काठमाडौं : भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपाल आउने वैदेशिक लगानीकर्ताको आकर्षण होटल तथा रेष्टुराँ क्षेत्रमा देखिएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता होटल तथा रेष्टुराँ क्षेत्रमा देखिएको हो।
उद्योग विभागको तथ्यांकअनुसार तीन महिनाको अवधिमा ३९ वटा होटल तथा रेष्टुराँ दर्ता भएका छन्। समग्र लगानी प्रतिबद्धतामा नै अघि रहेको छिमेकी देश चीनका लगानीकर्ताको अधिकांश लगानी होटल तथा रेष्टुराँ क्षेत्रमा ल्याउने प्रतिबद्धता छ।
विभागमा होटल तथा रेष्टुराँ क्षेत्रमा लगानी गर्न ३९ प्रतिबद्धता आएकोमा चिनियाँ लगानीकर्ताका मात्रै ३६ वटा रहेका छन्। चीनबाहेक दुईवटामा भारतीय लगानीकर्ताकोको प्रतिबद्धता रहेको छ भने एउटामा जापानिज लगानीकर्ताको प्रतिबद्धता रहेको छ।
सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने गरी तयारी सुरु गरिरहेको बेला स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण होटल तथा रेष्टुराँ क्षेत्रमा देखिएको हो।
पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ) मार्फत पाँच अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ। गत वर्षको सोही अवधिको तुलनामा दुई गुणा बढी होटल तथा रेष्टुराँ क्षेत्रमा लगानी वृद्धि भएको विभागले जनाएको छ।
अन्य क्षेत्रको लगानी
तीन महिनाको अवधिमा होटल रेष्टुराँ सहित अन्य उद्योगहरूमा समेत ११ अर्ब ३६ रोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।
गत वर्षको सोही अवधिमा चार अर्ब ८३ करोड ५२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो। आएको लगानीमा सेवातर्फ २५, उत्पादनका ७, सूचना प्रविधिसम्बन्धी ६ र कृषि, वन पैदावारका एक उद्योग रहेका छन्।
गत आर्थिक वर्षमा आएको जम्मा लगानीको हिसाबले ५० प्रतिशत लगानी तीन महिनाको अवधिमा नै आएको छ। गत आर्थि वर्षमा यस्तो लगानी प्रतिबद्धता २३ अर्ब ६९ रुपैयाँ करोड रुपैयाँ बराबरको आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।