|

डडेल्धुरा : चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीको अनशनप्रति समर्थन जनाउँदै डडेल्धुरामा दबाबमूकल र्‍याली निकालिएको छ। सोमबारदेखि १७औं चरणको अनशन सुरु गरेको अनशनमा ऐक्यबद्धता जनाउँदै र्‍याली निकालिएको हो।

शुक्रबार नागरिक समाज तथा पेशाकर्मी एवं व्यावसायिक संघसस्थाहरूको अगुवाइमा सदरमुकामको बसपार्क-तुफानडाँड हुँदै जिल्ला प्रशासनदेखि भीमदत्त चोकसम्म उनको माग सम्बोधन गराउन दबाब र्‍याली निकालिएको हो।

‘डा.गोविन्द केसीले राखेका सम्पूर्ण मागहरू पूरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथाशीघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल कलेजका लागि निर्णय गर तथा डा. केसीको जिवनको रक्षा गर’लगायतका नारा लगाउँदै यहाँका नाकारिक तथा पेशाकर्मी एवं व्यवसायी सडकमा उत्रिएका हुन्।

र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरूले प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रसमेत पठाएका छन्। चारबुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई पठाइएको हो। सरकारले डा. केसीका मागलाई बेवास्ता गरिए सरकारका विरुद्धमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउनुअघि उनीहरूले प्रशासनअघि नाराबाजी गरेका थिए। र्‍यालीमा सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ल पनि सहभागी थिए। बिहीबार पनि नागरिक समाजको अगुवाइमा जिल्ला सदरमुकाम क्षेत्रमा र्‍याली निकालिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.