कलाकारमय वीरगन्ज

|

पर्सा : वीरगन्जमा तीनदिनसम्म हुने भनिएको नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६ सुरु भएको छ। नेपाली चलचित्र निर्माणको ५०औं वर्ष पूरा भएको अवसरमा वीरगन्जमा बिहीबारदेखि शनिबारसम्म तीनदिनका लागि स्वर्णीम महोत्सव सुरु भएको हो।

महोत्सवको नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्। नेपालका पुराना, वर्तमान र भावी तीन पुस्ते कलाकारलगायत सहभागीका बीच चलचित्र महोत्वसको उद्घाटन गर्दै राष्ट्रिपति भण्डारीले प्राकृतिक सौन्दर्यले सुशोभित नेपाल आफैँमा अनुपम प्राकृतिक चलचित्र 'नगरी' जस्तै भएको बताइन्।

‘यो मनोरम नगरीमा छायांकन स्टुडियो निर्माण गरी अन्तर्राष्ट्रिय क्षेत्रलाई पनि आकर्षित गर्न सक्नु पर्छ' उनले भनिन् 'यहाँको प्राकृतिक, सांस्कृतिक र भौगोलिक वैभवतालाई अधिकतम सदुपयोग गर्दै अन्तराष्ट्रिय जगतलाई आकर्षित गर्ने गरी चलचित्र छायाँकन गन्तव्यका रुपमा नेपाललाई प्रवर्द्धन गर्नुपर्छ।'

नेपालमा लोकतन्त्रको उदय र उदार समाजको विकास भएसँगै विभिन्न जातजाति, भाषाभाषी र भेषभूषालाई प्रवर्द्धन गर्न चलचित्रले महत्वपूर्ण काम गरिरहेको भए पनि परिवर्तित समयअनुसार यसलाई अझ उचाइमा पुर्‍याउनु पर्ने उनको भनाइ छ। चलचित्रमा प्रत्यक्ष रूपमा प्रकट हुने कला साहित्य र संगीतको माध्यमबाट सांस्कृतिक विविधता बीच एकताको कडी मजबुत हुने हुँदा अझ नेपाली समाजको विविध पक्षको सुन्दर यर्थाथ मालालाई विश्वसामु प्रदर्शित गर्न सक्नु पर्ने राष्ट्रपति भण्डारीको सुझाव छ।

तराई, पहाड र हिमालको उत्सवका रूपमा मुलुकको आर्थिक नगरी एवं प्रवेशद्वारका रुपमा रहेको वीरगन्जमा सुरु स्वर्णीम चलचित्र महोत्सवमा नेपालका संचार मन्त्री गोकुल बाँस्कोटा, प्रदेश-२ का मुख्य मन्त्री लालबाबु राउत गद्दी, उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, वीरगन्ज महानगरपालिकाका नगरप्रमुख वीरज कुमार सरावगीलगायतले पनि विविध कला संस्कृति र भेषभुषाले सुसज्जित मुलुकको समृद्धिमा यस्ता महत्सवले ठूलो महत्व राख्ने बताए।

नेपालको इतिहासलाई अझ अक्षुण राख्न नेपालका महान् सपुत, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, बीपी, गणेशमान, जस्ता व्यक्तिहरुको जीवनीमा आधारित पनि चलचित्रहरु निमार्ण गर्नु पर्नेमा उनीहरूको जोड छ। प्रदेश नम्बर २ मा रहेका स्थानीय कलाकारलाई नेपाली चलचित्र उद्योगको मूलधारमा ल्याउने, आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने उद्देश्य आयोजकको रहेको नेपाली चलचित्र निर्माता संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक विमल पौडेलले बताए।

भारतीय सिनेकर्मी गोविन्दा सहितको समूहले दर्शकलाई मनोरन्जन दिँदै

राष्ट्रपतिले उद्घाटन गरेलगत्तै नेपालका चर्चित फिल्म निर्माता, नायक नायिका र स्थानीय कलाकारहरूले वीरगन्जमा दर्शकलाई भरपुर मनोरञ्जन दिइरहेका छन्। कार्यक्रमा भारतीय सिने कलाकार गोविन्दाले पनि दर्शक श्रोतालाई मनोरन्जन दिइरहेका छन्।

वीरगन्ज कलाकार मय

पहिलो पटक वीरगन्जमा भइरहेको नेपाली चलचित्र स्वर्णीम महोत्सवमा नेपाल र भारतबाट आएका कलाकारहरुको कारण वीरगन्ज अहिले कलाकारमय भएको छ। बिहिबारदेखि शनिबार २३ कार्तिकसम्म तिनदिन चल्ने महोत्सवमा दुईदिन पहिले बाट नै नेपाली कलाकारहरु वीरगन्ज आइपुगेका थिए। अझ बिहिबार भारतबाट पनि सिनेकर्मी गोविन्दालगायतका कलाकार वीरगन्ज आइपुगेपछि यतिवेला वीरगन्जमा जता गए पनि कलाकार भेटिन थालेका छन्।

कहिले वीरगन्जमा स्थानीयले उती नदेखेका नेपाली चलचित्रका कलाकार, भुवन केसी, शिव श्रेष्ठ, नीर शाह, वसुन्धरा भुषाल, हरिवंश आचार्य, किरण केसी, दीपक गिरी, दिपाश्री निरौला र चलचित्र निर्माता समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ लगायतका नेपालका चर्चित प्रायः सबै कलाकार यहाँ आइपुगेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.