|

जनकपुरधाम : साहित्य र संस्कृति, विचार र बहसको संगम आइएमई नेपाल साहित्य महोत्सव कार्तिक २२ देखि २४ जनकपुर धाममा संचालन भइरहेको छ। तीन दिने महोत्सवमा जानकीमाथि मन्धन, चुरेको दोहनमाथि छलफल, नेपाली साहित्यमा मधेशी पात्रको चिरफार, स्थानीय विकासको खाका तयार गरिने आयोजक बुकहोम फाउण्डेसनले जनाएको छ।

महोत्सवमा बहुभाषिक कविता वाचन, मधेशी भोजन संस्कृतिको चर्चा, विद्यापति जस्ता मधेशी सर्जकहरूको सम्झना पनि गरिने छ। चिन्तक प्रदीप गिरी, पूर्व राष्ट्रपति डा. रामवरण यादव, मुख्यमन्त्री लालबाबु राउतलगायत थुप्रै राजनीतिज्ञ, स्रस्टा र संस्कृतिकर्मीहरूको सहभागीता हुनेछन्।

यस्ता कार्यक्रमले युवालाई कस्तो सन्देश जान्छ त? साहित्य महोत्सवले जनकपुरको गरिमा बढाएको कतिपय युवाको बुझाइ छ। जिल्ला युवा संजालका सदस्य रमनकुमार वैजनाथले साहित्य महोत्सवले जनकपुरको प्रचार अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने विश्वास लिए। वैजनाथले जनकपुरको मिथिला सभ्यतालाई देशका हरेक क्षेत्रमा पुर्‍याउन आफूहरू कम्मर कसेको बताए।

महोत्सवमा चालिसभन्दा धेरे स्वयंसेवकहरू परिचालन भएको वैजनाथले जानकारी दिए। उनले साहित्य महोत्सवलाई मात्र नभइ जनकपुरको सफाइ, सामाजिक सुरक्षा, महिला हिंसा तथा मानव बेचविखनविरूद्ध पनि काम गरिरहेको बताए। उनले साहित्य महोत्सव हरेक वर्ष भइरहने हो भने मात्र पनि जनकपुरको पर्यटन विकासमा ठूलो भड्को मार्न सक्ने विश्वास लिए।

तर, स्वयंसेवक मध्ये एकलाई भने साहित्य महोत्सव मात्रले जनकपुरको साहित्य विकासमा ठूलो भूमिका खेल्छ भन्ने आफूलाई विश्वास नरहेको बताए। उनले हरेक वडा र नगररपालिकामा पुस्तकालयको निर्माण गरि कमसेकम युवालाई पठनसंस्कृतिको विकास गरे मात्र साहित्य महोत्सवको महत्व बढ्न सक्ने बताए।

त्यस्तै, उत्सव गुप्ताले भने हरेक व्यक्तिभित्र आफ्नो छुट्टै सीप र क्षमता हुने भन्दै महोत्सवले हरेक व्यक्तिहरूलाई एकीकृत गर्ने बताउँछन्। उनले सबैभन्दा पहिले फरक फरक क्षमता भएका व्यक्तिहरू एकीकृत हुनुपर्ने जोड दिन्छन्। साहित्य महोत्सव सफल पार्न जसरी युवा एकजुट भएका छन्। अन्य सामाजिक कार्यमा पनि हाम्रो उपस्थिति उच्च हुनुपर्ने उनको बुझाइ छ।   

अस्ट्राबक्रको भूमी हो जनकपुर। यज्ञबल्लभको शहर पनि हो जनकपुर। जनकपुरलाई राजा जनकको शासनको सीप सिकाउने शहरको रूपमा लिइन्छ । ५२ कुटी, ७२ कुण्डको शहर हो जनकपुर।

भ्रमण वर्ष २०२० को २ प्रदेशका संयोजक मनिष झाले जनकपुर ऐतिहासिक सास्कृतिक कलासंस्कृतिले भरिपूर्ण रहेको बताए। तर विभिन्न कारणले गर्दा हाम्रा संस्कार र साहित्य गुमाउँदै गएकोले उक्त कला साहित्य र संस्कार फर्काउन चाहेको बताए।

'अहिले पर्यटनको विकास गर्दै गर्दा पनि जनकपुरलाई अध्यात्मको राजधानी भन्छौँ। अध्यात्मको राजधानी बन्दै जादा साहित्य गुमाउँदै गएको होकि भन्ने चिन्ताले महोत्सव सुरु गरिएको हो' उनले भने।

‘जनकपुरले यो देशलाई शालिन राष्ट्रपति दिएको छ। जानकी मन्दिर दिएको छ। जनकपुर सीताको जन्मभूमि भनेर परिचय दिएको छ। जनकपुरले नेपालको पहिलो कृकेट क्याप्टेन पनि दिएको छ। अब हामी पर्यटनमा पनि देश तथा विदेशमा जनकपुलाई एउटा सुन्दर शहरको रूपमा चित्रित गर्छौं,’ उनले थपे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.