|

पाल्पा : यो वर्ष सत्यवती बजैको मेला तीन दिनसम्म हुने भएको छ। कात्तिक २४ देखि २६ गतेसम्म सत्यवती बजैको मेला सञ्चालन हुने भएको हो।

जुन मेलाका अवसरमा चिच्याएर वर माग्ने गरिन्छ। मेलाको तयारी अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर रानाले पत्रकार सम्मेलन गरी जानकारी दिए।

जिल्लाको तिनाउ गाउँपालिका-४, कोलडाँडास्थित सत्यवती बजैको मन्दिर तथा तालमा यो मेला लाग्ने गर्दछ। यहाँ चिच्याएर वर मागे पुरा हुने किंवदन्ती छ। बजै कान नसुन्ने बहिरी भएको र मध्यरातमा चिच्याएर बोले मात्रै सुन्ने र मनोकांक्षा पूरा गरिदिने धार्मिक मान्यता रहेको पाइन्छ।

बजैसँग आएर वर मागे आफूले आँटेताकेको कुरा पूरा हुने विश्वासले पनि यहाँ वर माग्नेको भीड लाग्ने गर्दछ। यहाँ पहिलो पटक आएका भक्तालु चिच्याएर वर मागेको सुन्दा आश्चर्यचकित हुन्छन्।

यो वर्षको मेलामा तीन लाखभन्दा बढी भक्तालु आउने अनुमान गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रानाले बताए। उनका यो वर्ष राम्रो जोग परेकोले भक्तालु बढ्ने अनुमान गरिएको हो। कात्तिके पूर्णीमाको दिन विशेष मेला लाग्ने गर्छ। भक्तालुको लागि ट्राफिक व्यवस्थान र जिउधनको सुरक्षा व्यवस्थामा विशेष तयारी गरिएको उनले बताए।

धर्मका अनुयायीहरु आफ्नो मनको चाहना पूरा होस् भन्दै भाकल गर्ने र मनोकांक्षा पुरा भएपछि मेडो लिएर पूजा गर्न आउने गर्दछन। यहाँ कुखुरा, बोका, परेवाको समेत बलि दिने गरिन्छ।

समुद्री सतहबाट झण्डै १४ सय मिटरको उचाईमा अवस्थित यो ताल पहाडको भू-वनोटले पनि निकै सुन्दर देखिन्छ। सिद्धार्थ राजमार्गबाट कम्तिमा दुई घण्टा उकालो बाटो पैदल हिँडेर पुग्न सकिने यो तालमा बर्सेनि कात्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ।

 पौराणिक परम्पराअनुसार दक्ष प्रजापतिकी छोरी महादेवकी पत्नी सतीदेवीको नामबाट यस तालको नाम सत्यवती भन्ने गरेको किम्बदन्ती छ। मानव समाज शास्त्रीय दृष्टिकोणले मातृ प्रधान समाज व्यवस्थाअनुरूप माता वा माइको नामबाट यस तालको नाम सत्यवती माई वा सत्यवती बजै रहन गएको बुझिन्छ।

काठमाडौंमा माततीर्थ, गुह्वेश्वरी जस्ता देवीस्थानले महत्व पाएजस्तै पाल्पामा यस सत्यवती बजैले महत्व पाउँदै आएको छ। झण्डै पाँचसय मिटरमा फैलिएको यस ताल वरीपरी घुमेर वर मागिन्छ।

वर्षमा एक पटक मात्र नभई यहाँ सदावहार धार्मिक पर्यटक आउने गरि विकास गर्ने योजना रहेको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए। मेला वयवस्थापनको लागि स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.