|

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा सोमबारदेखि १७औं चरणको अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियान्ता अनशनरत प्राडा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ।

सदरमुकामस्थित डडेल्धुरा अस्पतालनिजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा अनशन बसिरहेका केसीको चिसोका कारण स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको हो।

चिसोका कारण अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको र ब्लड प्रेसर घटेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए। उनका अनुसार केसीको ब्लडप्रेसर तलमाथि भइरहेको छ।

बुधबार बिहान मात्रै दुईपटक उनको स्वास्थ्य जाँच गरिएको थियो। उनको ब्लडप्रेसर ९०–६० र ६०–४० सम्म पुग्ने बढ्ने भइरहेको छ।

‘हिजोसम्म उहाँको व्लड प्रेसर ठीकठीकै थियो। आज ९०/६० मा झरेको छ।’ निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कँडेलले भने, ‘उहाँले आफू कमजोर भएको महसुस गर्नुभएको छ। हिजोजस्तो उहाँमा जागर छैन।’ चिसोले डा. केसीको स्वास्थ्य झन् प्रतिकूल असर पर्नसक्ने पनि उनले जानकारी दिए।

बुधबार दिउँसोसम्म डडेल्धुराको अधिकतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री सेल्सियस रहेको छ। केसी अनशन बसिरहेको क्षेत्रमा घाम नै लाग्दैन।

डडेल्धुरा अस्पतालमा चिकित्सक कम हुँदा उनको नियमित जाँचमा समेत समस्या भइरहेको उनको भनाइ छ। दिनप्रतिदिन डा. केसीको स्वास्थ्य कमजोर बन्दै गए डडेल्धुरा अस्पताल सार्नुपर्ने अवस्था आउने कँडेलले बताए।

डा. केसीले पत्रकार सम्मेलन गरी सोमबार बेलुकी ५ बजेदेखि डडेल्धुरा सदरमुकाममा अनशन शुरु गरेका थिए। बुधबार अनशनको तेस्रो दिन हो। चिसोका बाबजुत पनि सात बुँदे माग अघिसार्दै उनको अनशन जारी छ। माग पूरा नभएसम्म अनशन जारी नै राख्ने उनको भनाइ छ।

डा केसीका माग जस्ताको तस्तै

१. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

२. विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।

३. आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस्। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डु विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरियोस्।

४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस्।

५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्या्एर एमबिबिएस  कार्यक्रम संचालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले  त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र  एमबिबिएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस्।

६. क्यान्सर लगायतका महंगा औषधिहरु भारतभन्दा ४–५ गुणा महंगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस्। कर्मचारी समायोजनका कारण सेवा नै अवरुद्ध भएका डडेल्धुरा लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबंदीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस्।

७. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट रोकी पीडि़तहरुको माग अनुसार सम्बन्धित कानुन संशोधन गर्दै पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.