|

सर्लाही : बागमती नदीमा पुल निर्माण कार्य समयमै सम्पन्न नहुँदा सर्लाही र रौतहटको दक्षिणी भेगका नागरिकले सास्ती पाएका छन्। पुल नहुँदा स्थानीय बासिन्दा डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।

सर्लाहीको रामनगर गाउँपालिकास्थित खैर्बा गाउँ र रौतहटको दुर्गा भगवती गाउँपालिका जोड्ने गरी निर्माणाधीन पुल पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। पुल निर्माण कार्य पुरा नहुँदा नदी वारपार गर्न समस्या भइरहेको खैर्बा टोलका शैलेन्द्र कुमार सिंहले गुनासो गरे।

सर्लाही र रौतहट जिल्लाको दक्षिणि क्षेत्रका स्थानीय जिल्लाको दक्षिण क्षेत्रका विभिन्न ठाउँमा आवातजावत गर्नका लागि नजिक पर्ने भएकोले खैर्वा र हजरियाघाटको बाटो जोखिमपूर्ण यात्रा भए पनि त्यहि बाटोको प्रयोग गर्दै आइरहेका छन्। यसरी जोखिमपूर्ण यात्राले बिगतका दिनहरूमा डुंगा दुर्घटना भएको स्थानीय बताउँछन्।

त्यस भेगमा सञ्चालित तीन/चार वटा डुंगामा कोचामकोच गरी नदी तर्दै आएका छन्। डुंगामा राखेर नदी पार गराएबापत एकजनाको १०० रुपैयाँ, प्रतिसाइकल ५० रुपैयाँ र प्रतिमोटरसाइकल दुई सयदेखि दुई सय पचास रुपैयाँसम्म लिने गर्छन्। प्रायजसो मान्छे भने जसोतसो पानीमै हेलिएर नदी वारपार गर्दै आएका धनकौल गाउँपालिकाका-३ का स्थानीय उपेन्द्र कुशवाहले बताए।

वर्षातको समयमा बागमती नदीमा पानीको बहाव बढेको समयमा डुंगा सञ्चालनमै समस्या हुने गरेको स्थानीयले बताउँछन्। रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले बागमती नदीको पुल निर्माण कम्पनीले अलपत्र छाड्दा नागरिकले सास्ती पाएको बताए।

खैर्बा घाटमा जस्तै सर्लाहीको बरहथवा नगरपालिकाको हजरिया र रौतहटको गढीमाइ नगरपालिका जोड्ने समनपुर घाटको पुल निर्माण कार्य पनि लामो समयदेखि रोकिएको छ। निर्माण अधुरै छाडिँदा पटक–पटक आएको बाढीले यी दुवै पुलका निर्माण भएको संरचनामा क्षति पुर्‍याउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.