|

डडेल्धुरा : डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ यही कात्तिक २६ लाग्ने भएको छ। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ।

उग्रतारा क्षेत्र विकास समितिको बैठकले उग्रतारा मेला ‘देहिजाँत’ कात्तिक २५ गते (रतेडी) र २६ गते (दिउसेडी) लाग्ने निर्णय गरेको हो। छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आरधना गर्न पुग्छन्।

देहिजाँतको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको मेला व्यवस्थापन समितिका संयोजक लोकबहादुर पालले बताए। परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेको समेत उनको भनाइ छ।

उग्रतारा मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका मेला हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि मेला अवधिभर जुवातास तथा मदिराजन्य बस्तु बिक्री तथा वितरणमा रोक लगाउने समितिको निर्णय छ।

यदि मदिरा निषेधित क्षेत्रमा कसैले मदिरा वितरण तथा सेवन गरी होहल्ला गर्ने, उश्रृंखल क्रियाकलाप गरेको पाइएमा समितिले नगद ५ हजार रुपैयाँ तथा बिक्री वितरण गर्नेलाई दश हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए।

उग्रतारामा भगवतीको पूजा

बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने पण्डित भोजराज भट्टले बताए।

‘बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ। बिहान चारवटै गाउँको भ्रणबाट ल्याइएको माताभगवतीको देउरो बेलुका ५ बजे पछि पुनः चारवटै गाउँको भम्रणमा लगिमेला सम्पन्न हुन्छ’ पण्डित भट्टले भने।

किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जन विश्वास छ। वर्षमा एकपटक भव्य रुपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ।

सुन्दर फाँटमा अवस्थित उग्रतारा देवीको दर्शन गर्न भक्तजनले अमरगढी–८ को टाटेसिल्ङबाट उक्लेर जानु पर्दछ। अहिले उग्रतारा मन्दिरसम्म पुग्न अमरगढी–८ को डकले र रातागौनबाट कालोपत्रे सडक पनि निर्माण गरिएको छ। गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘उग्रतारा मन्दिर’ पनि परेको छ।

व्यवसाय र आफन्तसँगको भेटघाट

अष्टमीमासमेत पूजाआजा गरिने मन्दिरमा राँगाको वलि दिने प्रचन छ। उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तसँगको भेटघाट हुने मौकाको रुपमा प्रख्यात छ।

हराँउदै गएका अन्नबाली फापर, भिमुर, तिललगातय अदुवा, बेसार, चुक, मह, घ्यु, सन्तरा, मौसमी, केरालगायत स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको राम्रो व्यापार हुन्छ।

स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ। उग्रतारा मेलामा बिक्री गर्ने पूर्व योजनाका साथ स्थानीयले बाँस र निगालाका सामग्रीसँगै खाद्य वस्तु एवं कृषि औजार, बेर्ना तयार पार्ने गरेका छन्। मेलामा भारतका विभिन्न स्थानका व्यापारीले मिठाइका परिकार बनाइ बिक्री गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.