बर्सेनि पिलर सार्दा पहिलाका नेपाली अहिले भए भारतीय

|

भद्रपुर : श्रीप्रसाद महतो (६९) भन्छन्– ‘गाउँमा प्रहरी चौकी र सरकारी विद्यालय नभएको भए, हामी वर्षौंअघि भारतीय नागरिक भइसक्थ्यौँ।

‘हराएको र खोलाले बगाएको भन्दै भारतले नयाँ स्तम्भ गाड्ने क्रममा हरेकपटक नेपाली भूमि मिच्दै आइरहेको छ’, महतोले भने, ‘भारतले नेपाली भूमि मिच्दै आए पनि देशका प्रहरी प्रशासन, नेता र मन्त्री नबोल्दा मन दुख्छ।’

गाउँका पुर्खौलीले सुनाउँथे महतोले भने, ‘भारतमा ब्रिटिस शासन हुँदा नेपालको भूमि अहिले गाडिएको पिलरभन्दा तीन किलोमिटर भित्र थियो, भारतले सीमा मिच्दामिच्दै अहिले बग्दै आएको मेची नदी नै लगिसक्यो।’ महतोले सुनाएको यस्तो पीडा झापाको भद्रपुर नगरपालिका ३ स्थित मेचीपारि गाउँको हो।

मेची नदीले टापु आकार बनाइदिएको मेचीपारि गाउँमा १५५ घरधुरी संख्या रहेको छ। गाउँमा महतो, राजवंशी र सन्थाल  समुदायका बासिन्दा वर्षौंदेखि बसोबास गर्दै आइरहेका छन्। त्यहाँका बासिन्दा जोतभोग गर्दै परिवार पाल्छन्।

‘गाउँमा मेचीपारि प्रहरी चौकी र आधारभूत विद्यालय नभएका भए भारतले वर्षौंअघि यो गाउँ आफ्नो कब्जामा लिइसकेको हुन्थ्यो, प्रहरी र शिक्षककै कारण हामी अहिलेसम्म नेपाली भूमिमा छौँ’, उनले भने।,

१०४ र १०५ नम्बर सीमा पिलरले घेरिएको गाउँलाई भारतले नेपाली बस्ती जोगाएर भी आकारले नेपाली भूमि कब्जामा लिइसकेको छ। ०२० सालमा अहिले भारतले कब्जामा लिइसकेको भूभागबाट मेची नदी बगेको विगत सुनाउँदै महतोले भने, ‘अहिले मेची नदी बग्ने ठाउँनजिकै बस्ती थियो, त्यहाँबाट पानी बग्न थालेपछि बस्ती

सरेर अहिलेको ठाउँमा आएको हो। उनका अनुसार त्यसबेला कुनै सीमा पिलर थिएन। एउटा जंगे पिलर थियो। त्यो ठाउँ भारतको विहार, किशनगञ्ज जिल्लाको निमुगुरी (मियाबस्ती) मा पर्छ।

भारतले कश्मीर जस्तै यहाँका जनता र नेपाली भूमिलाई थिचोमिचो गरेर राखिसकेको छ। ‘जंगे पिलर हुँदाहुँदै करिब तीन किलोमिटर छाडेर भारत नेपालमा प्रवेश गरिसकेको छ’, उनले भने, 'पिलरको विषयमा केही बोल्यो भने भारतीय सुरक्षाकर्मीले दिल्ली पुर्‍याइदिने धम्की दिन्छ, हामीलाई धम्की आउँदा पनि यहाँका प्रशासन र नेता केही बोल्न सक्दैनन्, अनि बाध्य भएर सीमा मिचेको हेर्दै आइरहेका छौ।'

