वंशलाललाई जित्‍नैपर्ने चुनौती

|

सिन्धुपाल्चोक : उपनिर्वाचनको मिति नजिकिदै छ। निर्वाचनको मिति नजिकिएसँगै सबै राजनीतिक दल यतिबेला चुनावी तयारीमा होमिएको छन्। केन्द्रीय तहदेखि जिल्ला तहका नेता कार्याकर्तालाई चुनावी रौनकले छोपेको छ।

मंसिर १४ हुने उपनिर्वाचनमा सिन्धुपाल्चोकमा पनि एउटा वडामा वडाध्यक्षको निर्वाचन हुँदैछ। इन्द्रावती गाउँपालिका ८ को वडाध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि सो वडामा पनि निर्वाचन हुन लागेको हो। श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

सो वडामा अहिले पनि नेकपा र नेपाली कांग्रेसको बीचमा कडा टक्कर पर्ने दृष्टिकोणले हेरिएको छ। निर्वाचन हुने पालिका संयोगबस् नेकपा र नेपाली कांग्रेसको पार्टी अध्यक्षको पालिका परेको छ। त्यसैले गर्दा पनि इन्द्रावती ८ को निर्वाचनलाई महत्वका साथ हेरिएको छ।

निर्वाचनको लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केदारनाथ आचार्य र नेपाली कांग्रेसले अशोक तामाङलाई उम्मेदवार बनाएको छ। नेकपाले उम्मेदवार बनाएका आचार्य पहिलो निर्वाचनमा झिनो मत अन्तरले हारेको थिए। उम्मेवारको टुंगो लगाएसँगै चुनावी माहोलले छपक्कै छोपेको छ। सिन्धुपाल्चोकका नेता कार्याकर्ताको हेराइको केन्द्र इन्द्रावती ८ नै बन्न पुगेको छ।

पाँच मतले जितेका थिए, यस्तो छ लेखाजोखा 

स्थानीय तहको निर्वाचनमा सो वडामा मृतक धनबहादुर श्रेष्ठले ५ मतले मात्रै जितेका थिए। निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले ३ सय ६४ मत ल्याएका थिए। निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमाओवादीका केदारनाथ आचार्यले ३ सय ५५ मतल्याएका थिए। त्यस्तै, एमालेका सम्पूर्ण तामाङले दुई सय २१ प्राप्त गरेका थिए । राप्रपाका पूर्णबहादुर तामाङले चार मतमात्रै ल्याएका थिए।

तर, अहिले यहि मतलाई आधार मान्दा पार्टी एकतापछि नेकपाको मत ५ सय ७६ हुन आउँछ। कांग्रेसको ३ सय ६४ रहेको छ। जसले गर्दा अहिले नेकपा र कांग्रेसबीचको मतको दूरी २ सय १२ रहेको छ। एकल चुनाव लड्दा ५ मत अन्तरले पराजित भएका आर्चायलाई चुनाव लडाएपछि जित्ने पक्का रहेको नेकपा निकटका नेताको भनाइ छ।  

सो वडामा अहिले १४ सय ४ मतदाता रहेका छन्। पहिलेको निर्वाचनको गणितीय हिसाबलाई आधार मान्दा नेकपाको जित पक्का हुन्छ। कुल १२ सय २१ मतदाता रहेका थिए। पहिलाको चुनावमा एक हजार १६ मत खसेको थियो भने ९ सय ४४ मतमात्रै सदर भएको थियो। तर, पछिल्लो समयमा मतदाता १ सय ८३ थपिएकाले नतिजा कस्तो आउँछ आँकलन गर्न सक्ने अवस्था छैन।

पार्टी अध्यक्षको प्रतिष्ठानको लडाइँ

नेकपाका पार्टी जिल्ला अध्यक्ष झम्क नेपाल र नेपाली कांग्रेसको पार्टी जिल्ला अध्यक्ष विकास लामा दुवैको इन्द्रावती गाउँपालिका नै हो। त्यसैले इन्द्रावती ८ मा हुन लागेको वडाध्यक्षको निर्वाचनलाई दुवै पार्टी अध्यक्षको प्रतिष्ठाको लडाइँको रूपमा हेरिएको छ।

तत्कालीन एमाओवादीबाट वडाध्यक्ष प्रतिस्पर्धा गर्दा ५ मत अन्तरको झिनो मतान्तरले पराजित भएको आर्चायाई पार्टी एकतापछि पुनः उम्मेदवार बनाएपछि जित पक्का रहेको नेकपाका अध्यक्ष झम्क नेपाल बताउँछन्। एक हुँदा जितको नजिक पुगेका उम्मेदवार खडा गरेको हुनाले जसरी पनि जित्नाउँर्नै पर्ने नेकपालाई चुनौति छ।

यस्तै, कांग्रेसको पकड रहेको पालिका भएकाले कांग्रेसले पनि राजनितिमा रुझेको व्यक्तिलाई चुनाव उतारेको छ। ‘यो हाम्रो पालिका भएकाले हामीले जस्तोसुक्कै अवस्थामा भए पनि जित निकाल्नै पर्छ’ नेपाली कांग्रेसका जिल्ला सभापति विकास लामाले भने, ‘जितको लागि पार्टी नेतादेखि कार्यकर्ता सबै एकजुट भएर लागिपरिरहेका छौँ।’

दुवै पार्टी अध्यक्षको पालिका भएकै कारणले बाह्य क्षेत्रबाट पनि यो निर्वाचनलाई महत्वपूर्ण रूपमा हेरिएको छ। यो प्रतिष्ठाको लडाइँमा कसको जित हुन्छ त्यो आगामि निर्वाचनले देखाउँने पक्का छ।

पालिका अध्यक्षलाई जित्नैपर्ने चुनौति

पालिकामा अहिले नै अल्पमत रहेकै कारणले गाउँपालिका अध्यक्ष वंशलाल तामाङको लागि पनि यो निर्वाचनमा जित्नै पर्ने चुनौतिको रूपमा खडा भएको छ। पालिकामा १२ वडा छन्। जसमध्ये कांग्रेसले ७ र तत्कालीक एमाले र एमाओवादी गरि ५ वडा जितेको थियो। अब कांग्रेसलाई बहुमत पुर्‍याउँन सो वडा जसरी पनि जित्नैपर्ने बाध्यता छ।

तर, कांग्रेससँग वडाको बराबरी बनाउँने पक्षमा नेकपा जुटेको छ। आगामी निर्वाचनमा नेकपाले सो वडा जितेमा नेकपा र कांग्रेसको भागमा ६/६ पर्नेछ। त्यसैले आफ्नो बहुमतको विरासत जोगाउँन पालिका अध्यक्ष तामाङलाई चुनौति खडा भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.