन्द गोल्डकप, दमक गोल्डकप, काँकडभिट्टा गोल्डकप, मदन भण्डारी गोल्डकप जस्ता चर्चित प्रतियोगिताहरूमा कहिले सेमिफाइनलबाट बाहिरिनुपरेको छ भने कहिले उपविजेतामा सीमित हुनुपरेको छ।

पुराना खेलाडीहरू सधैं टिकिनराख्ने र नयाँ खेलाडीहरूलाई सिकाउँदै प्रतियोगितामा भाग लिनुपर्दा उपाधिनजिक पुगेर पनि ‘ब्याक’ हुनु पर्दा उनी पटक–पटक चुकचुकाएका छन्।

रित्तो शिविर, खिन्न मन

नेपालमा रहेका भुटानी शरणार्थीहरूको तेस्रो देश पुनर्स्थापनाको प्रक्रियापछि १ लाखभन्दा बढीले शिविर छोडे। शिविर छोड्नेहरूकै ताँतीमा मिसिए आशालाग्दा खेलाडीहरू पनि। आफ्ना दौतरी, फुटबलका सम्भावना, आशा लाग्दा नयाँ पुस्ता र होष्टेमा हैँसे गर्ने सहकर्मीहरू अमेरिका, अष्ट्रेलिया, क्यानाडा, बेलायत लगायतका मुलुक पुगेपछि शिविरमा रहेका खेलाडीहरू खिन्न छन्।

हाल क्लबको कप्तानी सम्हालिरहेका २१ वर्षीय अभिषेक राई भन्छन्–‘सिनियर दाइहरू हुँदा राम्रोसँग गेम सिक्न पनि पाइन्थ्यो, टुर्नामेन्टहरू पनि जितिरहिन्थ्यो, अचेल त हामी नयाँ नयाँ केटाहरू मात्र खेल्नुपर्छ।’ अनुभवी र तालिम प्राप्त खेलाडीहरू नभएपछि नयाँ खेलाडीलाई सिकाएर प्रतियोगितामा पठाउने गरेको युवराज बताउँछन्। सन्जित रामदाम, विशाल गुरुङ्, बुद्धवीर लिम्बू जस्ता दर्विला खेलाडीहरु अहिले टीममा छैनन्।

केही उमेरका कारण रिटायर्ड भए, केहि तेस्रो मुलुक पुगेपछि टिम सम्हालिन निकै गाह्रो भएको उनको अनुभव छ। धेरै खेलाडीहरू तेस्रो मुलुक पुगिसकेकाले टिम बचाउन पनि कठिन भएको उनी बताउँछन्।

राष्ट्रिय खेलाडीहरूको आकर्षण

शरणार्थी शिविरको क्लब र शरणार्थी युवाहरूले अगुवाइ गरेको भए पनि यस क्लबप्रति नेपालका राष्ट्रिय खेलाडीहरूको पनि आकर्षण उच्च पाइन्छ। नेपालका चर्चित फुटबलर युगलकिशोर राईको योगदान त कहिल्यै नभुल्ने  क्याप्टेन अभिशेष बताउँछन्। सन् २०१५ मा उनकै कप्तानीमा खेलेको बीआरसीले भीमनारायण गोल्डकपको उपाधि चुमेको थियो भने त्यसको २ वर्षपछि युगलकिशोरले कोच बनेर पनि उपाधि चुमाउन सफल भए।

युगलकिशोरलेनै २ महिनासम्म तालिम दिएकाले टिम अहिलेसम्म टिकेको उनी बताउँछन्। युगल किशोरसँगै दिनेश कार्की, बुद्ध लामा, सुजल श्रेष्ठ, वर्तमान राई, विशाल राई, रुपेश केसी, तेज तामाङ् जस्ता नेपालका लोकप्रिय खेलाडीहरूले समेत बेलाबेला यही टिमबाट खेलको क्लबका अध्यक्ष युवराजले बताए। यी राष्ट्रिय खेलाडीहरूबाहेक स्थानीय नेपाली खेलाडीहरूसमेत यस क्लबको टिममा अटाउने गरेका छन्।

