|

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ बडालस्थित जिल्लाकै ठूलो जाँत मध्येको ‘बडाल जाँत’ सम्पन्न भएको छ। बुधबार बेलुकीदेखि पूजाआजासँगै धार्मिक विधिवत रूपमा सुरु भएको जाँत बिहीबार बेलुकी सम्पन्न भएको हो। 

कात्तिक शुक्ल दशमीको दिन राति (रतेडी) र दोस्रो दिन (दिउसेडी) लाग्ने परम्परा रहीआएको छ। लाटा गन्याप देवताको भक्ति स्वरुप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धी पाएको छ।

शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहीआएको छ। दाइन, दमाह, रुइसिंग, भोकर बाजागाँजाका साथ स्थानीय हातमा ढाल तरवार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्दछ।

प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशिर्वाद प्राप्त हुने जनविश्वास रहेको छ। मेलामा स्थानीय अन्य गाँउबाट पनि देउरो ल्याउने चलन रही आएको छ।

कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देउरो आउने गरेको भएपनि मुल देउरो भने मालीगाँउबाट ल्याउने चलन रही आएको छ।

डडेल्धुराका विभिन्न क्षेत्र, डोटी, बैतडी र भारतको उत्तराञ्चल प्रदेशबाट समेत भक्तजनले मेला भरेको मेला व्यस्थापन समितिका अध्यक्ष रमेश मालीले जानकारी दिए। ढाल तरवार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। यस मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुने गर्दछ।

मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्रीका साथै कृषि उपजको व्यापार समेत हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.