|

इलाम : चर्च ब्वाइज युनाइटेड काठमाडौंले जीत निकालेसँगै हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। चर्च ब्वाइजले गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई टाइब्रेकरमा मा ४–२ गोल अन्तरले पराजय गरेसँगै सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने टिमको टुंगो लागेको हो। जीतसँगै फाइनल प्रवेशका लागि चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ।

निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो। दुवै टोलीले पहिलो हाफ गोलरहीत बराबरी खेलेका थिए। दोस्रो हाफको २१औँ मिनेटमा चर्च ब्वाइजका कप्तान सन्तोष न्यौपानेले गोल गर्दै खाता खोलेका थिए। एलन मगरको लङ पासमा गोर्खा ब्वाइजका गोलरक्षक सोजित गुरुङलाई बिट गर्दै सन्तोष सुरुवाती अग्रता दिलाएका हुन्।

तर, चर्च ब्वाइजको यो खुसी २ मिनेट टिक्न सकेन। लगत्तै रुमेश बाँस्तोलाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। विपक्षी गोलपोस्ट नजिक पुगेका उनले सहजै गोल गरेका थिए। त्यसपछि खेलमा गोल नभएपछि निर्णयका लागि पेनाल्टी स्पोट किक ( टाइब्रेकर) रोजिएको थियो।  जसमा चर्च ब्वाइजका उमेश राई, राजेन्द्र रावल, कैलाश बस्नेत र पाल्साङ लामाको प्रहार गोलमा परिणत भएको थियो।

गोर्खा ब्वाइजका तर्फबाट रुपेश केसी, दीपक राईको प्रहारमात्र गोलमा परिणत भएको थियो भने बुद्ध चेम्जोङ र मनोज श्रेष्ठको प्रहार चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए। टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजार प्राप्त गरे।  शुक्रबार पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र पाहुना टोली सिक्किम आक्रमण एफसीबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.