स्थानीय नेपाली र शरणार्थी युवाहरूबीच टिम बनाएर खेल्दा दुवै समाजबीच सद्भावसमेत वृद्धि भएको खेलाडीहरूको अनुभव छ। तर, कतिपय फुटबल आयोजकहरूले भने शरणार्थीको टिम भन्दै ‘इन्ट्री’ नै लिन नमान्दा भने पटकपटक मन  भाँचिएको युवराजले सुनाए। 
उनले भने–‘हुन त यो क्लब शरणार्थीहरूकै हो, तर यो क्लबले शरणार्थी र नेपाली समाजलाई जोड्ने काम पनि गरेको छ। यति हुँदाहुँदै कुनै कुनै आयोजकले तपाईंहरू त भुटानी हुनुहुँदो रहेछ खेलाउन मिल्दैन भन्छन्, त्यसबेला साह्रै नमिठो लागेर आउँछ।’

मैदानमा चिउरा–भुजियाको भर

खेलाडीहरूको तेस्रो मुलक छनोट पछिको संकट नयाँ खेलाडी उत्पादन गरेर टारी रहे पनि अहिले क्लब टिकाउने अर्को चुनौती छ आर्थिक संकट। कार्यालयसम्म राख्न आर्थिक समस्या भएकाले अध्यक्ष युवराजलेनै आफ्नै छाप्रोको एउटा कोठा कार्यालय बनाएका छन्। कोठाभरि सजाइएका छन्, क्लबले जितेका पदक र ट्रफी। खेलाडीहरू पनि छलफलका लागि यहिँ भेला हुन्छन्।

बिआरसीको कार्यालयलेनै युवराजको छाप्रो भएको छ। कार्यालयको भर त यसरी टर्‍यो । तर, खेलाडीहरू प्रतिष्पर्धामा लिएर जानु कसरी? ‘टुर्नामेन्टबाट निम्तो आउँछ, नजाऊँ पनि कसरी खेल्नकै लागि क्लब बनाइएको छ’ युवराजले धर्मसंकट सुनाए–‘जानुपर्दा खेलाडी, अफिसियल गरी ३० जना जति त होइन्छ, खेल कति दिन खेल्नुपर्ने हो टुंगो हुँदैन, त्यतिन्जेल कसरी टिक्नु कम्ता आपत् पर्दैन।’ तेस्रो मुलुक पुगेका केही सहयोगीहरूले बेलाबेला सहयोग पठाउँछन् र क्लब टिकेको छ।

अमेरीकामा हुने हिमालयन फेष्टिबलबाट केही सहयोग आउने गरेको छ। यस्तै राजन गिरी, जितु बस्नेत (काका) लगायतले टाढैबाट भए पनि टेको लगाइदिन्छन्। अनि त क्लब टिकेको छ। प्रतियोगितामा जाँदा र तयारी गर्दासमेत खेलाडीले नियमित आहारामा खेल्नुपर्छ। क्लबका खेलाडी दावा तामाङले भने,‘गेम छ भनेर अरू छुट्टै त केहीँ खाइँदैन, आयोजकले दिने भनेको प्राय चना चिउरा हो। कहिले त्यही पनि पाइँदैन । उही चिउरा–भुजिया खाइन्छ, खेलिन्छ।’

रोकियो रिफ्युजी च्यालेन्स कप

भुटानी शरणार्थी शिविरभित्रैबाट नियमितरूपमा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रिफ्युजी च्यालेन्ज कप सुरु गरिएको थियो। यस प्रतियोगितामा भाग लिने खेलाडीहरू बेलैदेखि तयारीमा लाग्थे। शिविरमा फुटबलप्रतिको ‘क्रेज’ पनि राम्रो थियो। सन् २०१३ मा रिफ्युजी च्यालेन्ज कप सुरु गर्दा यसलाई वर्षेनी निरन्तरता दिने लक्ष्य पनि थियो।

