|

पर्सा : भोजपुरी भाषी क्षेत्र वीरगञ्‍जमा भइरहेको नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६ शनिबार अबेर सकिएको छ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उद्घाटन गरेको चलचित्र महोत्सव शनिबार अबेर सकिएको हो। नेपाली चलचित्र निर्माणको ५० औं वर्ष पूरा भएको अवसरमा स्वर्णीम महोत्सव गरिएको छ।

मुलुकको ठूलो आवादी रहेको तराईलाई बलिउडमा मात्र नभएर नेपाली चलचित्रप्रति जोड्ने उद्देश्यले मुलुकका अरू भागमा नभई पहिलो पटक वीरगञ्‍जलाई महोत्वसका लागि छानिएको आयोजकको कथन रह्यो। महोत्सवमा नेपालका पूराना, वर्तमान र भावी तिनपुस्ते कलाकारको बाक्लो उपस्थिति थियो।

महोत्सवले फेरियो माहोल

बलिउडको एकछत्त राज रहेको प्रदेश-२ को वीरगञ्‍जमा नेपाली चलचित्रका एक से एक कलाकार सहजै देख्‍न र भेट्न थालिएपछि यो सहरको अरूवेलाको माहोल सर्लक्कै फेरिएको छ। वीरगञ्‍ज नगरमा बिहीबार बिहान नेटुवा नाच र झाँकीसहित निकालिएको र्‍यालीपछि राष्ट्रपतिको आगमनले सुरक्षा चलहपहलमा पनि बढोत्तरी नहुने कुरै भएन। उनको कार्यक्रमपश्चात संगीतमय बनेको वीरगञ्‍ज शनिबार राति १० बजेसम्म सर्वसाधारणलाई झुमाउन सफल रह्यो।

पुराना नयाँ सिनेकर्मीको बेजोड प्रस्तुति

एकैथलोबाट नेपाली चलचित्रका संस्थापक पुस्ताका भुवन चन्द, बसुन्धरा भुसाल, नीर शाह सहितका खारिएका अनुभव, त्यसपछिका शिव श्रेष्ठ, भुवन केसी, हरिवंश आचार्य, शम्भुजित बासकोटाको सकृय उपस्थिति र प्रस्तुति, कृष्ण मल्ल, रवीन्द्र खड्का, रमेश बुढाथोकी, सुनिल थापा, लक्ष्मी गिरी लगायतको प्रस्तुति र त्यसपछिका

पुस्ता किरण केसी, दिनेश डिसी, झरना थापा, निरुता सिंह, दीपकराज गिरी, दीपाश्री निरौला, विराज भट्ट, रेजिना उप्रेती हुँदै नयाँ पुस्ताका निता ढुंगाना, साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, वर्षा राउत, संजोक कोइराला, छुल्ठिम गुरुङ, सन्दीप क्षत्रीसम्मका दर्जनौं कलाकारले वीरगञ्‍जको आदर्शनगरस्थित रंगशालामामा बलिउडप्रति मोहित युवायुवतीलाई पनि मनोरञ्जन दिइरह्यो।

प्रदर्शनमुखी महोत्सव

नेपाली चलचित्र स्वर्णीम महोत्सवमा बुलबुल, शत्रुगते र आमा लगायतका फिल्म पनि प्रस्तुत भए। अन्तरक्रियात्मकभन्दा पनि प्रदर्शनमुखी कार्यक्रमले स्थानीयलाई महोत्सवभर बाहिर जान मन नलाग्ने बनायो।

महोत्सवको तीनै दिन नाचगान प्रस्तुत हुँदा झन् यहाँको युवा पिढी त यो समयमा शहर छोड्न आकर्षित देखिएन। चार बजेसम्म सुनसान वीरगञ्‍जको आदर्शनगर रंगशाला छिनभरमै खचाखच हुँदा कार्यक्रम आयोजक समितिका संयोजक तथा नेपाली चलचित्र संघका उपाध्यक्ष विमल पौडेल र अध्यक्ष  चित्र निर्माता संघका आकाश अधिकारी पनि मख्ख देखिए।

वीरगञ्‍जमा अरू बेला हुने औद्योगिक मेलामा पनि विभिन्न कलाकारका कला, नृत्य त प्रस्तुति हुन्थे। तर, यसपटक बलिउड अभिनेता गोविन्दादेखि नेपालका कलाकारको फरकफरक प्रस्तुतिले दर्शकलाई लोभ्याइरह्यो।

स्थानीय व्यवस्थापन फितलो

चलचित्र स्वर्णीम महोत्सव निकै भव्य भए पनि स्थानीय व्यवस्थापन भने फितलो रह्यो। कार्यक्रमस्थलका स्टलहरू खाली खाली रहे। सञ्चारकर्मीका लागि पनि सूचना प्राप्तिको लागि कुनै सूचनाकेन्द्र कतै थिएन। प्रचारप्रसार संयोजक दिलीप कार्कीलाई आफैँ धेरै कुराको ज्ञान नै थिएन। तीन दिनको महोत्सवबारे जानकारी दिनका लागि महोत्सवस्थल तथा अन्यत्र प्रेस सेन्टरसमेत राखिएको पाइएन।

कार्यक्रमस्थलमा पुगेका स्थानीय सञ्चारकर्मीलाई कार्यक्रम विवरणसमेत नदिँदा सूचना प्राप्तिका लागि सञ्‍चारकर्मी पनि अन्योलमा नै रहनुपरेको थियो। एक करोड २० लाख लागत लाग्ने भनिएको महोत्सवमा व्यवस्थापन पक्ष भने मजबुत  देखिएन।

होटल व्यवसायीलाई मालामाल

महोत्सवस्थलका स्टल खालिखाली रहे पनि वीरगञ्‍जका होटलमा भने कलाकारदेखि समर्थकसम्मले खचाखच भरिएको पाइयो। होटलतर्फ नियाल्दा आन्तरिक पर्यटकको राम्रै भिड देखिन्थ्यो। त्यसमा पनि कलाकारको बाक्लो उपस्थितिले आदर्शनगर एरियाका होटल सञ्‍चालक र कर्मचारीमा पनि निकै उमंग देखियो। पर्दामा देखिने कलाकारलाई आफ्नैअगाडि सेवा गर्न पाउँदा उनीहरू दंग थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.