|

भद्रपुर : झापाको विभिन्न नाकाबाट भारत हुँदै बंगलादेश तस्करी हुन लागेको १०३ वटा गाई गोरुसहित पाँच वटा ट्रक भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ।

प्रहरी कार्यालय झापाले जिल्लाबाट हुने गाई गोरु तस्करी नियन्त्रणमा आक्रामक देखिएको अवस्थामा भारतीय एसएसपी र प्रहरीले पनि नेपालबाट भारत जाने गाई गोरु नियन्त्रणमा लागि परेका छन्।

भारतीय सुरक्षाकर्मीले एक साताको अन्तरालमा पाँच वटा ट्रकसहित १०३ वटा गाई गोरु नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। झापा प्रहरीले गत मङ्गलवार दुई वटा फुलबडी ट्रकसहित ५० वटा गोरु नियन्त्रण लिएको दुई दिन पछि भारतीय एसएसपी ४१ बटालियन टोलीले ५० वटा गोरुसहित दुई वटा फुलबडी ट्रक नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएको ५० वटा गोरुमध्ये चार वटा मरिसकेको एसएसबीले जनाएको छ। झापाबाट विहार हुँदै बंगलादेशतर्फ गइरहेको एस १७ बी १३५१ र एस १७ बी ६७९० नम्बरको फुलबडी ट्रकमा लोड गोरु पश्चिम बंगालको एनएच ३१ हाइवे स्थित घोषपुकुरबाट भारतीय एसएसबीले नियन्त्रणमा लिएको हो। 

घोषपुकुरबाट फुलबारी नाकाहुँदै बंगालादेशतर्फ ट्रकमा गोरु गइरहेको विशेष सूचनाको आधार एसएसबीले ट्रकसहित गोरु नियन्त्रणमा लिएको हो। साथै एसएसबीले गोरु तस्करी गरेको आरोपमा सैफअली खान र मोहम्मद कादिरलाई समेत पक्राउ गरेको थियो।

एसएसबीले ४६ वटा गोरुलाई भारतीय ९ लाख २० हजार र दुई वटा ट्रकलाई १२ लाख मूल्य तोकेर भन्सार बुझाइसकेको जनाइएको छ। त्यस्तै दुई दिन अघि पनि भारतीय प्रहरीले ५७ वटा गाई गोरु लोड गरिएको तीन वटा ट्रक नियन्त्रणमा लिएको छ। 

झापाबाट तस्करीको माध्यमबाट भारत पुगेका सो गाई गोरु विहारबाट कुचविहार हुँदै बंगालदेशतर्फ लगिरहेको अवस्थामा जलपाइगुडी गौशालमोड कोतवाली थाना पुलिसले तीन वटा ट्रकमा लोड गरिएको गाई गोरु बरामद गरेको थियो। साथै पुलिसले गोरु तस्करी गरेको आरोपमा तीन जना ट्रक चालकलाई समेत पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चालकहरू अबु तालेब, अनारुल हक र तफाजुल हक रहेको भारतीय सञ्चारमाध्यमे जनाएको छ। बरामद गरिएको गाई गोरुसहित ट्रक र ट्रकका चालकलाई आवश्यक कारबाहीका लागि भन्सार बुझाइसकेको छ।

भारतको उत्तर प्रदेश, हरियाणाबाट नेपाल भित्रिने गाई गोरु तराइको जिल्ला हुँदै झापा भएर भारत पुग्ने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.