'परिवारको पीरभन्दा राष्ट्रको पीर धेरै पीडादायी'

|

पर्वत : जनगायक जीवन शर्माका माइला छोरा अमृत यतिबेला काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा छन्। गत दसैंमा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर अमृतको अन्न नलीमा जटिल समस्या देखिएको थियो।

उनको उपचारमा ५० लाखभन्दा बढी खर्च हुने बताइएको छ। अमृतको यो अवस्था देखेपछि उनलाई बचाउन देशभित्र र बाहिरबाट आर्थिक सहयोग गर्ने क्रम रोकिएको छैन।

अमृतको अवस्था यस्तो रहँदा बाबु जीवन शर्मा के गरिरहेका होलान? हामी सहजै अनुमान गर्न सक्छौँ, उनी अस्पतालमै छोराको साथमै होलान्। औषधि खुवाउँदै होलान, छोराको स्याहार गरिरहेका होलान्। जनताका गीत गाउँदै जीवन बिताएका शर्मा भने अनुमानविपरीत बिरामी छोराको साथमा छैनन्।

भारतले नेपालको सीमा मिचेर नयाँ भौगोलिक नक्सा सार्वजनिक गरेपछि नेपालीहरू यतिबेला सडकमा छन्। भारतले जमिन मिचेकोमा नेपालीहरू सडकमा आइरहेको बेलामा जनगायक शर्मा पनि गीतमार्फत् सीमा जोगाउन आह्वान गर्दै स्टेजमा देखिएका छन्।

लायन्स क्लब अफ शिवालय कुस्माले जिल्ला अस्पताल पर्वतमा नवजात शिशुहरूलाई अनुकूल गरी वातावरण निर्माण गर्न आवश्यक उपकरण जिल्ला अस्पताल पर्वतमा जडान गर्न, आँखा उपचार केन्द्रलाई अस्पतालको रूपमा विकास गर्न र ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर राख्ने उद्धेश्यसहित आर्थिक संकलन गर्न शनिबार ‘जनगायक जीवन शर्माको एकल सांगीतिक साँझ’ आयोजना गरेको थियो।

टिकट काटेर कार्यक्रम हेर्न पुगेहरूले सोचेका थिए, शर्माले छोराको अवस्थाबारे केही बोल्नेछन्। तर, दर्शकहरूले अपेक्षा गरेअनुसार उनले केही बोलेनन्, बोले त केबल देशको सीमा मिचिँदा भइरहेको पीडाको कथा। गीत सुनेर रमाइलो गर्ने ‘मुड’ मा पुगेलाई शर्माले राष्ट्रियताको जालोमा बाँधेर भावुक बनाए।

‘एउटा सानो पारिवारिक चोट परेको छ, त्यसलाई छोडौँ, त्योभन्दा ठूलो पीर देशलाई परेको छ’ उनले भने, ‘परिवारको पीरभन्दा राष्ट्रको पीर र चोट कयौँ गुणा संवेदनशील र पीडादायी हुने रहेछ।’ उनले यसो भनिरहँदा दर्शकहरूले भरिएको हलमा सन्नाटा छायो।

‘एकल साँझमा त वरिपरि मादल, भायोलिन, तबलाहरूले भरिएका हुन्छन्। हेर्नुहोस् त यहाँ त एउटा मादल र एउटा हार्मोनियम मात्रै छ’ त्यही सन्नाटाबीचमा गायक शर्माले भने, ‘हाम्रो देशको अवस्था जस्तो छ, मैले पनि त्यही गरेको हुँ। हिजो गाउँमा एउटा मादल थिएन, त्यही भएर मलाई अहिले भायोलिन र तबलाको भीड चाहिँदैन।’

गीत प्रस्तुत गर्नु पहिले उनले जतिबेर बोले त्यो अवधिमा सीमाको सुरक्षामा जुट्न सबैलाई अनुरोध गरे।

देशका विभिन्न भागमा विद्यार्थी संगठनहरूले गरिरहेका प्रदर्शनपति ऐक्यबद्धता जनाउँदै उनले यसमा खुलेर सघाउन सबै राजनीतिक दल तथा तिनका भ्रातृ संगठनहरूलाई अनुरोध गरे। सीमा रक्षा गर्न सकेमा मात्रै नेपालीको पहिचान रहने जनगायक शर्माको भनाइ छ।

६० वर्ष पुगिसकेका गायक शर्माले अहिलेसम्म झन्डै २ हजार गीतहरू गाएको र लेखेको बताउँदै आफूले जहाँ जाँदा पनि एउटै गीतबाट कार्यक्रम सुरु गर्ने बताए।

अनि उनले मधेसी, पहाडी र हिमाली जो जे भए पनि सबै नेपाली भएकोमा गर्व गर्दै, ‘मधेसी, पहाडी, हिमालका हिमाली, तराई हो मुटु हाम्रो, पहाड हो छाती ...’ गीत प्रस्तुत गरे।

एकल साँझमा उनले आफूले तयार पारेका तथा देशभक्तिले भरिएका दर्जनभन्दा बढी गीतहरू गाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.