|

काठमाडौं : विश्वको इतिहासमै पहिलोपटक अष्ट्रेलियाका महिला फुटबल खेलाडीले पुरुष समान सुविधा पाउने भएका छन्। जसलाई लैंगिक समानताको प्रतीकको रूपमा चित्रित गरिएको छ। फुटबल महासंघ अष्ट्रेलिया (एफएफए) ले महिला र पुरुष खेलाडीको सुविधामा समानता कायम सुरु गरेको हो। 

एफएफए र व्यावसायिक फुटबल अष्ट्रेलिया (पिएफए) ले बुधबार सम्झौताको औपचारिक घोषणा गरे। जसले माटिल्डास उपमाले चिनिएका अष्ट्रेलियाली महिला फुटबलरले साँक्रेरोस उपमा पाएका पुरुष फुटबलर बराबर तलब पाउने निश्चित भएको हो। यसबाहेक टोलीले सन् २०१९-२० को सिजनमा राष्ट्रिय टोलीले आय गरेको राजस्वको २४ प्रतिशत हिस्सासमेत पाउनेछ। जुन १ प्रतिशतको दरले चारवर्षे सम्झौता अवधीसम्म वृद्धि हुँदै जानेछ।

पुरुष फुटबललाई व्यावसायिक राजस्वको ठूलो हिस्सा विनियोजना हुँदै आएको छ। तर, अब नयाँ सर्तअनुसार दुवै टोलीका लागि समान हुनेछ। ‘यो  नयाँ सम्झौता ज्यादै ठूलो छ। महिला फुटबलरको हैसियतमा यो त्यस्तो सपनाको जस्तो हो, जुन हामी सधैँ समान व्यवहार चाहन्छौँ’ माटिल्डास मिडफिल्डर एलिसे क्यालोन्ड-नाइटले भनिन्, ‘हामी समान अवसर र समान सुविधाका साथ बाहिर जान सक्षम हुनेछौँ। पुरुषजस्तै प्रदर्शन गर्न सक्छौँ।’

सम्झौतापछि अब महिला फुटबलरले पुरुष झैँ बिजनेस क्लासको फलाइटमा अन्तर्राष्ट्रिय भ्रमर्ण गर्न पाउनेछन्। त्यसैगरि, खेलाडीको लागि छुट्याइएको विश्वकप पुरस्कार ३० देखि ४० प्रतिशतसम्म बढनेछ। यदि उनीहरू 'नकाउट' चरणमा पुगेको खण्डमा ५० प्रतिशतसम्म पुग्नेछ।

‘फुटबल सबैको लागि खेल हो, र यो नयाँ (सम्झौता) सुनिश्चित गर्नतर्फ अर्को ठूलो कदम हो कि हामी समानता, समावेशीता र अवसरको मूल्यलाई बाँच्न सक्छौँ’ एफएफएका अध्यक्ष क्रिस निकोउले भने ‘यसको मतलब तपाईं पुरुष हुनुहुन्छ वा महिला, तपाईंको जर्सीमा भएको फुटबलमा कुनै फरक छैन। अष्ट्रेलिया र विश्व खेलकुदमा विभेद भत्काउन हामी गर्व गर्दछौँ।’

पछिल्लो समयमा माटिल्डासले विश्व फुटबलमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। पुरुषको तुलनमा उनीहरूको प्रदर्शन सशक्त बन्दै आएको छ। गत जुलाईमा सम्पन्न विश्वकपका राउन्ड १६ सम्म पुगेको टोली नर्वेसँग टाइब्रेकरमा ४-१ ले पराजित बन्दै बाहिरिएको थियो। यता, पुरुष टोली गत वर्ष सम्पन्न विश्वकपमा एक बराबरीको साथ समूहको अन्तिम स्थानमा रहँदै बाहिरिएको थियो।

'स्ट्राइकर साम केर विश्वकै सर्वश्रेष्ठ खेलाडी हुन्। यस्तो अवस्थामा समान ज्यालाले अन्य खेलाडीमा समेत ऊर्जा भर्ने एफएफएले विश्वास लिएको छ। यो सम्झौता माटिल्डास र उनीहरूका समर्थकहरूले वास्तविक परिवर्तनको लागी वकालत गर्नेछ।’ पूर्वखेलाडी तथा एफएफए खेल विकास प्रमुख सार वाल्शले भनिन्।

विश्व फुटबलमा महिला र पुरुष फुटबलमा विभदे हुँदै आएको छ। सन् २०१८ को विश्वकप विजेता फ्रान्सले पाएको पुरस्कारभन्दा पनि कम बजेटमा महिला विश्वकप फुटबल सम्पन्न गरिँदै आएको छ। सन् २०१८ को पुरुष विश्वकप विजेता फ्रान्सलाई ३८ मिलियन डलर प्रदान गरिएको थियो भने सन् २०१९ को महिला विश्वकप सम्पन्न गर्न कुल ३० मिलियन अमेरिकी डलर खर्च गरिएको थियो।

पुरस्कार राशि सन् २०१५ को तुलनामा २०१९ मा दोब्बरले वृद्धि गर्दै ४ मिलियन पुर्‍याइएको थियो। महिला फुटबलमा एकछत्र राज गर्दै आएको विश्व विजेता अमेरिकाले समेत महिला र पुरुष फुटबलमा समान तलब र भत्ता कार्यान्वय गर्न सकेको छैन। लामो समयदेखि अमेरिकी महिला फुटबलर लैंगिक समानताको लागि संर्घष गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.