|

बाँके : भारतको सर्वोच्च अदालतले विचाराधीन विवादास्पद राम जन्मभूमिसम्बन्धी मुद्धाको अन्तिम फैसला गर्ने भएपछि नेपाल–भारत सीमा नाका जमुनहा बन्द गरिएको छ। मुद्धा फैसलापछि हिन्दू र मुस्लिमबीच हुन सक्ने भिडन्तलाई मध्यनजर गरी भारत सरकारले नेपाल–भारत सीमा नाका जमुनहा अकस्मात बन्द गरिएको भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले जनाएको छ।

४० दिन लामो बहस सकिएपछि आज शनिबार भारतको सर्वोच्च अदालतले उक्त मुद्धामाथि अन्तिम फैसला गर्न लागेको छ। अन्तिम फैसला हुने भएपछि सुरक्षा सतर्कता अपनाउँदै भारतको उत्तर प्रदेश पूर्णरुपमा बन्द गरिएको छ। भने, नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका जमुनहा बन्द गरिएको छ।

अयोध्यास्थित राम जन्मभूमिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो। हिन्दूले विवादास्पद भूमिमा राम जन्मभूमि भएको दाबी गर्दै आएका छन् भने मुस्लिमले बाबरी मस्जिदको भूमि भएको अडान राख्दै आएका छन्।

यही विषयले हिन्दू र मुस्लिमबीच लामो समयदेखि तनाव सिर्जना हुँदै आएको छ। अन्तिम फैसलापछि उत्तर प्रदेशमा हिन्दू र मुस्लिम सम्प्रदायबीच सम्प्रदायिक हिंसा भड्किन सक्ने आशंकामा भारत सरकारले उत्तर प्रदेशको सुरक्षा व्यवस्था कडा बनाएको छ। सुरक्षाका लागि नेपाल–भारत सीमा नाका जुमनहा शनिबार बिहान १ बजेदेखि पूर्णरुपमा बन्द गरिएको छ,’ इलाका प्रहरी कार्यालय, जमुनहाका इन्चार्ज प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले भने।

सन् १९८९ मा भारतिय जनता पार्टीको राष्ट्रिय परिषद् बैठकले संसदमा कानुन ल्याएर भए पनि राम मन्दिर निर्माण गर्ने प्रस्ताव पारित गरेको थियो। ६ डिसेम्बर १९९२ मा भारतीय जनता पार्टीनिकट हिन्दू समर्थकहरूले अयोध्यास्थित बाबरी मस्जिद भत्काएपछि राम जन्मभूमिसम्बन्धी विवाद चुलिएको थियो। त्यसबेला भड्किएको हिंसामा सयौंको मृत्यु हुनुका साथै ठूलो धनजनको समेत क्षति भएको थियो।

करिब २ दशमलब ७७ एकड जमिनका लागि चलिरहेको यो विवाद भारतको इतिहासकै सबैभन्दा लामो विवाद भएको बताइएको छ। थोरै जमिन भए पनि यो साधारण जमिन होइन। यही पौने तीन एकड जमिनमा हिन्दू र मुस्लिम समाजको आस्था जोडिएको छ।

हिंसा भड्कीन सक्ने अनुमान गरि भारतभर सुरक्षा व्यवस्था कडा पारिएको छ। उत्तर प्रदेशमा आकस्मिक सेवा बाहेकका अन्य सबै सेवाहरु पूर्णरुपमा बन्द गरिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) रुपइडिहाका प्रहरी निरीक्षक मनिषकुमार पाण्डेले जानकारी दिए।

सन् २०१० मा इलाहाबाद उच्च अदालतले विवादास्पद भूमिलाई रामलीला (श्रीरामको बाल रुप), निर्मोही अखाडे र मुस्लिम पवित्र भूमिकारुपमा तीन भाग लगाउने फैसला गरेको थियो। उक्त फैसला विरुद्ध सर्वोच्चमा पुनः एक दर्जनभन्दा बढी रिट दायर भएका थिए। ति सबै रिटहरुलाई भारतको सर्वोच्च अदालतले एउटै इजलासमा हेरिरहेको जनाइएको छ। मुद्दामा सर्वोच्च अदालतका मुख्य न्यायाधीश रञ्जल गोगोइतले नेतृत्व गरिरहेको भारतीय संचार माध्यमले जनाएका छन्।

भारतमा हुन सक्ने हिंसालाई मध्यनजर गरि बाँके प्रहरीले पनि सावधानी अपनाएको जनाएको छ। एका–एक नाका बन्द भएपछि भारतबाट आउने र भारततर्फ जाने सबै सवारीसाधन तथा सर्वसाधरण सीमामै रोकिएका छन्। तर, भारतबाट नेपाल आउने पैदल यात्रुलाई नेपाल प्रवेश गर्न दिइएको रिजालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.