|

पोखरा  ः मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कास्कीमा विभिन्न दल र स्वतन्त्रसहित २१ जना उमेद्वार चुनावी मैदानमा उत्रने भएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै रिक्त प्रतिनिधिसमा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारमध्ये ३ को उम्मेदवारी बदर, एक जनाले फिर्ता लिएको बताएको हो।  १४ राजनीतिक दल र ११ स्वतन्त्र गरी २५ उम्मेदवारले मनोनयन दर्ता गरेका थिए। 

जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार आइतबार स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएका हुन्। आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएकोमा स्याङजा घर भएका खनालले मात्र फिर्ता गरेको न्यौपाले जानकारी दिए। 

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त विक्रम सिंहको उम्मेदवारी निर्वाचन आयोगले बदर गरेको छ। 

लिम्बु गत २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा आदिवासी जनजाति तर्फ प्राथमिकता क्रम ३ र बन्दसूचीको क्रमसंख्या १३ मा उम्मेद्वार रहेको आयोगले जनाएको छ।

त्यस्तै घले तत्कालिन एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को प्राथमिकता क्रम १६ र बन्दसूचीको १०१ क्रममा समानुपातिकतर्फ आदिवासी जनजातिबाट उम्मेदवार रहेको आयोगको सूचनामा छ।

शाह पनि उक्त पार्टीबाट खसआर्यतर्फ उम्मेदवार रहेकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १४ को उपदफा २ र सोही ऐनको दफा ३० तथा उपनिर्वाचन निर्देशिका २०७६ को दफा ३० (४) बमोजिम उम्मेद्वारी बदर गरिएको निर्वाचन आयोगले जनाएको छ।

कास्की २ को निर्वाचनमा नेकपाबाट विद्या भट्टराई अधिकारी, कांग्रेसका खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट विरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस (बिपी) बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारीको उम्मेदवारी कायम भएको छ।

त्यस्तै कमलजंग कुँवर, यज्ञप्रसाद पंगेनी, लक्ष्मीकुमारी भूजेल, सुनिल भुसाल, सुनिलबहादुर कोइराला, दीपक रेग्मी, उमनाथ गौतम, नवराज बास्तोला र रनबहादुर दमै स्वतन्त्र उम्मेदवार रहेका छन्। कास्कीमा कुनै पनि उम्मेद्वारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको गत वर्षको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधनपछि रिक्त कास्की २ को प्रतिनिधि सभा सदस्य पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.