|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गर्दै छ। विश्व क्रिकेटको ऐतिहासिक पहिचान बोकेको मेरिलेबोन
क्रिकेट क्लब (एमसीसी) विरुद्ध त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजबाट तीनदिवसीय खेलको सुरुवात रातो बल र सेतो ड्रेसले गर्दै छ।

जुन नेपाली खेलाडीका लागि नौलो अनुभव हो। प्रथम श्रेणीको क्रिकेट मुख्यत तीन वा चारदिवसीय हुनेछ। यसलाई मिनी टेस्टका रुपमा लिने गरिन्छ। नेपालसहितका एसोसिएट राष्ट्रका लागि यो पाँचदिवसीय टेस्ट क्रिकेट बराबरनै मान्ने गरिन्छ।

विश्व क्रिकेटका पूर्ण राष्ट्रको घरेलु क्रिकेटको बहुदिवसीय खेललाई प्रथम श्रेणीको मान्यता हुन्छ। त्यसैले यसलाई प्रथम श्रेणीको क्रिकेटका रुपमा समेत चिनिन्छ। विश्व क्रिकेटको नियामक  निकायमध्येको एक एमसीसीको पहलमा नेपालले प्रथम श्रेणीको क्रिकेट खेल्न लागेको हो। घरेलु क्रिकेटमा नेपालले सन् २००९ मा पछिल्लो पटक तीनदिवसीय क्रिकेट खेलेको थियो।

त्यसलाई प्रथम श्रेणीको मान्यता थिएन। तत्कालीन समयमा पनि नेपालले एमसीसी विरुद्धनै खेलेको थियो। एमसीसीले २००३ यता हरेक ६ वर्षमा नेपाल भ्रमणमा आएर विभिन्न संरचनाको खेल खेल्दै आएको छ। त्यसमा २००९ मा तीनदिवसीय खेल खेलेको थियो। एमसिसीले दुई साता लामो यसपालिको भ्रमणमा नेपाल यू–१९ र राष्ट्रिय टोलीबाट आइतबार र सोमबार गरी दुई एकदिवसीय खेल खेलिसकेको छ।

कप्तानको नयाँ भुमिकामा रहेका ज्ञानेन्द्र मल्लले एमसीसीसँग १० वर्षअघिको तीनदिवसीय खेलमा १ सय ४१ रन बनाएका थिए । तर उक्त खेल प्रथम श्रेणीको मान्यता प्राप्त थिएन्। क्रिकेटमा राष्ट्रिय टिमबाट खेल्न थालेको १४ वर्षपछि ज्ञानेन्द्रले प्रथम श्रेणीमा डेब्यु गर्न लागेका छन्। प्रथम श्रेणीदेखि टेस्ट क्रिकेट सादा सेतो ड्रेसमा खेलिँदै आएको थियो।

पछिल्लो समय सेतो ड्रेस भए पनि टेस्ट क्रिकेटमा खेलाडीको नम्बर राखेर खेल्ने चलन सुरु भएको छ। हरेक ६ वर्षमा नेपाल आइरहेको एमसिसीले एमसीसी
फाउन्डेसनको सहयोगमा आगामी ३ वर्ष लगातार नेपाल भ्रमण गर्ने कार्यक्रम रहेकोछ।

एमसीसीले यसपालि पोखरामा पनि दुई खेल खेल्ने कार्यक्रम तय भएको छ। विनोद दास प्रथम श्रेणीको क्रिकेटमा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले ३ खेलमा १९ विकेट लिएका छन् । नेपालले सन् २००४ को मार्चमा शारजहाँमा यूएईसँगको खेलबाट प्रथम श्रेणीको क्रिकेट सुरु गरेको थियो।

नेपालले यूएईसँगै २००५ को मेमा अन्तरमहादेशीय कपमा खेलेको थियो, जुन नेपालले खेलेको पछिल्लो प्रथम श्रेणीको खेल थियो। नेपालले खेलेको चार प्रथम श्रेणीको खेलमध्ये २००४ को अप्रिलमा मलेसियासँगको खेलमा दासले चोटका कारण खेलेनन् । त्यही खेलबाट पारस खड्काले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए।

एमसीसँग बुधबार कीर्तिपुर मैदानमा उत्रँदा शरद भेषवाकर र अलराउन्डर सोमपाल कामीसँग मात्र प्रथम श्रेणी क्रिकेटको अनुभव रहनेछ। सोमपाललले श्रीलंकामा क्लब क्रिकेट खेल्नेक्रममा २०१५ को डिसेम्बर र २०१६ को जनवरीमा सारासेन्स स्पोर्टस क्लबबाट दुई प्रथम श्रेणीको क्रिकेट खेलेका थिए। शरद र सोमपाल खेलेमा एमसिसीसँग नेपालबाट ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यु गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.