|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले अतिक्रमण गरिरहेको दार्चुलास्थित कालापानी क्षेत्र नेपालकै भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर  बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन्।

त्यस क्रममा देउवाले सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिए। ‘कालापानी नेपालको हो’, उनले भने, ‘यसको समाधान वार्ताबाट गर्नुपर्छ।’ उनले सर्वदलीय बैठकमा आफूले बोलेको कुराबारे सञ्चारकर्मीहरुलाई केही बताएनन्। संक्षिप्त प्रतिक्रिया दिएपछि देउवा बालुवाटारबाट बाहिरिए। 

नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई भारतले गत आइतवार जारी गरेको नक्सामा समेटेपछि नेपाली कांग्रेसले पनि आपत्ति जनाइसकेको छ । सभापति देउवाले भारतीय राजदूत मंजीवसिंह पुरीलाई फोन गरेरै भारतीय कदमको विरोध जनाइसकेका छन्। 

उनले भारतीय राजदूतलाई फोन गरेर यी भूभाग नेपालका भएकाले नक्सा सच्याउन तथा कालापानीबाट पछि हट्न पनि आग्रह गरेका थिए। भारतीय कदमको विरोधमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संगठनका विभिन्न समूह पनि आन्दोलित छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.