पटकपटक गरी मेचीपारि गाउँको भूमि भारतले मिच्दै आइरहेको दुखेसो पोख्दै उनले भने, 'भारतले साना रिफ्रेन्स पिलर खेतमा ल्याएर गाडे पनि हामीले जोतभोग गर्न छाडेका छैनौँ, भारतीय जनता नेपाली भूमिमा आएर जोतभोग गर्दैछन्, यहाँका जनता भारतीय भूमिमा पनि जोतभोग गर्दै आइरहेका छन्, अहिले दुवै पक्षले जोतभोग गर्दै आइरहेको भूमि नेपालकै हो।'

 ‘अहिलेसम्म भारतीय सुरक्षाकर्मीले केही बोलेको छैन, बोलेको दिन यहाँ विवाद पक्कै हुन्छ, ‘तर, नेपालले केही गर्न सक्दैन, उनले थपे।, लेकेरु राजवंशी (६२) ले भने, ‘तीनदेखि चार वर्ष भयो भारतले पिलर सार्दासार्दा नेपाली भूमि मिचिसक्यो।’

नेपाली भूमि किन मिचेको भन्दै हामीले भारतीय पक्षलाई सोध्दा उनीहरूले एउटै जवाफ दिन्छन्– राजवंशीले भने, ‘सरकारका हुकुम है हम क्या करेङगे।,’ उनले भने, ‘हाम्रो बुबा–बाजेले भनेअनुसार गाउँदेखि पूर्वपट्टी मियाबस्तीमा पिलर थियो रे, अहिले हेर्छु त नेपाली भूमि नै भारतको भइसक्यो, किन देशका नेता बोल्दैन यस विषयमा?’

पहिला नेपाली, अहिले भारतीय 

१०४ नम्बर पिलरनजिकै भारतको सन्थालबस्ती छ। पहिला त्यो बस्ती नेपाल थियो। सम मुर्मु (३२) भन्छन्– ‘पहिला हामी नेपाली नागरिक थियौँ, नेपालको धनिपुर्जा पनि थियो, झन्डै २० वर्ष भयो हामी भारतीय नागरिक भएको।’ ‘म सानोदेखि यहीँ छु, पहिला यहाँ कुनै पिलर थिएन’, मुर्मुले भने, ‘मियाबस्तीमा एउटा मात्र पिलर थियो, २० वर्षअघि १०४ नम्बर पिलर यहाँ राखियो, अहिले त भारतले सार्दासार्दै मेची नदीमै पुर्‍याइसकेको रहेछ।’ पिलर सीमा छुट्टाए पनि दुवै देशका बासिन्दा मिलेर बसेका छौँ, हामीमा त्यस्तो केही विवाद पनि छैन, दुवै देशको भूमिमा दुवै देशका नागरिक मिलेर जोतभोग गर्दै आइरहेको उनले बताए।

जमिन हडप्‍न नेपालीलाई भारतीय राशन कार्ड 

१०५ नम्बर पिलरनजिकै मेचीपारि गाउँमै सन्थालबस्ती छ। त्यहाँ १४ घरपरिवारमध्ये ७ घरपरिवारलाई झन्डै २० वर्षअघि भारतले राशन कार्ड (नागरिकता) दिएर भारतीय नागरिक बनाउन खोजेको बाबुला हाँस्दाले बताए।

त्यसबेला सीमा पिलर कुनै पनि थिएन, भारतको ठाकुरगञ्जबाट आएको भारतीय अधिकारीको टोली गाउँमै आएर राशनकार्ड दिएको घटना सुनाउँदै उनले भने, ‘त्यसबेला हाम्रो जमिन लिनलाई भारतीय बनाउन खोजेको रहेछ, त्यसबेला थाहा पाइनँ, अहिले थाहा भयो।, ‘अहिले हामीले भारतीय राशन कार्ड त्यागिसकेका छौँ, २०६३ सालको टोलीमा नेपाली नागरिकता लिएर नेपाली भइसकेका छौँ’, उनले भने। 

