उच्चस्तरीय पहल गर्न सुझाव

|

काठमाडौं : पूर्वपरराष्ट्रमन्त्री डा. रमेशनाथ पाण्डेले राष्ट्रिय एकता जुटेको यो मौकामा भारतले मिचेका भूभाग फिर्ता ल्याउनका लािग प्रधानमन्त्रीले आँट गर्नुपर्ने बताएका छन्। 

बालुवाटारमा बसेको सर्वदलीय बैठकमा आफ्ना कुरा राखिसकेपछि बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन्। 

‘प्रधानमन्त्रीले अब आँट गर्नुपर्छ। प्रधानमन्त्रीलाई सबैले साथ दिएका छन्’, उनले भने, ‘यो मुद्दामा सबैले एकता देखाएका छन्। राष्ट्रिय बल प्रधानमन्त्रीको काँधमा छ।’

भारतले सीमा मिच्दै जाँदा नेपालले नबोलेपछि बल्झिँदै गएको पाण्डेको भनाइ छ। ‘यी समस्या समाधान गर्न नपाएपछि भारतले पेल्दै लग्यो। भारतका कारण पनि समस्या समाधान नभएका हुन्’, उनले भने, ‘नेपाली जनताको सामूहिक विवेक प्राप्त सरकारले संविधान बमोजिम संसदमा लगेर अनुमोदन गरी वार्तामार्फत भारतसँगको समस्या समाधान गर्नुपर्छ। त्यसका लागि सरकारसँग संवैधानिक र राजनीतिक शक्ति पनि छ।’

यो बेलामा केपी ओली नेतृत्वको सरकारसँग शक्ति रहेको बताउँदै उनले अहिले समाधान नभए झन् समस्या बढ्ने उल्लेख गरे। ‘अहिले समाधान हुन सकेन भने यो समस्या अझै बल्झिँदै जान्छ’, उनले भने, ‘यसको समाधान कूटनीतिक विधिबाट उच्च तहमा हुनुपर्छ।’ तर उच्च तहबारे उनले प्रष्ट पारेनन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.