|

भोजपुर : अवैध रूपमा नेपाली महिलालाई खाडी मुलुक पुर्‍याउन सक्रिय भोजपुरकी कल्पना राई पक्राउ परेकी छन्। 

दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पुर्‍याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले राई पक्राउ गरेकी हुन्। भारतको सशस्त्र सीमा बल (एसएसबी) को ४२ औँ वाहिनीमा तैनाथ एसआई सरिताका अनुसार बिहीबार सीमा नाका रुपैइडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शंका लागेर सोधपुछ गरेको थियो। 

उनीहरूको जवाफ चित्त नबुझेपछि एसएसबी क्याम्पमै ल्याएर थप सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएको प्रहरीले जनाएको छ। उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया थालिएको सुरक्षा अधिकारीको भनाइ छ।

कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन। कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.