नेपाली भूमिमा बसेर भारतबाट सेवासुविधा लिएका छौँ 

पहिला मेचीपारि गाउँमा एउटा पनि पिलर थिएन, अहिले जताततै साना तथा ठूला पिलर गाडिएको स्थानीय बताउँछन्। पिलर गाडिएपछि भारतीय नागरिकको दुईवटा घर नेपाली भूमिमा परेको भेटिएको छ। भारतीय नागरिक नजमुद्दिन शेख भन्छन्– ‘गाउँमा एउटा पीपलको बोट थियो, भारतीय नागरिकहरू भन्‍थे सीमा त्यही हो, तर नेपाली नागरिकहरूले पूरा मेची खोला सिमाना हो भन्ने गर्थ्यो।’

‘चार वर्षअघि दुवै देशको नापी सर्वेक्षण टोलीले सीमा छुट्टाएर गएपछि दुईवटा घर नेपाली भूमिमा परे’, उनले भने। ‘सीमाले देश छुट्याए पनि हामी अहिले पनि नेपाली भूमिमै बसोबास गर्दै आइरहेका छौ’, उनले भने, ‘हामी सबै सेवासुविधा भारतबाटै लिन्छौँ, तर बस्छौ नेपाली भूमिमा।’ 

मेची नदीमै पिलर

मेचीपारि गाउँ जान मेची नदीमा निर्माणाधीन अवस्थामा गरेको झोलुंगे पुलको पूर्वपट्टि नदीको बीचमै सीमा पिलर गाडिएको पाइएको छ। ‘नदीको बगर छेउको खुला मैदानमा हामी साना हुँदा खेल्न आउँथ्यौँ’, स्थानीय युवा मिलन राईले भने, ‘त्यसबेला नदीमा कुनै सीमा पिलर थिएन, अहिले त भारतीयले मेची नदीमै तीनवटा पिलर गाडिदिएको छ।’

‘भारतले नेपाली भूमि मिच्दामिच्दै अहिले बग्ने नदीसम्म ल्याइपुर्‍याएको छ, अब यस्तो रहिरह्यो भने नदीपारिको गाउँ पनि भारत हुन समय लाग्दैन’, उनले भने।’ ‘देशका नेता तथा प्रशासन मौन बसेको देख्दा अच्चम लागेर आउँछ’, उनले थपे।

मेची नदीमै ६० फिट गहिराइको तीनवटा पिलर गाडिएको स्थानीय उमेश यादवले बताए। ‘चार वर्ष अघिसम्म नदीमा कुनै पनि पिलर गाडिएको थिएन, २०७५ सालको जेठमा आएर भारतीय पक्षले पिलर गाडिएको हो’, उनले भने, ‘भारतले विस्तारै विस्तारै नेपाली भूमि मिच्‍दैछ, यस विषयमा प्रहरी, प्रशासन मौन छ।’

नदीको बीच भागमा १०३ नम्बर लेखिएको तीनवटा पिलर र नदीपारि एउटा पिलर गाडिएको छ। सो पिलर नदीमा बाढी आउँदा पनि नबगाउने खालको राखिएको छ। 

झापाका १० बढी क्षेत्रमा सीमा विवादित

मेची नदीको विभिन्न आठ तटीय क्षेत्रसहित झापामा १ सय ७४ हेक्टरमा सीमा विवादित छ। अहिले ती विवादित सीमा क्षेत्र भारतले आफ्नो गुगल म्यापमा समावेश गरिसकेको देखिन्छ। ११८ किलोमिटर बोर्डर क्षेत्र रहेको झापामा भद्रपुरको मेची पुल, मेचीपारि, कचनकवलको पाठामारी, साबिक  महेशपुर, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगी लगायतका ठाउँका सीमा विवाद छ।

कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीनगरस्थित भान्सा खोलाका ११ परिवार बसेको नेपाली भूभाग २०५२ सालअघि नेपालमै थियो। तर, २०४३ सालतिर पिलर गाडियो र २०५२ सालमा आइपुग्दा नागरिकता र धनीपुर्जा बनाउने क्रममा पूरै भूमि भारततर्फ पर्‍यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.