|

रौतहट : प्रतिनिधिसभाका निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको थुनछेक बहस शुक्रबार पनि हुने भएको छ। बिहीबार दिउँसोबाट भएको बहसमा सरकारी वकिलको तर्फबाट तीनजना वकिलले बहस गरेका थिए।

गत मंगलबारदेखि लिइएको बयान बिहीबार दिउँसो सकिएलगतै अहिले दिउँसोबाट जिल्ला अदाललत रौतहटमा थुनछेक बहस सुरु भएको थियो। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि बहस सुरु भएको थियो।

थुनछेक बहसमा सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवाल, उपन्यायधिवक्ता अर्जुनप्रसाद कोइराला र सहन्यायाधिवक्ता सूर्यप्रसाद दाहालले बहस गरेको रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।

भोलि शुक्रबार सरकारी वकिल कार्यालय पर्साका उपन्यायाधिवक्ता रुद्रप्रसाद पन्थी र सरकारी वकिल कार्यालय रौतहटका सहन्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गर्ने श्रेस्तेदार पराजुलीले बताए।

सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाका तर्फबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले बहस गर्ने उनले जानकारी दिए। जाहेरवालाका तर्फबाट नौजना वकिलले बहस गर्ने भएका छन।

पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी र डा. कुमार शर्मा आचार्यले बहस गर्ने छन्।

प्रतिवादी आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) रौतहट आएका छन्।

विसं. २०६४ साल चैत २७ गते दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको थियो।

बहसअघि जिल्ला न्यायाधीशले आलमलाई जम्मा ५२ बटा प्रश्न सोधिएको थियो। बिहीबार तेस्रो दिनको बयानमा उनलाई ज्यान मार्ने उद्योग र बम विष्फोटसम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो। आलममाथि गत सोमबार मुद्दा दर्ता गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.