|

डडेल्धुरा : देशमा रोजगारीको व्यवस्था छैन भन्दै रोजगारका लागि हरेक दिन हजारौँका संख्यामा युवाहरु विदेश गइरहेका बेला डडेल्धुराका एक युवाले भने च्याउ खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी गरिरहेका छन्।

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ का २९ वर्षीय खेमराज जोशी आफ्नै गाउँमा बसेर च्याउ खेती गरी मनग्य आम्दानी गरी रहेका हुन्। विदेश जाने योजनालाई थाँती राखी ३ रोपनी जग्गा भाडामा लिएर च्याउ खेती गरिरहेका छन् खेमराज। 

च्याउ खेतीबाट मनग्य आमदानी गरेर समाजमै उदाहरणीय काम गरि सबै युवाहरुका लागि प्रेरणाका पात्र बनेका छन् जोशी। उनी देशमा रोजगारी नपाएपछि विदेश जानका लागि काठमाडौँ गए। त्यहाँ कोरियन भाषा पढेर कोरियाका लागि प्रयास गरे उनले। 

काठमाडौँमा रहँदा विदेश जानुभन्दा अगाडि विभिन्न फर्महरुको अवलोकन गर्दा च्याउ खेती गरेको देख्दा आफूलाई पनि आफ्नै ठाउँमा च्याउ खेति गरौँ जस्तो उनको मनमा लाग्यो। त्यसपछि विदेश नगएरै आफ्नै ठाउँमा च्याउ खेतीमा लागे खेमराज।

खेमराजले च्याउ खेती गरेको ३ वर्षभयो। अहिले उनि अमरगढी नगरपालिका–२ मौरडामा ३ रोपनी जमिन भाडामा लिएर च्याउ खेती गरिरहेका छन्। ‘अहिले ३ रोपनी जमिन भाडामा लिएरको छु । अझ २÷३ रोपनि जग्गा भाडामा लिएर च्याउ खेती गर्ने योजना छ।’ उनले सुनाए।

२ जनालाई रोजगार

जोशीले २ जनालाई रोजगारी समेत दिएका छन्। ‘च्याउखेतीबाट खर्च कटाएर वार्षिक ६ देखि ७ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ,’ उनले भने, ‘विदेशमा लगानी गर्ने श्रमले स्वदेशमै दोब्बर आम्दानी हुने रहेछ। अहिले प्रतिकिलो २ सयका दरले च्याउ बिक्रि गरिरहेको छु।’

उनले च्याउ खेतीका लागि ३ वटा टहरा बनाएका छन्। ‘सुरुमा परिवारमा च्याउ खेतीको बारेमा कसैलाई थाहा नभएका कारण पैसा डुबाउने होकि भन्ने चिन्ता परिवारमा थियो।’ उनले भने,‘विस्तारै आम्दानी राम्रै हुन थाल्यो।’ अहिले घरपरिबारको पनि साथ राम्रै मिलिरहेको उनको भनाइ छ।

अहिले प्रत्येक स्थानीय तहमा जनप्रतिनिधि आएका छन्। सरकारले युवाहरुलाई स्वदेशमै रोक्ने भन्दै विभिन्न कार्यक्रम संचालन गरेको छ तर जोशीलाई कसैले पनि सहयोग नगरेपछि उनलै आफ्नै लगानीमा च्याउखेती संचालन गरका हुन्। 

विभिन्न स्थानीय तहले च्याउमा आत्मनिर्भर बन्नका लागि काम गरिरहेको देखावटी जस्तो मात्र गरेको भन्दै उनले आफूजस्ता देशमै केहि गरिरहेका युवामा लगानी गर्न आग्रह गरे।

स्थानीय सरकारले च्याउखेती भन्दा पनि भैँसी पालन, बाख्रा पालन, कुखुरा पालनमा लगानी गरिरहेको तर च्याउ खेतीमा शिर्षक नै नभएको तर प्रदेशले भने च्याउमा आत्मनिर्भर बनाउनका लागि लागिपरेको उनको भनाइ छ। 

‘च्याउ खेतीमा बजार व्यवस्थापन गर्ने निकै चुनौति रहेका छ। सम्बन्धित निकायले यसको लागि बेवस्था गरिदिए हुन्थ्यो।’ उनले भने,‘यहाँका मानिसले अहिले मासुभन्दा च्याउ बढी खोज्ने गरेका छन्।’ च्याउ खेतीका लागि सबै सामग्री आफैं तयार पार्ने गरेको उनले बताए।

बिउ उत्पादन

सुदूरपश्चिममा च्याउको बिउ नपाइने भएकाले यहाँका अधिकाशं च्याउ खेती गर्ने किसानहरु काठमाडौँबाट बिउ ल्याएर आउने गरेका छन्।  बिउ ल्याउन निकै समस्या हुन थालेपछि बिउ उत्पादन पनि उनले सुरु गरेका छन्। भदौदेखि बिउ उत्पादन सुरु गरेको उनले बताए।

‘च्याउमा प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेशले ४ लाखको कार्यक्रम ल्याएको थियो।’ उनले भने, ‘त्यो कार्यक्रम आफुले पाए। त्यसैबाट बिउ उत्पादनका समाग्री किनेर ल्याब संचालनमा ल्याएको छु।’

विदेशमा पैसा फल्छ भनेर लाखौँ युवाहरुको भारतलगायतका खाडि मुलुकमा जाने होडबाजी चलिरहेको छ। अर्कोको देशमा रगत,पसिना बगाउनुभन्दा आफ्नै देशमा रगत, पसिना बगाउन सके राम्रै आम्दानी गर्ने सकिने उनको ठम्याइ छ।

‘हामीहरूले विदेशिनु पर्ने खासै त्यस्तो अवस्था छैन्।’ उनले भने, ‘विदेश जानका लागि म्यानपावर कम्पनीलाई बुझाउने २÷३ लाख रुपैयाँ हामीहरुले आफ्नै देशमा लगाउने हो। व्यवसाय सुरु गर्ने हो भने त्यहाँ गएर कमाउने पैसा यहाँ घर परिवारसगँ बसेर कमाउन सकिन्छ।’ 

आफूजस्ता लाखौँ युवाहरू विदेशमा गइरहेकाले सरकारले तिनीहरूलाई आफ्नै देशमा रोक्ने वतावरण पनाउनुपर्ने उनको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.