विभिन्न क्षेत्रबाट सहयोग जुटाएर सन् २०१४ र २०१५ मा पनि खेल भयो। त्यसपछि सुरु भयो संकट। एक त खेलाडीहरू पनि कम हुनु र आयोजकलाई पनि पनि आर्थिक संकट बढ्दै जानुले सन् २०१६ मा खेल हुन सकेन। एक वर्ष धकेलिएर सन् २०१७ मा जसोतसो प्रतियोगिता भयो। ‘कहाँ सकियो र गेम टिकाउन’ युवराजले समस्या सुनाए–‘एउटा सालको गेममा नभएको पनि २० लाख लाग्छ, स्रोत केही छैन। सबै मागेर चलाउनुपर्ने हो, अनि कसरी गर्न सक्नु त गेम।’ शिविर रित्तिदै जाँदको प्रभावले यहाँको फुटबल क्षेत्रलाई पनि नराम्रोसँग गाँजेको छ।

हुर्किंदै गएका समस्याहरूकै कारण क्लबको कमजोरी मैदानमा समेत देखिन थालेको युवराज स्विकार्छन्। त्यसैले पुन: एकपटक नयाँ खेलाडीहरूलाई तालिम सञ्चालन गर्ने तयारीमा लागेको उनले बताए।

फुटबल एकेडेमीको लक्ष्य

क्लबको लक्ष्य भनेको शिविरमै फुटबल एकेडेमी सञ्चालन गर्ने हो। तर न अहिलेसम्म उनीहरूले व्यवस्थित मैदानमा खेल्न पाएका छन्, न पोषिलो आहार। तालिम पनि नियमित हुँदैन। नियमित तालिमका लागि खर्च लाग्छ, स्रोत छैन। यिनै समस्याका कारण शिविरमा गठन भएका कतिपय फुटबल क्लब र टिमहरू समयसँगै बिलाए। वीआरसीले चाँहि आफूलाई टिकाएको छ।

‘मैले सुरुमा क्लब खोल्दा खासमा केटाहरूलाई कुलतबाट जोगाउने, अनुशासित बनाउने अनि टिम भयो भने खेल्ने र खेलाउने योजना थियो’ टिमाई बगरमा झण्डै २ दशकअघि देखेको सपना युवराजले बेलडाँगीको छाप्रोमा पोखे–‘त्यसबेला यतिको होलाजस्तो पनि सोचेको थिइनँ तर गर्दै भन्दै लाँदा यतिको भयो, अहिले केही समस्या छन् तर समस्या छन् भन्दैमा क्लब नै मर्न चाँहि म दिनेछैन, सास रहेसम्म टिकाउने हिम्मत मरेको छैन।’ शरणार्थीहरुलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगको रेखदेखमा राखिएको थियो।

उसैको समन्वयमा विभिन्न दातृ संस्थाहरूले मानवीय सहायता उपलब्‍ध गराउँदै आएका थिए। तर, ती सबै सहायताहरू कटौती भइसकेका छन्। त्यसैले खान–लाउनै सहयोग गर्न छोडेको दातृनिकायहरूबाट फुटबल क्षेत्रको विकासका लागि कुनै सहयोगको आशा गर्नु नै छैन। अहिले उनीहरू स्थानीय सरकारको संरक्षणमा छन्। स्थानीय सरकारले स्थानीयवासीकै माग सम्बोधन गर्न सकिरहेका छैनन्।

त्यसैले शरणार्थीका लागि छुट्टै केही गरिहाल्छन् भन्ने पनि शरणार्थी युवाहरूलाई लागेको छैन। ‘हाम्रो ड्रिम भनेको यहाँ फुटबल एकेडेमी सञ्चालन गर्ने हो, सपना त देख्न पाइयो नि’ युवराजले आफ्नो लक्ष्यको माया मारिसकेका छैनन्, ‘नेपाल सरकार वा स्थानीय सरकारले सहयोग गरेर हामी र लोकलका लागि हुनेगरी बनाइदिए पनि हुने हो, तर हामीले माग पत्र पेश गर्ने, धर्ना दिने काम गर्न सुहाएन। तर हेरौं, एक दिन अवश्य यहाँ फुटबल एकेडेमी सञ्चालन हुनेछ भन्ने आशा चाँहि यो दिल भित्र जागै छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.