|

इनरुवा : भारतीय सरकारले लिपुलेक र कालापानीलगायत नेपाली भू-भागलाई आफैँ क्षेत्रभित्र रहेको नक्सा सार्वजनिक गरेपछि नेपालभर त्यसको तीब्र आलोचना भइरहेकोछ। यता, पूर्वी नेपालको दोस्रो ठूलो नाकाको रूपमा रहेको भाण्टाबारी नाकाको दशगाजा नै मिचेर भारत सरकारले स्वागत गेट निर्माण गरेको अझै हटेको छैन।

नेपाली-भारतीय आधिकारिक रूपमा आउजाउ गर्ने मुख्य नाकारूपमा  भान्टाबारीलाई लिइन्छ। पूर्वी नेपालको जोगबनी, काँकडभिट्टापछि बढी सामान आउने र चहलपहल हुने छोटी भन्सारसमेत भण्टाबारीमै छ। नेपाली प्रशासनको पनि राम्रो उपस्थिति भएको सो नाकामा भारतले दशगजा मिचेर बनाएको गेट भने हटाउन प्रसासनको कुनै पहल छैन।

छोटी भन्सार भन्नेबित्तिकै नेपाली सशस्त्र प्रहरीको उपस्थिति बाक्लै हुन्छ। सशस्त्र प्रहरीको संख्या उल्लेख्य हुँदा पनि त्यस नाकामा भारतले भने दशगजा मिचेर स्वागत गेट बनाएको थियो। मैत्री पोखरी नाम दिएको पोखरीमा नाका संचालन भए पनि भारत सरकारले भने दशगजा मिचेर गैरमैत्री व्यवहार देखाएको हो।

सीमा क्षेत्रको दशगजाभित्र दुवै मुलुकले स्थायी तथा अस्थायी संरचना बनाउन पाउँदैन। अन्तर्राष्ट्रिय नियम र दुई देशबीचको सहमतिविपरीत भारतीय पक्षले बनाएको गेट हटाउन कुनै पहल कदमी पनि भएको छैन। छ महिनाअघि मात्र भारतले सशस्त्र प्रहरीको चेकपोस्टबाट करिब एक सय मिटरको दूरीमा गेट बनाएको थियो।

'बर्खाको समयमा बनाएको रहेछ, त्यतिबेला कोसीसम्बन्धी छलफल नै बढी हुन्छ’ सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश खनालले भने ’अब आउने द्विपक्षीय सुरक्षा समितिको बैठकमा बुझेर मात्र भन्न सक्छु।’

दशगजामै ‘भारतमे आपका स्वागत है’ भन्ने बोर्ड राखेको समाचार थाहाखबरले सम्प्रेषण गरेको थियो। जिल्ला प्रशासनले दशगजा मिचेको जानकारी पाएको पनि लामो समय भइसक्यो। तर, राष्ट्रियाजस्तो गम्भीर विषयमा माथिल्लो  तहको अधिकारीहरूले पहल नगरेकोमा सीमा सुरक्षामा खटिएका सिपाइहरूको पनि दुखेसो छ।

'एसएसबीका समकक्षीहरूसँग पनि धेरै पटक हाकिमसाबहरूको भेट हुन्छ,’ नाम नखुलाउने सर्तमा सीमामा खटिएका सशस्त्रका एक जवानले भने, 'दशगजा मिचेर बनाएको गेटको विषयमा अझैसम्म पनि कुनै कारवाही अघि बढेको छैन।’ 

स्वागत मात्रै होइन, दशगजा नै मिचेर भारतले स्थल शुल्क कार्यालयको क्षेत्राधिकार पनि गेटसम्मै भएको बताउँदै आएको छ। दशगजा पारी भारतको विहारका दुई जिल्ला सुपौल र अररिया पर्छन्।

भारतका दुवै जिल्लाका डिएम, भारतीय प्रहरी र एसएसबीसँग सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारी, सशस्त्र जनपथ प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुखको सीमासम्बन्धी बैठक हुन्छ। बैठकमा दुवै देशका समकक्षीबीच दशगजाको अवस्थालगायतका विषयमा छलफल हुने गरे पनि गेटको विषयमा एक पटक पनि छलफल चलेको स्रोतले बतायो।

सीमा गेट मात्र हैन भारतीय पक्षबाट फोहोर थुपार्ने काम पनि नेपाल तिरै अझै भइरहेको छ। नेपाली भूमि वीरपुर नगरपञ्चायतको फोहोर फाल्ने डम्पिङ साइट भएको छ।

कोशी टप्पु वन्यजन्तु आरक्षको सिमसारबाट बनेको खोलाको छेउमा भारतीय नागरिकले नेपालतिरै फोहोर फाल्ने गरेका छन्। सशस्त्र प्रहरीको सुरक्षा चौकी र भन्सारको युनिटअगाडि नै भारतीय पक्षले डम्पिङ साइट बनाएको छ। हावा चल्दा कार्यालयसम्मै दुर्गन्ध फैलिने गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.