छानबिन समितिको थपिएको म्याद पनि सकियो,प्रतिबेदन बुझाउन ढिलाई

|

बैतडी : यही कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकमा डोजरले महिला हुत्याएपछी गठन भएको छानविन समितिले प्रतिवेदन बुझाउन ढिलाई गरेको छ। 

छानविन समितिको थपिएको म्याद सकिएको पनि ५ दिन बितीसक्दा समेत जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन। कात्तिक ५ गते २४ घण्टाको समयसीमा राखेर सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीको संयोजकत्व ५ सदस्यीय छानविन समिति गठन भएको थियो। उक्त समयसीमाभित्र छानविन समितिले प्रतिवेदन बुझाउन नसकेपछि थप ५ दिनको म्याद थपेको थियो। 

तिहारको बिदापछि ५ दिनको म्याद राखिएको थियो। तर उक्त समय सीमामा पनि छानविन समितिले प्रतिवेदन नबुझाउँदा नागरिकले आशंका पनि गर्न थालेका छन्। यसअघि केही दिन अगाडि नेपाली कांग्रेसको केन्द्रीय छानविन समितिले सत्ता र शक्तिका आडमा घटना भएको निष्कर्ष समेत निकालेको थियो।

सडक निर्माण गर्दा दुई पक्षबीच झडप भएको थियो। झडपकै क्रममा डोजर चालकले एक महिलालाई हुत्याएको थियो। छानविन समितिले गहन रुपमा सबै कुरा समेटनु पर्ने भएकोले प्रतिवेदन बुझाउन ढिलाई भएको जनाएको छ।

समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीका अनुसार प्रतिवेदन ९० प्रतिशत काम सम्पन्न भएकोले केही दिनभित्रै प्रतिवेदन बुझाउने तयारी रहेको बताए। समितिले स्थलगत रुपमा दुबैपक्षसंग छलफल गरेको, वस्तुगत अवस्था, नगरपालिकासँग बुझेको छ। उनले भने,' पीडित पक्षले आफ्नो जग्गामा सडक खन्न नदिने भन्ने उच्च अदालतमा मुद्दा गरेकोले प्रतिवेदन बुझाउन ढिलाई भएको छ। त्यसको पनि समस्या समाधानतर्फ छ।'  

प्रमुख जिल्ला अधिकारी बिदामा रहेकोले अफिस आउने बित्तिकै प्रतिवेदन बुझाउने छानविन समितिको तयारी छ। छानविन समितिले जिल्ला प्रशासनलाई प्रतिवेदन बुझाउने अनि प्रसासनले प्रदेश सरकार, गृह मन्त्रालय, प्रधानमन्त्री कर्यालयलाई पठाउने जनाइएको छ।  

दशरथचन्द नगरपालिका ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजरले एक महिलालाई हुत्याएपछि घटनाले ठूलो रुप लिएको थियो।

डोजरले हुत्याउँदा स्थानीय गौरी जोशी घाइते भएकी थिइन्। गौरी कोहलपुर र भारतमा उपचारपछि घर फर्किसकेकी छन्। तर अझै पनि गौरीको स्वास्थ्यमा बेलाबेलामा समस्या देखा पर्ने गरेको परिवारले जनाएको छ।

प्रहरीले महिला हुत्याउने चालक किशोर बोहरा, डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध  ज्यान मार्ने उद्दोगमा मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

यसका साथै सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीबिरुद्ध सडक निर्माण गर्ने पक्षले किटानी जाहेरी दिएपछि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.