|

भारतको सर्वोच्च अदालतले  विहारका तीन न्यायाधीशलाई बर्खास्त गर्न निर्देशन दिएको छ। 

सन् २०१३ मा नेपालको एक गेस्ट हाउसमा महिलासहित ‘रंगेहात’ पक्राउ परेका विहार तल्लो अदालतका तीनजना न्यायाधीशलाई बर्खास्त गर्न निर्देशन दिएको हो।  भारतीय सर्वोच्च अदालतका दुई न्यायाधीशहरु इन्दु मलहोत्रा र सञ्जिव कर्णको बेन्चले उनीहरुलाई बर्खास्त गर्न तल्लो अदालतलाई निर्देशन दिएको हाे। 

तीनै जना नेपाल प्रहरीले पक्राउ गरेको  कुरा नेपालको एक दैनिक पत्रिकामा सार्वजनिक भएको थियो। सो समाचारको आधारमा पटना उच्च न्यायालयले जिल्ला तहमा छानबिनको निर्देशन दिएको थियो। तर, तीनै जनाले आफूहरु त्यतिबेला भारतमै भएको दाबी गरेका थिए। 

अदालत सो कुरामा सहमत नभएपछि भारतकै गृह मन्त्रालयको मद्धत मागेको थियो। गृह मन्त्रालयले ती न्यायाधीशको गतिविधि हेर्दा ती न्यायाधीशको मोबाइल सन् २०१३ को जनवरी २६ र २७ तारेखमा बन्द भएको पाएको थियो।  फोन खुल्दा ती न्यायाधीशहरु नेपालको सीमामा रहेको फारबेसगन्ज क्षेत्रमा फेला परेका थिए।  उनीहरु तीनै जनाको फोन एकै ठाउँमा ‘ट्रेस’ भएको थियो भन्ने खबर टाइम्स अफ इन्डियाले जनाएकाे छ। 

गृह मन्त्रालयले दिएको रिपोर्टमा एक न्यायाधीशले विहारको पूर्णिया जिल्लाको एक होटलमा बसेको बिल देखाए पनि त्यो बिल न्यायाधीश आफैंले बनाएको पाइएको उल्लेख थियो। न्यायाधीशको बदमासी पुष्टि भएपछि सर्वोच्च अदालतले ती न्यायाधीशलाई अहिले बर्खास्त गर्न अनुमति दिएको हो।

नेपालमा आएर त्यसरी फसेका न्यायाधीशको नाम कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता रहेको जनाइएको छ। उनीहरुलाई सुरुमै पटना उच्च न्यायालयको बैठकले निलम्बन गरे पनि अन्तिम निर्णय भएको थिएन। उनीहरु त्यतिबेला विराटनगरमा नेपाल प्रहरीले छापा मार्दा महिलासँग गेस्टहाउसमा फेला परेका थिए। उनीहरु भारतका न्यायाधीश भएको थाहा पाएपछि नेपाल प्रहरीले छोडिदिएको भएपनि भारतमा छानबिन अघि बढेको बताइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.